करिब साढे सात बजेतिर गहिरो निद्राबाट ब्युझिएँ। सूर्यको प्रकाश मलाई उठाउन ओछ्यानमा आइसकेको रहेछ। बेडको यताउता नजर डुलाएँ। एकाध बाहेक सबै साथीहरू निद्रामा मस्त देखिन्थे।
'राती तीन बजेसम्म दोहोरी खेल्दै, मासु सेकाएर अचारसँग मोलेर खान तल्लिन थियौं! यिनीहरूको अहिले निद्रा खुलोस् पनि कसरी?' मनमनै फतफताएँ।
मभन्दा अगाडि नै उठेको साथी बाहिर तातो पानी पिउँदै रहेछ। ढोका खुला भएकाले बाहिरको मनोरम दृष्य ओछ्यानबाटै स्पष्ट देखिएको थियो। ओछ्यानबाटै सरर नजर डुलाएँ तर मनै मानेन। न्यानोसँग गुट्मुटिएको सिरकसँग सम्बन्धविच्छेद गर्ने साहस त्यहीँ दृष्यले प्रदान गर्यो। म ज्यान तन्काउँदै ढोकाबाट बाहिर निस्किएँ। अनि त्यहीँ दृष्य हेर्न लागेँ।
म अलिक रनभुलमा परें। हिमाल नै हो कि हिउँको शिखर!
मैले यसभन्दा अगाडि जाडो महिनामा बाग्लुङ, मुस्ताङ, म्याग्दी जस्ता हिमाली जिल्लाको यात्रा गरिसकेको थिएँ। चिसोमा रातभर हिउँ परेर अघिल्लो दिनमा देखिएको नाङ्गो कालो डाँडा भोलिपल्ट बिहान हिमालजस्तै सेता देखिन्थे। तर घाम लाग्दै गएपछि हिउँ पग्लिएर फेरि नांगो देखिन्थे।
स्थानीय साथीसँग हिमाल कि हिमटाकुरा भन्नेबारेमा बहस पनि चल्थ्यो त्यतिबेला। अन्त्यमा हिउँ पग्लिएर नाङ्गो देखिएपछि हार स्वीकार्थेँ हिमालजस्तो देखिए पनि हिमाल रहेनछ भन्दै।
अहिले पनि ठ्याक्कै त्यस्तै गरूँगरूँ भनेर मनमा बहस चल्यो। तर पुरानो अनुभवले पहिलेको चिसो भेगमा रातभर हिउँ परेर नाङ्गो डाँडोलाई हिमाल जस्तो सेतो र आकर्षक बनाइदिन्छ भन्ने शिक्षा पाएका थियौं। त्यसैले सेतो डाँडोलाई हिमाल नभन्ने पक्षमा थिएँ।
हामी दुवैजना त्यहाँको स्थानीय नभएकाले बहस बिनै कुरा टुङ्गियो। पछि आफैंले बुझेँ त्यो केवल हिउँको थुप्रो नभएर हिमाल नै रहेछ। यसपटक पनि पराजित भएँ। समानतापूर्णभन्दा समतापूर्ण व्यवहार ठिक भन्ने पाठ सिकायो यस घटनाले।
प्रसंग त घटनाक्रमको सुरूबाटै गर्छु।
म दुई दिन अगावै साँझपख विशेष बैठकका लागि पोखरा गएको थिएँ। बैठक तोकिएको समयभन्दा ढिला सुरू भयो। एकै दिनमा सकिनुपर्ने बैठक भोलिका लागि सर्यो। तर भोलिपल्ट बिहानै भ्रमण जाने अर्को कार्यक्रम थियो। सिर्जित परिस्थितिलाई कसले बदल्न सक्थ्यो! भोलि पनि नबसी नहुने भयो। दुवै कुरा मेरा लागि महत्त्वपूर्ण थिए।
साँझपख दिउँसो ११ बजेसम्म खैरेनिटार आइपुग्नु भनेर अमृत मितले सन्देश पठाए।
'बैठक समयमै सुरू भए त कसो ननिस्किउँला र ११ बसम्म भन्ने सोच आयो।
अफसोस भोलिपल्ट ढिला उठिएछ। ७ बजे देखि बस्नुपर्ने बैठक ९ बजे बल्ल सुरू भयो। आफ्नो अतिरिक्त चाहनालाई दाउमा राखेर भोलिपल्टको बैठकमा बसेँ। यता अमृत मितज्यू र बुद्धिबल भेनाको बिहानैबाट लगातार फोन आइरहेको थियो।
'म निस्किँदै छु अब' भन्ने आश्वासन पनि खुब दिएँ।
बल्लतल्ल १२ बजेसम्म बैठकको एजेण्डा-४ प्रशिक्षणसम्म सकियो। बाँकी योजना निर्माण तथा जिम्मेवारी बाँडफाँडका कामहरू बाँकी थिए। तर ती सबै त्यागी खाना खाएर पृथ्वीचोक आइपुग्दा साढे १२ जति भएको थियो।
११ बजे आउन भनेको मान्छे यतिञ्जेल यतै भनेर भनिरहनुभएको थियो।
फोन लगातार बजिरहेकै थियो। मैले भएको ठाउँभन्दा अगाडिको लोकेशन दिँदै उनीहरूलाई सान्त्वना दिइरहन्थेँ।
१ बजेतिर भिमादबाट बस पनि हिँडेछ। खैरेनिटार आएर कुरिररहेको रहेछ। कुर्दा कुर्दा धेरै आत्तिएछन् साथीहरु मलाई। केही सिप नलागेपछि मैले पनि बिस्तारै हिँड्न सल्लाह दिएँ र दमौली भेट्ने प्रतिज्ञा गरेँ।
त्यसको करिब १५-२० मिनेटपछि खैरेनिटार आइपुगेको थिएँ। साथीहरू अगाडि-अगाडि दुइटा रिजर्भ गाडीमा। म चाहीँ पछि-पछि सार्वजनिक सवारीमा यात्रा गर्दा गर्दा दमौली शहिद गेटमा पौने तीनतिर भेट भयो। त्यसको केही क्षणमा हाम्रो दुवै सवारी निश्चित गन्तव्यका लागि हुइकियो। सडक निर्माणाधिन अवस्थामा रहेकाले सवा तीनमै छिर्कन आइपुग्नै लाग्दा जाममा परियो। केही समयपछि बाटो पुनः सञ्चालनमा आयो।
हामी उत्साहका साथ सवार गरिरहेका थियौं। धुलाम्मे बाटोमा डुम्रे हुँदै करीब ४ बजेर ३० मिनेट जाँदा आँबुखैरेनी पुग्यौं। त्यसको झण्डै दस मिनेट पछि पुन: सवारी चोकबाट बाँयातर्फ मोडिएर मर्स्याङ्गदी नदी पुल तरेर गोरखा जिल्लामा टेक्यौं। सम्भवतः जीवनमा पहिलो पटक गोरखा जिल्ला प्रवेश गर्दै थिएँ।
छिटपुर घर, शान्त वातावरण अनि कालोपत्रे स्वच्छ सडकमा हर्सोत्सहका साथ सवार हुँदै थियौं। यात्रामा दुईटा बस रिजर्भ गरेर लगेका थियौं। अर्को बसमा अमृत मितज्यू लगायतका साथीहरू थिए भने यता बुद्धिबल भेना, सुमन, राज मित्र लगायत अन्य।
हामी क्याबिन भन्दा साइडको सिटमा अटसमटस गरी बसेका थियौं। हामीसँग एउटा मादल र छ्याली पनि थियो। दोहोरी खेलेर यात्रालाई भरपुर मनोरञ्जनमय बनाउने हेतुले ती वाद्यवादनसहित आएका थियौं। त्यसमाथि हामीसँग गितार पनि थियो। हामीले यात्रामा संगीतलाई पनि समायोजन गर्यौं। गीत सुरू भयो।
राजु लामाले स्वर भरेको गीत 'हल्ला चलेछ दाजै चर्चा चलेछ, ओSSS मैं विदेश जाँदा विदेशमा बस्या छ भनेर, उतै तिर घरजम भो भनेर।' गीतमा मैले पनि साथ दिन कोशिस गरेँ।
आफ्नो जन्मघर, जीवन संगिनी, हातखुट्टा बस्नै लागेकी आमा अनि दिसापिसाब गराउन कसैको साहारा चहिने बेला भएका वृद्ध बाबुलाई छोडेर परिवारको आर्थिक स्तर सुधार्न विदेशी भूमीमा श्रम र पसिना सस्तो मुल्यमा बेच्न बाध्य भएका नब्बे लाख जवान युवाहरूको बेदनालाई गीतले झल्काउँथ्यो।
परदेशी भूमीमा उनीहरूले बगाएको पसिनाको मूल्यलाई ओझेलमा पार्दै, स्वदेशमा आफ्नो श्रीमान सम्झेर घरपरिवार सम्हालेर बसेकी महिलालाई अफवाह फैल्याउने। त्यस्तै समाजका केही कुपात्रको चरित्रलाई उदाङ्गो पारेको छ गीतले। यस्तै कुरा सोच्दै भावनामा बग्दै अनि संगीतमा झुम्दै थिएँ। गीतारमा राजले साथ दिँदै थिए। सँगसँगै अन्य साथीहरूले पनि साथ दिँदै थिए।
सवारी तीन किलो-चार किलो हुँदै अबुवा भन्ने ठाउँ तर्फ हुइकियौं। गीतहरू मिक्स गर्दै गइरहेका थियौं। त्यतिबेलासम्म बिनोद गौचनले शब्द भरी अरूण लामाले गाएको गीत 'जति माया लाए पनि' भन्ने गीत गुञ्जयमान हुँदै थियो। सँग-सँगै सुमन र मेरो चर्को दोहोरी जमिरहेकै थियो।
लगत्तै बाक्लो जंगलको बीचमा अवस्थित पामे बजारबाट आँबुखैरेनी-गोरखा सडकमार्गलाई त्यागेर बाँया मोडिँदै दरौँदी मार्गतर्फ लस्कर लाग्यौँ। दरौँदी खोलाको तिरै-तिर हाम्रो गाडी पनि बेगले हुइकियो। ओरालो हुँदै खोलामा पुग्यौं। एकछिन सबैजना ओर्लियौं, फ्रेस हुन भन्दै।
त्यसपछि खोला तरेर सवारी उकालो चढ्यो। रात परिसकेको थियो, वरपर घरहरूमा बत्ती पिलिपिली देखिन्थे। पछि-पछि सबै भोकाएका लर थाकेका भएर होला बस शान्त भयो। म भने सुतेको थिइनँ। हेर्दाहेर्दै बाक्लो अनि एकसुरको बस्ती बारपाक गाउँ पुग्यौं, हाम्रो गन्तव्य।
साँझपख मात्र पुगिएकाले तस्बिरमा देखिएको भन्दा फरक स्वरूपको देखिन्थ्यो बारपाक।
झट्ट हेर्दा आकाशका ताराहरू जसरी एकसुरले चम्किरहेका थिए, झिलिमिली बस्ती।
त्यो साँझ बुद्ध होटलमा बस्ने पूर्व तयारी अनुसार लम्कियौं बसपार्कबाट सय मिटर माथि हिँडेर। त्यतिञ्जेलसम्म हामीलाई पर्खेर बसिरहेका थिए होटेलका कर्मचारीहरू पनि। हामी सबै भोकले लखतरान परेका थियौं। कोठाको बन्दोबस्त गरी एक-एक गरी आलोपालो खाना खान बस्यौं। खाना पनि अचम्मैसँग खाइयो, सायद खानाभन्दा भोकको मिठास थियो सो समय।
त्यस पछिको कार्यक्रम थियो क्याम्प फायर सँगै सेकुवा र दोहोरी। भिमादबाटै मासु तयार पारिएको थियो। होटलकै आँगनमा क्याम्प फायरमा बस्यौँ मादल , छ्याली र गितार लिएर। बाटोमा बजाउँदा बजाउँदै दुईओटा तार चुँडिसकेको थियो गितारको चाहिँ। कोही मादल , कोही छ्याली त कोही ताली बजाउँदै थिए। म लगायत केही दोहोरीमा खप्पीस साथीहरु दोहोरी खेल्न तर्फ तल्लिन भइयो। मासु आगोमा सेक्न चाही राम विर मित्रले अहम भूमिका खेलेका थिए यसर्थ राम विर साथी प्रति कृतज्ञता प्रकट गर्नै पर्छ।
समय दमदार तरीकाले दोहोरी र सेकुवा सँगै बितिरहेको थियो। अमृत मित ज्यू र मितिनीको टुक्का अझै पनि कानमा गुन्जयमान भैरहन्छ अहिले पनि सम्झिँदा। कहिले कटाक्ष हान्ने , कहिले हाँसो मजाक गर्ने त कहिले रातारात भगाउने सम्मका कुराहरु दोहोरीमा समावेश थिए। खाँदा खाँदा मासु पनि सकिनै आँटिरहेको थियो। केही साथीहरूले पुगेको संज्ञा दिँदै थिए। बिस्तारै दोहोरीको विषय सुमत मित्र तर्फ मोडियो। भएन भएको कुरा जोडेर सुमनलाई ईल्ली बिल्ली पारेका थियौँ । कसैको चरीत्र माथी हमला गर्मे खराब नियतत थिएन हामी कसैमा तर साथीभाईमा कतिपय कुराहरुलाई सामान्य ढङ्गले हेरिनुपर्ने रहेछ , यसर्थ अझ स्पष्ट हुनुपर्ने रहेछ, त्यसैले होला सुमन मित्र चाहीँ मुसुमुसु हाँसेर टारिरहेको थियो।
रातको दुई बजिसकेको थियो, एक एक गरेर आफ्नो संश्रय तर्फ लागिरहेका थिए। दिनभरको बसको यात्रा, थकान, अनिदो । सबै बिस्तारै सेलाउँदै थिए। तिन बजेको हाराहारीमा हामी पनि आठ - दस जनामा मात्र सिमित भइएछ। त्यसपछि बिहान सबेरै उठ्ने बाचा सहित लाग्यौँ हामी पनि बासस्थलतर्फ।
निन्द्रा पनि मिठो लाग्यो जस्तो सपना सजाएका थियौं बारपाक घुम्ने। उठेर पानी पिईयो घाम ताप्दै! साथीहरूको चाहिँ पर टल्किएको हिमाल सँग फोटो खिच्ने कार्य सुरु भयो, दश नबनुञ्जेलसम्म।
हामीलाई अर्को पनि गन्तब्य पुग्नु थियो! मात्र दुई दिने भ्रमण भएकाले अन्तिम फर्किने दिन थियो त्यो। सो समयका बाँकी रहरहरू त्यही दिनमा नामेट पार्नु थियो त्यसैले सबैले खाजा खाएर सवा दस बजे तिर उही दुई सवारी चढेर उक्लियौँ अर्को गन्तब्य लाप्राक तर्फ चिच्याउँदै र कराउँदै।
२०७२ सालको शक्तिशाली भुकम्पको केन्द्र बिन्दु थियो बारपाक- लाप्राक बस्ती। जसले पुरातन शैलीका पुराना घरटहरा ध्वस्त पारेको थियो। त्यसैले हुन सक्छ सायद नयाँ आधुनिक किसिमका घरहरूले राम्रो स्थान जमाउँदै थियो त्यहाँ।
दुईओटा बसमा हामी थप उत्साह बोकेर उक्लिएका थियौं, लाप्राकको गन्तव्य भेट्न। भिरमा साँघुरो मोटरको बाटो, विह्विल बनाउने पहिरो उक्लिँदै गर्दा कहिले बसको छेउपट्टिको टायर खुल्ला भिरमा नाच्दथ्यो त कहिले टेकेको भागको तलपट्टी फुर्लर माटो खस्थ्यो, त्यो दृश्य देख्दा मन वशमा हुन्थेन। ती कठिन घडीहरूले स्पष्ट पारेको थियो लाप्राकको दुर्गमतालाई।
'मोड नपुग्ने घुम्तिहरु, सतह नदेखिने धुलाम्मे बाटो पार गर्दै पुग्यौँ माम्चे डाँडा! त्यहाँ पुगेपछि बल्ल ढुक्क भयो मन 'अब बाँचियो' भनेर।
माम्चे डाँडा मै अवस्थीत एउटा होटेल रहेछ, छ पाङ्ग्रे ठुलो सवारी सम्भवतः पहिलोपटक उक्लिएको थियो उक्त डाँडामा। त्यसैले होला अचम्म मानेर भिडीयो बनाउदै हुनुहुन्थ्यो स्थानीयहरूले। त्यसकारण पनि निसङ्कोच ड्राइभरद्वय कमल अंकल र सन्तोष दाइलाई अन्तर स्करण देखी सम्मान व्यक्त गर्दछु।
त्यहाँबाट केही सतक मिटर सम्म बाटो हिँडेपछि धार्चे पार्क आइपुग्यो। हाम्रो सवारी त्यहीँ सम्म रोकियो र ओर्लियौं सबैजना।
सिरर एकनासको बतास चलिरहने, उत्तरतर्फ गणेश-II, पविल लगायतका हिम दृश्यहरू देखिन्थ्यो। एकटकसँग लागेको घामको बाबजुत एकोहोरो चिसो हावाले चिसो अनि जाडो अनुभूति भइरहेको थियो। ओंठ कक्र्याक कुक्रुक्क परिसकेको थियो।
उक्त पार्कको पश्चिम दिशातर्फ एउटा सानो ढुङ्गाको थुप्रो रहेछ, सायद कसैलाई पुरेको चिहान हुनसक्छ! स-सानो छँदा लक्कुढाल खेल्दा ढुंगाको धरोहरा झैं बनाएजस्तो उक्त थुप्रोको स-साना ढुंगा जम्मा पारेर एक-एक गरी खापेर अग्लो बनाएर मनमनै केही चिज मागे पाइने विश्वास रहेछ, बुद्धिबल भेना लगायत सँगै सवार केही साथीहरूले पनि ढुंगाको धरोहर बनाएर मनोरञ्जन लिनुभयो, मै पनि बच्चा जस्तो आत्मरतिको लागि बनाउने प्रयत्न गरेँ, सब्से अग्लो बनाउने प्रक्रियामा थिएँ अफसोस ढुंगाको सन्तुलन मिलेन छ फेदसम्म नरहने गरी ढल्यो। त्यसपछि हाँस्दै नजर अन्त मोडेँ।
प्राकृतिक सौन्दर्यतासँग हर्षोत्साहित थियौँ सबैजना। तस्वीरहरू कैद गर्ने क्रम पनि जारी नै थियो।
एकाएक नजर पर्यो उत्तर-पूर्व तर्फ पर्ने गुप्सीपाखा अन्तर्गतको एकीकृत ग्रामीण बस्तीमा।
एकै किसिमका उत्रै, एउटै डिजाइन, उस्तै रङ्गरोगनले भरिएका सानो चट्ट हेर्दा आकर्षक लाग्ने घरहरूको वेदना भने छुट्टै थियो जस्तो लागिरहेको थियो।
७२ सालको भूकम्पले तहसनहस पारीएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय गैरआवासीय नेपाली संघ लगायत स्वलगानीमा ६०२ घरहरू एकै प्रकारका निर्माण गरिएको रहेछ।
घरहरू बाक्लो देखिएता पनि भौगोलिक हिसाबले खोंच, कच्ची मोटरबाटो, सहरी इलाका भन्दा दुर लगायतका अनुपलब्धताका कारण उक्त बस्तीको मानिसको बसोबास दयनीय र न्यून सङ्ख्यामा देखिन्थ्यो।
हामी उक्त स्थलमा करीब दुई घण्टा रोमल्लियौँ र उस्तै उत्साह बोकेर नयाँ अनुभव सहित पुन: बारपाक अवतरण हुने जमर्कोमा लाग्यौँ । बिहान खाजा मात्र खाएर आएकाले भोकले लखतरान परेका थियौं सबै। पहिलेकै कहालीलाग्दो बाटो बिस्तारै ओर्लियौं सबै जना सवारीमार्फत्। जाँदाको झैं जोस, रङ्गरमाइलो तुलनात्मक रूपमा कम देखिन्थ्यो साथीहरूमा पनि। घडीले करिब ३:३० बजाउँदा हामी बारपाक ओर्लन सफल भयौं।
हामी सबै जनले आलोपालो गरी खाना खायौं, करिब ५ बजेको हाराहारीमा मात्र हामी बारपाकबाट गृहस्थल पुन:फर्कने समय जुर्यो। त्यतिञ्जेलसम्म सूर्य अस्ताउने तर्खरमा थियो। सूर्यको क्षितिज पारी अवतरणसहित हामीले पनि बारपाक र लाप्राकलाई बिदाइको हात हल्लाउँदै उही दरौदीको बाटो हुँदै निरन्तर झण्डै छ घण्टाको यात्राको अवसान गर्यौं।