अमेरिका डायरी- ९
डेलावेरको नेवार्क घुम्नुभन्दा अघिल्लो दिन। अर्थात् १९ डिसेम्बर २०२१।
मेरो अमेरिकी यात्रा यति बेगमा चलेको थियो कि बाल्टिमोरबाट फर्कनासाथ सौरभ र म, शशीलाई लिएर फिलिली फिली पुग्यौं। फिली अर्थात् फिलाडेल्फिया। वासिङटन डिसी सर्नुअघिको अमेरिकाको राजधानी। म भने डिसी घुमेर फिलीतिर जाँदै थिएँ।
फिली अमेरिकाकै पुरानो मध्येको एक सहर हो। जनसंख्याका हिसाबले छैटौं ठूलो उक्त नगर 'ग्रेटर डेलावेर' उपत्यकाको आर्थिक-सांस्कृतिक केन्द्र पनि हो। अर्को शब्दमा भन्दा आधुनिक अमेरिकाको जग बसाल्ने सहर हो फिली।
१७७६ जुलाई ४ मा त्यहीँ भएको थियो स्वतन्त्रतासम्बन्धी घोषणापत्रमा हस्ताक्षर। र फिलीबाटै जारी भएको थियो- अमेरिकी संविधान।
फिलीसँग युद्ध र शान्ति दुबैको अनुभव छ। त्याग र समर्पण दुबै भाव छ। संघीय अमेरिकाको तत्कालीन अस्थायी राजधानी फिली आफैंमा अध्ययनको ठेली हो।
यस्तो ऐतिहासिक सहर घुम्ने रहर मभित्र पनि थियो। सौरभले प्रस्ताव राख्नासाथ मैले 'ओके' भनेँ। र हामीले प्रस्ताव राख्नासाथ दक्षिण अफ्रिकी मूलकी अधबैंसे उबर (ट्याक्सी) चालकले पनि भनिन्- 'ओके'।
नेवार्कबाट उनले हामी तीनलाई विलमिङटनसम्म पुर्याइदिइन्।
हुन त उनी हामीलाई फिलीसम्मै लैजान तयार थिइन्। तर हामीले ट्रेनमा जाने रहर गरेपछि उनको केही लागेन। कुराकानीकै क्रममा उनले 'साथीलाई भेट्न भारत जाँदैछु' भनिन्। हामीले भन्यौं- 'नेपाल पनि घुम्न आउनुहोला।'
हाम्रो 'ट्रयाक टु डिप्लोमेसी' यतिमै सीमित भयो। 'सी यु गाइज' भनेर उनी फर्किइन्।
कारबाट बाहिर निस्किँदा महसुस हुने गरी चिसो थियो। हामी नजिकैको स्टारबक्स छिर्यौं र कफी अर्डर गर्यौं। अनि रेल आउनुअघि केहीबेर क्रिस्टिना रिभरको किनारमा क्यापुचिनोको चुस्की लगाउँदै यताउता गरिरह्यौं।
बादलले घामसँग लुकामारी खेलिरहेकै थियो। काठका टुक्रा जोडेर बनाएको तख्तामा हिँड्दै गर्दा मैले एउटा ढुंगो पानीमा फालेँ। पानीमा घामको चित्र किरेमिरे भयो। ठीक त्यस्तै थियो अथाह अमेरिका बुझ्ने मेरो प्रयास पनि। विचित्रको।
वायुमण्डलमा चिसो बढेपछि मैले डिसीमा किनेको खैरो चाइनिज ज्याकेटमाथि नेपालमा किनेको रातो चाइनिज ज्याकेट लगाएँ। सौरभको समानुभूतिले झोलाबाट उक्त ज्याकेट बाहिर निस्किएको थियो। अब भने हामी हालका अमेरिकी राष्ट्रपति जो वाइडेनको 'होम स्टेट' डेलावेरबाट उनको बाल्यकाल बितेको पेन्सिलभानिया राज्यतर्फ जाँदै थियौं।
विलमिङटनबाट डेलावेर नदी किनारै किनार सेप्टाको लोकल रेलमा झन्डै एक घन्टा गुडेपछि हामी फिली पुग्यौं। सेप्टा अर्थात् साउथ इस्टर्न पेन्सिलभेनिया ट्रान्सपोर्टेसन अथोरिटी। तोकिएकै समयमा रेल आयो। र ठाउँमा पुग्यो पनि।
रेलबाट ओर्लेर केहीबेर हामी स्टेसन चहार्यौं। प्राचीन भएर पनि भव्य। भव्यता नै यहाँको पहिचान हो सायद। बाहिर निस्केर हामी स्कूकल रिभर तर्यौं। सहरको बीचमा रहेको खोला पनि यतिविधि कञ्चन। पारिपट्टि पुग्दासम्म मैले मनमा बागमती बगाएँ। सोचेँ- हामी सभ्य भएर पनि भव्य हुन किन नसकेको होला?
अघि बढेर आँखामा एकैचोटि नअटाउने स्काइलाइन हेर्दै हामी फिली घुम्यौं। त्यहाँका प्राचीन सडक, पुल, घर, दरबार, पार्क, बजार आदि हेर्यौं।
यति बेलासम्म हामी तीन जनालाई भोकले च्यापेको थियो। फिलाडेल्फिया म्युजियम अफ आर्टको भव्य भवन पुग्नुअघि हामीले केही खाने निधो गर्यौं। खाने त भनियो तर लुसुक्क छिरेर खुसुक्क खान मिल्ने नेपालका जस्ता नास्ता पसलै त्यहाँ नाइँ। भए पनि न उतिविधि खानेकुरा मिल्ने न स्वाद।
धेरैजसो रेस्टुरेन्टमा बस्ने व्यवस्थै छैन। बाहिर बरफ जम्ने जस्तो भएर होला आफूलाई भने भित्र तातोमा कतै एकैछिन बसेर गफ जमाउन मन थियो। सबै काममै व्यस्त भएर होला सायद कसैले पनि बसेर खाली समय बिताएको देखिएको थिएन।
धेरैले फोन वा एपबाटै खानेकुरा अर्डर गरेर आउँथे। अनि लगेर कारमा खाँदै हिँड्थे। यस्तो देख्दा लाग्थ्यो 'खानेबेला कालले पनि छोड्छ' भनेको साँचो होइन रहेछ। छेवैमा रहेको डोमिनोको ढोका खोलेर हामी भित्र पस्यौं र पिज्जा अर्डर गरेर एकछिन उभियौं।
एकछिनमा पिज्जा आयो। भोकले खरिएका हामीले ओभनमा खरिएको पिज्जा झ्याप्पै मुखमा हाल्यौं। तातेर पग्लेको चिज हाम्रो जिब्रोमा टाँसियो। दुःखको कुरा के भने त्यहाँ मागेर पनि पानी दिने कोही थिएन। त्यति बेला भने मैले नेपालका रेस्टुरेन्ट सम्झेँ। नेपाली खाना सम्झेँ र सम्झेँ नेपाली भोक। छुट्टै मिठो।
डोमिनो छिर्नुअघि बेञ्जामिन फ्र्यांकलिन पार्कवेमा हिँड्दै गर्दा हामीले स्टीलका डन्डामा नेपालको झन्डा झुन्ड्याएको भेटेका थियौं। अनि हामी तीन नेपाली त्यही झन्डामुनि एक भएर एक तस्बिर खिचेका थियौं। त्यसले पनि केही गर्यो होला सायद, मैले नेपाली मन सम्झेँ। नेपालीपन सम्झेँ। आखिर अप्ठ्यारो पर्दा न हो अरूलाई सम्झने।
डामेको जिब्रो लिएर रन्थनिँदै हामी कला संग्रहालय गयौं। बाहिरैबाट भव्य भवनभित्र कस्तो हुँदो हो? कल्पना गर्ने मेसोसम्म पनि पाइएन। बिदाको दिन भएकाले भित्र जान पाउने कुरै भएन। त्यहाँबाट निस्केर सिटी बसमा हामी सिटी हल भएतिर लाग्यौं।
फिली पुरानो सहर हो भन्ने बुझ्न त्यति गाह्रो थिएन। साँघुरा गल्ली, पुराना घर। तर अस्तव्यस्त भने होइन है। सहरमा अन्डरग्राउन्ड मेट्रो पनि थियो। माथि झनै व्यवस्थित।
फिली जाँदैछु भन्ने सुनाएपछि साथी दिपेश घिमिरेले लिबर्टी बेलबारे सुनाएका थिए। स्वतन्त्रता कति प्यारो हुन्छ भन्ने कुरा हामी स्वाधीनलाई कहिल्यै महसुस हुन सकेन सायद। अमेरिकामा दासता उन्मूलनको प्रतीक मानिएको त्यही रातो घन्टको छेउमा रातै ज्याकेट लाएर मैले पनि फोटो खिचेँ। खिचिक्क।
फिलीमा बढी नै चिसो थियो। त्यसमाथि साँझ पर्न लागेको समय। हामी कसैसँग पनि निजी कार नभएकाले सार्वजनिक यातायात समातेका थियौं। यसरी घुम्दा धेरै समय लाग्ने र मनमा लागेका कुरा पनि कसैलाई सोध्न नपाइने भएकाले हाम्रो यात्रा एकांगीजस्तै थियो।
मलाई भने 'अघिकी ट्याक्सीवालीलाई सँगै ल्याएको भए पनि हुने' जस्तो लागिरह्यो। ऊ आएको भए धेरै ठाउँ देखाउँथी होला सायद। धेरै कुरा सिकाउँथी होला। अनि हामीबाट धेरै पैसा लिएर जान्थी। महँगो हुने भएरै हामीले उसलाई उहिल्यै बिदाइ गरेका थियौं। तैपनि उसको सम्झना भने बेलुकासम्मै आइरह्यो।
बेलुकीपख हामीले फिलीमा 'जाइन्ट' स्टोर छिरेर तरकारी किन्यौं। अनि रेल चढेर विलमिङटन र त्यहाँबाट ट्याक्सीमा नेवार्कस्थित डेरातिर लाग्यौं।
पढ्नुहोस् अमेरिका डायरी भाग १- दुई दिनका लागि अमेरिका जान ५ वर्षको भिसा!
भाग २- आकाशमा उड्दै बिहानको ३ बजे 'डिनर'
भाग ३- 'ड्रेडलक' भएकी उनलाई मैले भनेँ– म पनि बब मार्लीको फ्यान हुँ नि!
भाग ४- अमेरिका जाँदा दुइटा जहाज छुटेपछि...
भाग ५- मायामीमा बितेका रंगीन ६ घन्टा!
भाग ६- शानदार अमेरिका!
भाग ७- अमेरिकामा आफ्नै देश सम्झिँदा
भाग ८- नेपाली ममः र अमेरिकी कोक
(कमलराज लम्सालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटरः @prakritipurush