देवभूमि हिमाञ्चल प्रदेशको बैजनाथ मन्दिर थियो हाम्रो गन्तव्य। हाम्रो गाडी एचपिसिए स्टेडियमबाट पूर्वतिर मोडियो।
आहा! कति सुन्दर बस्ती। प्रकृतिले बिछट्टै कृपा गरेको रहेछ हिमाञ्चल प्रदेश। पर्दामा देखिएको युरोपको कुनै ग्रामीण भेगमा घुमिरहेको छु भन्ने भाव आइरहेको थियो मनमा। सफा र सुन्दर आकाश, स्वस्थ अनि जीवन्त वातावरणले हृदय पुलकित भएको थियो।
राता, हरिया र नीला मनमोहक पछ्यौरीको छाना ओढेर त्यहाँ बस्तीका घरमा चारचाँद लागेको थियो। परतिर भएका सेताम्य हिउँको श्रीपेच लगाएर धौलाधर पहाड पनि मख्ख परेर हामीलाई नै हेरी हाँसिरहेको थियो।
चिया बगानको हरियालीले यहाँको सुन्दरतालाई अझै बढी निखारेको आभास हुन्थ्यो।
सलल बगेको पानीझैं एकनासले हाम्रो गाडी बगिरहेको थियो। सलल बगिरहेको बेला ठूलो ढुंगामा पानी ठोक्किएर भँगालो हानिएझैं हाम्रो गाडी उफ्रिएर रोकियो।
त्यसपछि हामी चामुण्डा देवीको मन्दिरको दर्शन गर्न ओर्लियौं। बाँडगंगाको किनारमा अवस्थित पौराणिक मन्दिर, जहाँ देवीले चन्डमुन्डत दैत्यको वध गरेको मान्यता रहेछ। मन्दिरको आँगनमा बाँडगंगाको कलकल आवाजले अखण्ड आरती गाएझैं लाग्यो।
धौलाधर पहाडले चारैतिरबाट हिमाञ्चल प्रदेशलाई सुरक्षा दिइरहेको थियो। त्यस्तो क्षेत्र नहोला जहाँ प्रकृतिको कृपादृष्टि नपरेको होस् त्यहाँ। जता हेरे पनि सुन्दरता नै सुन्दरता। यो क्षेत्र काँगडा जिल्लामा पर्ने रहेछ। काँगडा शब्दले बिस्तारै नेपाली मुटुलाई चसक्क घोच्यो। तन भारतमा लगेको भएता पनि मन त नेपाली नै जो थियो। काँगडा शब्दले एक्कासि एउटा गीत याद आयो।
'पश्चिममा किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ।'
यात्रामा रमाउँदा रमाउँदै मन अमिलियो। यो राष्ट्रिय गीत कुनै बेला एउटा पुस्ताले मज्जाले गाएका थिए। रेडियोबाट पनि बारम्बार प्रशारण हुन्थ्यो। यहीँ गीतले नेपालीको छाती गर्वले चौडा हुन्थ्यो।
गीतको सम्झनामा भावुक हुन पुगेछु। हतारहतार आफूलाई सम्हाल्न खोजेँ। कति खेर पालमपुर आउला भन्दै आँखा झ्यालतिरै सोझ्याएँ। धर्मशालाबाट २५ किलोमिटरको दूरीमा रहेछ पालमपुर। यहाँको प्रमुख आकर्षण भनेको पालमपुरको अनुपम प्रकृति र चिया बगान रहेछ। हामी पनि गाडी साइड लगाएर केही समय पालमपुर टी गार्डेनमा हरायौं।
'चिया बारीमा हो चिया बारीमा' गाउँदै मज्जाले नाचौँ नाचौँ लागेको थियो। शरीर स्थिर थियो तर मन भने बुरूक बुरूक उफ्रिन थालेको थियो।
१४ सय मिटरको उचाइमा उत्पादित यहाँ उत्कृष्ट चिया पाइँदो रहेछ। चिया बगानले गर्दा नै उत्तर भारतमा 'चाय राजधानी' को रूपमा पालमपुर प्रख्यात रहेछ।
'काँगडा चिया' चर्चित ब्रान्ड हुनुका साथसाथै निकै लोकप्रिय र स्वादिलो मानिँदो रहेछ।
काँगडा चियाको इतिहास सन् १८४९ देखि आरम्भ भएको रहेछ। बोटानिकल चिया बगानका प्रमुख डा.जेम्सनले चिया उत्पादनका लागि यस ठाउँको पहिचान गरी उत्पादनका लागि उपयुक्त हुने बताएका रहेछन्।
भारतको सबभन्दा सानो चिया बगान भए पनि काँगडा ग्रीन टी र ब्ल्याक टी धेरै प्रख्यात रहेछ।
काँगडा चियाको माग दिन प्रति दिन बढ्दै गइरहेको भन्दा बगानमा भेटिएकी दिदी मुसुक्क हाँस्दै हुनुहुन्थ्यो। ती दिदीको नाम सोध्न चाहिँ भुसुक्कै बिर्सिएछु।
यहाँको चियाको खपत कहाँ हुन्छ भन्ने जिज्ञासा लागिरहेको थियो।
तर यहाँ उत्पादित अधिकांश चिया स्थानीय बजारले ओगटेको रहेछ। बाँकी भएको चिया अमृतसर र कलकत्ता जाँदो रहेछ।
पालमपुर लेखेको होर्डिङ बोर्ड देख्दा मेरो मस्तिष्कमा अर्को कुरा पनि आइहाल्यो।
मलाई पालनपुर र पालनखेत एकै हो कि भन्ने भ्रम भएर मस्तिष्कमा राजा हिन्दुस्तानी फिल्मको भूगोल आँखामा नाच्न थालेको थियो।
पालमपुरको रोडमा राजा हिन्दुस्तानीको गीत मज्जाले घन्कियो।
'आए हो मेरे जिन्दगी मे तुम बहार बनके,
मेरे दिलमे यूँही रहेनाऽऽऽ
तुम प्यार प्यार बनकेऽऽऽ'
अनि त मलाई के चाहियो र।
संगीतको 'टाइम मेसिन' चडेर १७ वर्षको उमेरमा पो पुगेछु।
सिनेमाको यथार्थ थाहा पाउँदा पाउँदै पनि मेरो मनले राजा हिन्दुस्तानीका पात्रहरूलाई वरिपरि खोज्न थाल्यो। पछि पो थाहा भयो यो त काँगडा जिल्लाको पालमपुर रहेछ पालनखेत होइन।
हामी आठौं शताब्दीमा निर्माण गरिएको प्राचीन बैजनाथ मन्दिर पनि पुग्यौं। शिवले साक्षात बास गर्नुहुन्छ भन्ने मान्यता रहेछ। त्यसैले यो मन्दिर विशेष मानिँदो रहेछ। देवभूमिमा अवस्थित बैजनाथ मन्दिर परिसर निकै फराकिलो रहेछ।
धौलाधर पहाडको काखबाट मुस्कुराइ रहेको कुसौनी हिल स्टेसनले पनि हामीलाई प्रणाम गर्यो। बच्चाहरूले बजारमा राम्राराम्रा वस्तु देखेर यो पनि चाहियो, त्यो पनि चाहियो भन्दै अनियन्त्रित भएजस्तै मेरा आँखाहरू पनि अनियन्त्रित थिए।
त्यो पर देखिएको कुसौनीको सुन्दरता साँच्चै लोभलाग्दो थियो। तर हाम्रो यात्रामा उक्त स्थान समावेश थिएन। बेलाबेला कुहिरोको पर्दा हट्दा लाग्थ्यो कुसौनी स्वर्गको एक सुन्दर बस्तीमध्ये एक हो।
मेरो मनलाई पर्यटकीय नगरी कुसौनीले लठ्याइरहेको थियो। आँखाहरूले कुसौनीको दृश्य हेरे पनि पाउँ बैजनाथमाै थियो।
ऐतिहासिक, पौराणिक र धार्मिक इतिहास बोकेको बैजनाथ धामको वास्तुकला हेरिरहूँ जस्तै थियो। चारैतिर हरियाली बीचमा फूलैफूलको बगैंचाले मन्दिरलाई थप सुन्दर बनाएको थियो। उक्त सुन्दरता हेरेर बसिरहूँ जस्तो लाग्थ्यो।
कैयौं कथा र कहानी आफ्नो छातीमा लुकाएर लुकामारी खेल्दै थियो बैजनाथ धाम। मलाई मन्दिरको संरचना छुट्टै लाग्यो। त्यसैले मन्दिरबारे थप कुरा पुजारीलाई सोधेँ।
'१२०४ ई.स. मा अहुका र मन्युका नाम गरेका स्थानीय व्यापारीले यो मन्दिर बनाएका रहेछन्। चिकित्साका देवताका रूपमा यहाँ शिवलाई पुजिँदो रहेछ। हिमाञ्चल प्रदेशको प्रमुख पर्यटकहरूको आकर्षणमा यो मन्दिर पनि पर्दो रहेछ।
रावणले महादेवलाई प्रसन्न पार्न आफ्नै टाउको काटेर होम हाल्न लागेका रहेछन्। त्यसपछि आशुतोष भगवान प्रसन्न भएका रहेछन्। आशुतोष भगवानले नै रावणलाई असंख्य शक्ति दिएका रहेछन्। त्यसपछि रावण एकदमै शक्तिशाली भएका रहेछन्।
यस्तै शिवजीलाई लंका लैजाने रावणको अर्को इच्छालाई पूरा गर्न शिवजी शिवलिंगमा परिवर्तित हुनुभयो रे!। तर शिवलिंगलाई जहाँ मन्दिर निर्माण गर्ने हो त्यही ठाउँमा मात्र राख्न भनेर निर्देशन दिइएको भन्ने पनि मिथक रहेछ। रावणलाई यस स्थानमा आएपछि लघुशंका भएछ।
नजिकै भेंडा गोठालोलाई शिवलिंग बोक्न दिएर लघुशंका निवारण गर्न गएछन्। शिवलिंग भारी थियो। त्यसैले भेंडा गोठालोले बोकर बस्न नसकेर त्यहीँ राखेछ। अनि रावण आएर उठाउन खोज्दा असमर्थ भएपछि त्यसै स्थानमा यो मन्दिर निर्माण गरिएको भन्ने विश्वास छ।'
पुजारीले जनश्रुति सुनाउँदै मेरो हातमा एउटा रूमाल र ऐना प्रसादको रूममा दिएर आशीर्वाद मिसाइएको तिलक र टीका लगाइदिनुभयो।
कुरैकुरामा हामी काठमाडौंबाट आएको भन्ने थाहा पाएपछि त झन् चौपट्टै श्रद्धा, स्नेह र प्रेम देखाउनुभयो। पशुपतिनाथको छत्रछायामा हुर्किएका हामी देवभूमिमा साँच्चै सम्मानित भयौं।
मूलको पानी र कूलको छोरी किन भनेका रहेछन् भन्ने कुरा बैजनाथ धामको आँगनमा पाएको सम्मानले स्पष्ट पार्यो।
पशुपतिनाथलाई राष्ट्रदेव भन्नुको अर्थ भारत भ्रमणका प्रत्येक पाइलामा थाहा भयो। व्यक्तिमात्र त हामी केही पनि होइनौं। जब हाम्रो टाउकोमा राष्ट्र र राष्ट्रियताको छाता हुन्छ तब मात्र हाम्रो पहिचान हुने रहेछ। देशभित्र बसेर देशले मेरो लागि के दियो र? भन्दै असन्तुष्ट हुने मान्छेहरू केही समयको लागि देश बाहिर जानै पर्ने रहेछ।
नाम, थर, जात, धर्म, वर्ग, पद र पार्टीभन्दा कति माथि रहेछ देश। कति सौभाग्यशाली रहेछौं। सगरमाथालाई शिरमा बोकेर हिँड्न पाएका छौं। बुद्धको शान्ति श्वासमा समाहित गरी लुम्बिनी छातीमा राख्न पाएका छौं। जनकको भूमिमा सीताको कान्ति टपक्क टिपेर मुहारमा सजाउन पाएका छौं। पशुपतिनाथको आँगनमा आशुतोषलाई पुज्दै क्षमालाई बागमतीमा बगाउन पाएका छौं।
मलाई बैजनाथ मन्दिरबाट उठ्न मनै लागेन। शान्तिको निर्मल ज्ञान गंगा आत्माको कुनाकुनामा गएर शीतलता प्रदान गर्दै थियो। तर समय घर्किन लागेकोले उठ्नै पर्यो।
पुन: मेक्लोडगञ्जका लागि फर्कियौं। हाम्रो बसमा सबैभन्दा पछाडि दुईजना मज्जाले सुत्न मिल्ने सिटलाई झोलुङ्गो बनाएर पल्टिएँ। बिउझिँदा त मेक्लोडगञ्ज आइपुगेछौं। होटलमा पुगेर फ्रेस भई नजिकै नेपालीहरूले खोलेको होटलमा गयौं। पलेंटी मारी आरामले घरको जस्तै शुद्ध र मीठो खाना खायौं। पेटमा चारो परेपछि आँखा लोलाउन थाले। होटलमा गएर सबैजना भुसुक्कै निदाएछौं।
बिहानै बाक्सु झरना हेर्नका लागि उत्साहित थियौं। ठूलाठूला पहाडको बीचबाट बेपर्वाह निर्धक्क छ्ङ्गछ्ङ्ग झरेको सेतो पानीले बेजोडको पवित्रता बोकेको थियो। बाक्सु झरनाको त्यो संगीतमा अनूप जलोटाले गएको भजन पो सुनेँ।
'जलसे पतला कौन है?
कौन भूमि से भारी?
कौन अग्न से तेज है?
कौन कलंक से काली?'
मैले पनि आवाज ननिकाली उत्तर दिएँ।
जलभन्दा पातलो ज्ञान छ, पाप भूमिभन्दा भारी कलंक काजलभन्दा कालो छ, आगो भन्दा तेज क्रोध छ। वाक्सु झरनाको सुन्दर र स्वच्छ जलले निमेष भरमै सबै कयल-मयल बगाएर लैजान्छ भन्ने विश्वासले आँखा चिम्म गर्दै मुख धोएँ। अनि रमाएर बाक्सु झरनालाई पछाडि पार्दै केही फोटो र भिडिओ खिचेँ।
होटल फर्किएर पोको पन्तुरो गाडीमा हाल्दै मेक्लोडगञ्जलाई बाइबाइ गर्यौं।
धर्मशालामा पुग्दा थाहा भयो दलाई लामाको प्रवचन भइरहेको रहेछ। धर्मशाला आएको बेला दलाई लामालाई हेर्ने इच्छा जाग्नु कुनै नौलो कुरा भएन। दलाई लामाको उपस्थितिले निकै चहलपहल थियो धर्मशालामा। दलाई लामाले मन्तव्य दिने भव्य परिसरमा सामेल हुन हामी पनि लामबद्ध भयौं। गाडीको व्यवस्थापन अलि झन्झटिलो भएको थियो। तर कुशल चालकले कुशलतापूर्वक निकै पर लगी गाडी पार्क गर्न सफल भए।
त्यहाँ भक्तजनहरूको उपस्थित अच्काली थियो, सुरक्षा कडा थियो। हाम्रो पनि निकै जाँच भयो। हेर्दाहेर्दै हामीले पनि दलाई लामालाई निकै नजिकैबाट हेर्ने पायौं। उहाँ तिब्बतियन भाषामा प्रवचन दिँदै हुनुहुन्थ्यो। नबुझे पनि त्यहाँको शान्तिले मन आन्नदित भयो। त्यो भीडमा थच्क्कै बसेँ। दलाई लामा सामुन्ने निर्निमेष हेरिरहेँ।
त्यो भीडमा एकजना स्वयंसेविकाले चिया ल्याएर दिनुभयो। स्वाट्ट पारेँ। केही नबुझे पनि पद्मासन लगाएर मन्त्र वाणी सुनिरहन मन थियो। तर के गर्नु! समयको लठ्ठीले हिर्कायो अनि जुरूक्क उठेर पछाडि हेर्दै हिँडें। भित्र फोन, क्यामरा लैजान निषेध थियो नत्र कति फोटो खिच्ने थिएँ होला!