घुमघामले शारीरिक फाइदाका साथै सकारात्मक सोचको विकास गर्दछ। मानिसको मानसिक स्वास्थ्यलाई सुदृढ राख्न प्राकृतिक स्वच्छ वातावरणले निकै ठूलो भूमिका खेल्दछ। नयाँ ठाउँ, स्वच्छ हावा, हरियो वनजंगल, भीरपाखाबाट झरेको झरना, कलकल बगेको खोला, सलल बगेको नदी, निलो शान्त ताल तथा चाँदीजस्तो टलक्क टल्केका हिमालहरूको अवलोकनले मानिसको शरीरको सम्पूर्ण बायोकेमिस्ट्री परिवर्तन हुन्छ।
घुमघाम गर्नेको आयु पनि लामो हुन्छ। यात्राले हामीलाई संसारको बारेमा धेरै कुरा सिकाउँछ। यात्राले मानिसलाई विश्वविद्यालयको पाठ्यक्रमले भन्दा पनि बढी ज्ञान दिलाउँछ। यात्राको अर्को फाइदा आत्मविश्वास बढाउनु पनि हो। यात्राको दौरान मनमस्तिष्क सक्रिय हुने, नयाँ ठाउँ, नयाँ परिस्थिति तथा चुनौतिको सामना गर्नुपर्ने हुँदा मानिसको आत्मविश्वास बढ्छ। यात्राले मानिसमा सृजनशील बनाउँछ। यात्राले सामाजिक एकता र सद्भाव समेत बढ्ने गर्दछ। तनमनलाई स्वास्थ्य र शक्तिशाली राख्न, ज्ञान अनुभव र सृजनशीलता बढाउन कम्तीमा पनि महिनाको एकपटक यात्रा गर्नुपर्छ।
मनमोहक हिमशृङ्खला र पहाडको खोँचमा अवस्थित ताल्चा विमानस्थलबाट ४५ मिनेटको जिपको यात्रापछि समुद्री सतहबाट २९९० मिटरको उचाइमा रहेको रारा नजिककै मिलिचौर पुगिन्छ। हिउँले ढाकिएका पर्वत शृङ्खलामा आफ्नो अस्तित्वलाई जीवन्त बनाएर उभिरहेका खस्रु, खोटेसल्ला र लाली गुँरासको जङ्गल छिचोल्दै रारा किनारमा पुग्न सकिन्छ । २.७ किलोमिटर चौडाइको रारामा बोटिङको मजा लिन सकिन्छ।
लमतन्न नीलो रारालाई पहिलोपल्ट नियाल्ने जो कोही पनि एकछिन टोलाउँछ। सल्लो, धुपी, निगालोका बाक्लै झ्याङहरूका बीचमा तालवरिपरि लालीगुराँस ढकमक्क फुलेको चैत वैशाखकी राराको बखान मविवी शाहले ‘राराकी अप्सरा’ कवितामा गरेका छन्। नजिकैका मुर्मा, मिलिचौर, मालिकालेकमा चैत वैशाखकै बेला लेकाली काफल पाकेर राताम्य बनेका लेक र फूलको रस चुस्न झुम्मिरहेका चराहरूको दृश्यले मन प्रफुल्ल बनाउँछ। रारा किनारै किनार हिँड्दै करिब डेढ घण्टामा अर्को किनार पुग्न सकिन्छ।
रारा आफैंमा प्रतीक हो— हाम्रो प्राकृतिक सौन्दर्य र वैभवको, हाम्रो सम्भावना र भविष्यको। हिउँ पग्लिएर ओखतीको जरा पखाल्दै रारामा मिसिन्छ।
मिलिचौरमा घोडाको करेली तान्दै गरेका युवा, जुम्लामा जूनेली खोज्दै गरेका बालबालिका, कनकासुन्दरी मन्दिरको उकालो, तातोपानीमा ओखलमा मसला पिस्दै गरेका महिला, दाउराको भारी बोकेर उक्लिदै गरेका जुम्लेली यी सबैको समग्र रूप हो रारा। नजिकका अग्ला भएको डाँडा छिचोल्दै सूर्यका मधुरकिरण रारामा प्रतिविम्बित भएको हेरिरहँदा मुग्ध बनिन्छ। चङ्खेली हिमाललाई पृष्ठभूमीमा राखेर तस्विर खिच्नुको आनन्द नै बेग्लै।
रारा ताल कर्णाली प्रदेशकै सुन्दर ताल हो। यो नेपालको उत्तरपश्चिममा पर्ने कर्णाली प्रदेशको मुगु र जुम्ला जिल्लामा अवस्थित छ। यहाँ पाइने चराहरू, ताल वरिपरिको सौन्दर्य, यहाँका वनस्पति, जङ्गल, वन्यजन्तु सबै हिसाबले विश्व रामसार सूचीमा यो ताल सूचीकृत छ। सल्लाको जंगल र मिश्रित चौडापाते वन यहाँको मुख्य वनका प्रकारहरू हुन्। नेपाल सरकारले २०३२ सालदेखि नै यसलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेको हो।
अपरिमित प्राकृतिक र साँस्कृतिक सम्पदा, अनेकौं सामाजिक र जैविक विविधता र जीवन्त एवम् स्वाभिमानी जनता— समृद्धिका लागि आवश्यक सबै कुरा नेपालमा छ। कर्णालीलगायत नदी अविरल बगिरहेका छन्— तर नेपालका गाउँबस्ती अँध्यारै र खेतबारी बाँझै छन्।
प्राकृतिक रूपमा औषधि पखाल्दै बगेको पानी खनिजसँग मिसिँदै बनेको मिनरल पानी मात्रै उपयोगमा ल्याउँन सक्ने हो भने नेपालको काया पलट हुन्छ। यहाँको खानेकुरा सबैथोक पवित्र छ, प्रदूषित छैन, देशमा जडीबुटी छ, पहराबाट सिलाजित खसिरहन्छ यथार्थमा यहाँको माटो, यार्सागुम्बा, पाँचऔंलेको संरक्षण र उपयोग गर्दै विश्वका पर्यटक आएर रहन बस्न सक्ने व्यवस्था अनि प्रचार गर्न सक्ने हो भने नेपालको पहिचान बेग्लै बन्छ।
नेपाल जडीबुटी र पर्यटनका लागि धनी रहे पनि प्रचारको अभावमा ओझेलमा परेको छ। गमगढीबाट रारा, चुचेमार, मुर्माटप, कर्णाली नदी, मुगु, हुम्ला र जुम्लाको दक्षिण र जुम्ला जिल्लाको उत्तरपश्चिममा पर्ने रारा राष्ट्रिय निकुञ्जको क्षेत्रफल १०६ वर्ग कि.मि. छ । रारा तालको राष्ट्रिय महत्त्व त छँदैछ, अन्तराष्ट्रिय महत्त्वको तालको सूचीमा पनि समावेश छ। रारा राष्ट्रिय निकुञ्जमा कस्तुरी मृग, रेडपण्डा, हिमाली कालो भालु, थार, घोरल, रतुवा, बँदेललगायत ५५ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् भने नेपालको राष्ट्रिय पन्छि डाँफे, चिरकालिज, मोनालसिहत २९६ प्रजातिका चरामध्ये ४९ प्रजातिका बसाइँ सरी आउने जलपन्छीहरू पाइन्छन्।
२०२० सालमा तत्कालीन राजा महेन्द्र ताल अवलोकन गर्न आइपुगेपछि संरक्षणको प्रयास सुरू भएको हो। त्यतिबेला राष्ट्रिय निकुञ्ज बनाउने कानुन बनिसकेको थिएन।
वि.सं. २०३४-३५ मा यस क्षेत्रमा रारा तालको छेउमा १६५ घर भएको रारा गाउँ र छाप्रु गाउँ थिए, तिनीहरूलाई बाँके र बर्दियामा जग्गा प्रदान गरेर स्थानान्तरण गरिएको रहेछ। रारा ताल छेउका बासिन्दालाई अन्यत्र स्थानान्तरण गर्नुको उद्देश्य नै यो सुन्दर ताल फोहोर नहोस् र अतिक्रमणको चपेटामा नपरोस् भन्ने हो। ती बासिन्दाले खेती लगाउने घरबारी अहिले जङ्गलमा परिणत भएको छ।
रारा क्षेत्रमा कुट्की, सतुवा, जटामसी, पाँचऔंले, पदमचाल, गुच्ची च्याउ पाइन्छन्। जैविक विविधताको हिसाबले यो ताल महत्त्वपूर्ण मानिन्छ। नेपाल सरकारले घोषणा गरेका मुख्य पर्यटकीय स्थलमा सूचीकृत छ यो क्षेत्र। २०३४ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा सानो र एक अग्रणी राष्ट्रिय निकुञ्ज पनि हो। निकुञ्जको अधिकतम अर्थात ९० प्रतिशत भाग मुगु र बाँकी १० प्रतिशत जुम्ला जिल्लामा पर्छ।
वरिपरि हरियो कोणधारी वनजङ्गलले घेरिएको उच्च हिमाली भूभागमा रहेको आकाशको रङ अनुसार आफ्नो रङ फेरिरहने रारा तालमा सल्वलाउने कञ्चन पानी यस निकुञ्जको मुख्य आकर्षण हो। अनुपम प्रकृतिक सौन्दर्यले भरिपूर्ण यो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको उच्च हिमाली क्षेत्रको २९९० मिटरको उचाइमा अवस्थित रारा ताललाई सिमसार क्षेत्रहरूको अन्तराष्ट्रिय महासन्धि रामसारले सन् २००७ मा अन्तराष्ट्रिय महत्त्वको सूचीमा सूचीकृत गरेको छ।
निकुञ्जको रारा ताल र वरिपरिको कोणधारी वनक्षेत्र चराहरूको उपयुक्त वासस्थान मानिन्छ। राजा महेन्द्र यस तालको मनमोहक दृश्यले निकै प्रभावित थिए। तत्कालीन राजा वीरेन्द्रको पालामा रारा राष्ट्रिय निकुञ्जको घोषणा गरिएको हो। सडक सञ्जालमा जोडिएपछि यो क्षेत्र एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा क्रमशः विकास हुँदै आएको छ। रारा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा विभिन्न किसिमका फोहर थुप्रिएको देखिन्छ।
रारा तालको दक्षिणतर्फ चुचेमारा टाकुरा, उत्तरतर्फ रूम काँध र मालिका काँध, उत्तरपश्चिममा मुर्माडाडाजस्ता चुचुरा पर्दछन्। यी चुचुराबाट रारा तालको मनमोहक दृश्यका साथै सैपाल, छाँयानाथ, चङ्खेली, कान्जीरोवा, पञ्चमुखी आदि हिमाल तथा हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। यस तालको क्षेत्रफल १०.८ वर्ग कि.मि., अधिकतम लम्बाइ ५ कि.मि., अधिकतम चौडाइ ३ कि.मि. र अधिकतम गहिराइ १६७ मिटर छ। यस तालको पानीको निकास निजार खोला हुँदै मुगु कर्णालीमा मिसिन्छ। नेपालमा पाइने विभिन्न प्रजातिका रैथाने माछामध्ये रारा तालमा तीन प्रजातिका असला माछासहित सात प्रजातिका माछा पाइन्छन्। जसमध्ये कालो असला माछा विश्वमा रारा तालमा मात्र पाइन्छ।
यहाँ आइपुग्ने जोसुकैलाई तालको मनोरम दृश्यले लठ्ठ पार्ने गर्दछ। तर पर्यटकीय गतिविधि बढिरहेको अवस्थामा पर्यटकमार्फत उत्सर्जन हुने प्लास्टिक, पानीको बोतल, टिनलगायतका फोहोर अत्यधिक मात्रामा भेटिन्छ। रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा करिब २६ हजार भेडा, १० हजार गाईवस्तु तथा करिब १३ सयको हाराहारीमा भैंसी छन्।
रामसार सूचीमा सूचीकृत रारा ताल परिसरमा राष्ट्रिय निकुञ्जको कार्यालय, राराको सुरक्षाको लागि तैनाथ नेपाली सेना तथा यहाँ रहेका होटेलहरूको संरचना र गतिविधिले ताल परिसरलाई दूषित बनाइरहेका छन्। अचेल नेपाली पर्यटकीय आवागमन उल्लेखनीय रूपमा बढेको छ। पर्यटकलाई अझ आकर्षण गर्न रारा तालको वरिपरि घुम्न साइकल लेन बनाउने प्रयास सुरू भएको छ।
पर्यटकलाई सुविधा प्रदान गर्न प्रयोग हुने रारा क्षेत्रका करिब २५० जति घोडाको लिदी लगायत अन्य जनावरबाट पैदा हुने गोबरले रारा क्षेत्रको सौन्दर्यलाई बिगार्नुका साथै यी जैविक पदार्थ तालमा मिसिन गई तालको प्राकृतिक अवस्थालाई असर पारिरहेको छ।
वर्षाको समयमा गाउँलेका चौपाया खुला रूपले ताल वरपर तथा जङ्गल क्षेत्रमा चरिचरन गर्ने गर्छन्। यसले गर्दा घाँसे मैदान क्षेत्रमा फूल्ने फूलहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। चरिचरनले गर्दा उच्च भागमा रहेका कस्तुरी रेडपाण्डालगायतका संरक्षित जनावरलाई नकारात्मक असर परिरहेको छ। संवेदनशील क्षेत्रमा बनाइएका कार्यालय र होटलका संरचनाबाट ताल क्षेत्रमा पर्ने असर बारेमा जति ध्यान पुग्नुपर्ने हो त्यति पुगेको पाइँदैन। यो क्षेत्रमा पर्यटकको आकर्षण बढ्दैछ।
प्रत्येक वर्ष रारामा १० देखि १२ हजारसम्म पर्यटक आउने गरेका छन्।
२०६६ सालपछि बिदेशी पर्यटकको अभिलेख राख्न थालिएको र प्रतिवर्ष ४५० को संख्यामा आउने गरेको थाहा हुन आएको छ। रारा पुग्ने जोसुकै हुन्, यहाँको सौन्दर्यले मोहित हुन्छन् नै। उनीहरूले सामाजिक सञ्जालमा होस् वा आमसञ्चारका माध्यमबाट व्यक्त विचार निकै मननीय छन्।
रारालाई प्रकृतिको अनुपम उपहार, स्वर्गको टुक्रा, पुग्नैपर्ने ठाउँ, कर्णालीको रानी, देशकै वैभव, कर्णालीको वरदान जस्ता शब्दले राराको सौन्दर्यलाई शब्दमार्फत परख गरेको पाइन्छ। रारा पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएकोले यस क्षेत्रमा पर्याप्त सम्भावना उजागर हुँदै गएको छ। सुन्दर दृश्य, मुगाली संस्कृति, चराहरूको वासस्थान आदिले यस क्षेत्रको आकर्षणलाई झन् बढाएको छ।