नुवाकोट दरबारको अवलोकन, मैलुंगको आकर्षक झरना, ऐतिहासिक किल्ला बेलकोट गढि, किस्पांगको भेडा फर्म र गोसाइँकुण्डसँगको आत्मियताको छाती जोड्ने अवसरलाई नुवाकोट बसाइबाट भरपुर उपयोग गरेको थिएँ।
आराध्यादेव गोरखनाथ तथा गोरखकाली, शक्तिपीठ मनकामनाको पवित्र भूमि हुनुको साथै राष्ट्र निर्माता, मेरा पिता पुर्खाको जन्म र कर्मथलो भएकाले पनि जागिरको उत्तरार्धतिर गोरखा जिल्ला मेरो रोजाइमा थियो। गोरखा जिल्लामै सरूवा हुँदा खुसी भएँ।
किम्बदन्ती अनुसार ब्रह्मा ब्रह्माण्ड सृष्टिको क्रममा फोहर पानीको कारण समस्यामा परे। गोरखनाथको सल्लाहअनुसार गोरक्ष धुनीबाट आएको खरानी पानीमा छर्के। त्यसछि यसै ब्रह्माण्डमा सम्पूर्ण प्राणी जगतको सृष्टि गर्न सम्भव भएको हो भन्ने कथन छ।
विशेष गरी प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनमा गोरखनाथलाई सवा लाख रोट चढाइन्छ जसलाई महाप्रसाद पनि भनिन्छ। ३२ थरिका मसला र जडिबुटि मिलाएर तयार गरिने महत्वपूर्ण औषधीय गुण भएको रोट ग्रहण गरेमा शौभाग्य प्राप्त हुने विश्वास छ।
गोरखनाथका महायोगी गुरू गोरखनाथलाई शिवको रूप मानी श्रद्धा र भक्तिका साथ पूजा आराधना गरिन्छ। त्यसैले त नेपाली सेनाले महाशिवरात्रिलाई पवित्र पावनको रूपमा र डमरूलाई प्रतीकका रूपमा लिएको छ। नेपालका मुद्राहरूमा समेत गुरू गोरखनाथको नाम तथा पादुका अंकित भएको पाइन्छ।
हाजिर भएको लगभग एक महिनातिर कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी हुने अवसर पाएँ। पशुपतिको जात्रा सिद्राको व्यापार भने झैं सोही अवसरमा कार्यक्रम सुरू हुनुअघि बिहान सखारै गोरखा दरबार र सँगै रहेको गोरखनाथ तथा कालिका मन्दिरको दर्शन पनि गरियो। गाडीबाट ओलेर सिँढी हुँदै थोरै उकालो चढेपछि दरबार, कालिका मन्दिर र गुरू गोखनाथको कुटी देख्न पाइने रहेछ। त्यहाँबाट नजर डुलाउँदा मनास्लु, अन्नपूर्ण लगायतका हिमाल र दरौंदी लगायतका ठूला फाँट हेरेर भरपुर आनन्द लिन सकिन्छ।
तिनै भरपुर आनन्दलाई मनभरि संगाल्दै कार्यक्रममा सहभागी हुन पुगेँ। कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारी सर र प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रस्तुतिले काम गर्ने जोस जाँगरमा थप ऊर्जा थपिदिए झैं भयो।
निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोइराला सरको अभिनयले कार्यक्रमलाई थप रोमाञ्चक बनायो। वनभोज कार्यक्रम, भोजमा मात्र सीमित नभई छरिएर रहेका कर्मचारीबीचको घुलमिलले आपसी सौहार्दता ल्याउने सुनौलो अवसर पनि रहेछ।
काठमाडौंबाट चितवन जाने क्रममा कुरिनटार पुगेपछि मनकामना दर्शनका लागि कमिलाको ताँती जस्तै ओहोरीदोहोरी गरिरहेका केवलकार देख्दा मन्दिरमा गएर दर्शन गर्ने हुटहुटी जागेर आउँथ्यो।
मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। मनकामना पृथ्वी नारायण शाहका पुर्खा राम शाहकी रानी साक्षात देवी थिइन् भन्ने जनविश्वास छ। मनकामनाको रेखदेख गर्न शुद्ध चित्त भएको व्यक्ति खोजी गर्ने क्रममा गुरू गोरखनाथले लखन थापालाई नै उपयुक्त ठानी शिक्षा र ज्ञान दिएका रहेछन्।
कालान्तरमा आजको मन्दिर भएको ठाउँमा खेत जोत्दा ढुंगा फाटेर दूध आएको देख्दा मनकामनाले म फेरि कुनै रूपमा प्रकट भएर आउँछु भनेको कुरा उनै लखन थापाले सम्झन पुगेँ। आफ्नो सेवकको मनोकांक्षा पूरा गरिदिएकोले पनि ती देवीलाई भगवती भन्दा मनकामनाको नामैले बढी चिनिएको हुन सक्छ। तिनै लखन थापाको सक्रियतामा त्यो ठाउँमा मनकामनाको प्रतीकको रूपमा मन्दिर स्थापना भई उनकै सन्तान दरसन्तानबाट नित्य पूजाआजा हुँदै आइरहेको छ।
मनकामना भगवतीको मन्दिरलाई हिन्दु र बौद्ध धर्मालम्वीको आस्था र श्रद्धाको केन्द्रको रूपमा पूजिन्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ भने दसैंको अष्टमीका दिनमा भगवतीको विषेश पूजा गरिन्छ। गोरखाका खस र मगर सेनाहरूले गोरखालीलाई विजय गराएपछि यहीँ आएर लखन थापाले मनकामना देवीलाई बलि चढाएकाले त्यस बेलादेखि बलि दिने चलन भन्ने जनविश्वास छ।
कुरिनटारको चेरेस हुँदै केवलकारबाट मनकामना पुग्न ११ मिनेट लाग्छ भने पैदल यात्रा गर्न रूचाउनेहरू आँबुखैरनीबाट ४ घण्टाको पैदल हिँडेर पुग्ने रहेछन्। आबुँखैरनी भएर मर्स्याङ्दी नदीको पुल तरेपछि गोरखाको अबुवा भन्ने स्थान आउँछ। अबुवाबाट र गोरखा सदरमुकाम तिरबाट जाँदा बुंकोट, घैरूग हुँदै मनकामनासम्म जाने मोटर बाटो भएकोले गाडीमा सजिलै पुग्न सकिन्छ।
वरिपरिका प्राकृतिक छटाका स्पर्श प्रत्यक्ष अनुभूति गर्न सकिने भएकोले पनि गाडीमै जान उपयुक्त लाग्यो।
२०७८ साल पुस महिनाको जाडो यामको समय थियो। कार्यालयका सहकर्मीहरू प्रकाश पौडेल, रञ्जु वाग्ले, कृष्णराज आले, इश्वरीप्रसाद आचार्य, राजु भुसाल र सवारी चालक जगबहादुर गुरूङसहितको हाम्रो टोली बाक्लो हुस्सु छिचोल्दै मनकामना दर्शनको लागि बेनिघाटबाट बिहान सखारै कुरिनटार हुग्दी, मुग्लिन, आबुँखैरेनी हुँदै मनकामनातिर सोझियो।
बाटामा भेटिएका स्थानहरूमध्ये हुग्दीले अतीतका सम्झनाको याद गराउँथ्यो। मेरा पिताजीहरू सरकारी कामको सिलसिलामा गोरखाको धावाबाट चितवन झर्दा सोही बाटो भएर उपरदांग गढी, ज्यानज्यालाको भिर छिचोल्दै गन्तव्यमा पुग्नु हुन्थ्यो रे! मुग्लिन-गोरखाको बाटो बनेपछि मात्र नयाँ पिँढीका लागि त्यो ठाउँ बिरानो जस्तै बनेको रहेछ।
गाडीबाटै जाने क्रममा अबुवा भन्ने स्थानबाट दरौंदीको पुल तरेपछि दायाँ मोडिँदाको सुरूको थोरै उकालो ओसिलो रहेछ। धानको भुस बाटामा छर्दै बसलाई उकाल्ने काम हुँदै रहेछ। उकालो उक्लिँदै बेलकोटे, खहरे गाउँ, भोगटेनी, गाल्धुक, ढाँडबारी बसपार्क हुँदै मनकामना पुग्ने क्रममा मर्स्याङ्दी र दरौदी नदी, आबुँखैरेनी लगायत टाढासम्मका नदी फाँट तथा हरियाली डाँडापाखा देख्दा कम रोमाञ्चित भएनौं।
ग्राभेल गरिएका नागबेली परेका बाटा घुम्तीहरू पार गर्दै उक्लिदै जाँदा चिसो पनि उसै गरी बढ्दै थियो। बादलले घुम्टो ओढाउँदै हिमाललाई छपक्कै छोपेको थियो। त्यसैले मनास्लु, हिमचुली, अन्नपूर्ण लगायतका हिमालका दृष्य अवलोकन गर्न भने त्यो दिनको साइत जुरेको रहेनछ। डाँडापाखा समेत राताम्मे भएर गुँरास फुल्ने मौसम अझै आइसकेको थिएन। भर्खरै टिपिएका सुन्तलाका पोटिला र पहेँलपुर दाना घरको आँगनैपिच्छे देख्न सकिन्थ्यो। सडकका दायाँबायाँ सुन्तलाका लटरम्म बोटले स्वागतका लागि राखिएका सगुनको झझल्को गराउँथ्यो।
गाडीबाट लगभग डेढ घण्टाको यात्रामा मनकामना पुगियो। ढाँडबारी बसपार्कभन्दा अलि माथि गाडी पार्किङ गरेपछि थोरै सिँढीको उकालो चढ्ने बित्तिकै पहेँलपुर छानामुनि देवीको दर्शनार्थ तिर्थालुहरू लाइनमा पंक्तिबद्ध देखिन्थे। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएपछि भक्तपुरबाट कालिगढ झिकाई सुन्दर काष्ठकलाका उत्कृष्ट बुटाहरू कुँद्न लगाउनुको साथै छानामा तामाको पातामाथि साढे १८ किलो सुनको जलप समेत लगाई मन्दिरको जगैदेखि जीर्णोद्धार गरिएको रहेछ।
रञ्जु मिस देवीको दर्शन गर्न लाइनमा पंक्तिबद्ध हुँदै भित्र प्रवेश गर्नुभयो। हामीले प्रांगणबाटै देवीको दर्शन गर्यौं। विभिन्न जाति, समुदाय र क्षेत्रका मानिसको बाक्लै उपस्थिति देख्दा धार्मिक र सांस्कृतिक आस्थाले नै भावनात्मक एकतालाई अझ मजबुत बनाउँदो रहेछ भन्ने लाग्यो।
१३०३ मिटर उचाइमा रहेको मनकानाको प्रांगणबाट बिहान र साँझको सफा आकाशमा देखिने सूर्योदय र सूर्यास्तको मनमोहक दृष्यको अनूभुत गर्न सकिने यो ठाउँको परिसरमा बंकेश्वरी लगायत १५ वटा देवीदेवताको मन्दिर पनि रहेछ। बोल्न नसकेका र हातखुट्टा चल्न नसकेका बालबालिकालाई बंकेश्वरी मन्दिरमा दर्शन गराएमा ठिक हुने जनविश्वास रहेछ।
मन्दिर परिसरमा ठूलो चापको रूख छ। स्थानीयका अनुसार पहेँलो फूल फुल्ने ४०० वर्ष पुरानो रूखबाट आएको कडा बासना लमजुङसम्म पनि पुग्छ भन्ने कथन छ। हुरी बतास आउँदा धेरै पटक यसका हाँगाबिगा भाँचिए पनि मानवीय क्षति नभएकाले यो रूखमा पनि भगवती देवीको बास भएको जनविश्वास रहेछ।
मनकामनाको सात दिदीबहिनीमध्ये सांहिली इच्छाकामनाको, दिदी मनकामनासँग आपसी मनमुटाव हुँदा चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर ५ मा मनकामनालाई पिठ्युँ फर्काएर बसेकी रहिछन्। धेरै वर्षअघि गाई बाख्रा हराउन थालेपछि गोठालाले भेटेको मूर्तिमा पूजा गर्दा वस्तुभाउ हराउन छाडेकोले त्यसै बेलादेखि हरेक वर्ष मंसिर महिनाको ठूलो एकादशीपछिको पञ्चमी तिथिमा बलि र घण्ट चढाई हर्सोल्लासका साथ यिनको पनि पूजा गर्ने चलन छ।
इच्छाएको पूरा गर्ने देवी भएकोले उनको नाम इच्छाकामना रहेको जनश्रुति छ।
१८०० मिटर उचाइमा रहेको इच्छाकामना जान फिस्लिंगबाट दक्षिणतिरको उकालै उकालोको १८ किलोमिटर जतिको यात्रा तय गर्नुपर्ने रहेछ। त्यो दिन समय अभावले इच्छाकामनाको दर्शन गर्न भने भ्याइएन। यहाँ बसन्त ऋतुमा लालिगुँरासले धपक्कै हुने र गगनचुम्बी हिमालयको दृष्यले मनै लोभ्याउने हुँदा आन्तरिक पर्यटकका लागि थप आकर्षणको केन्द्र पनि रहेछ।
मनकामनाको परिसरमा दर्शनार्थीका आवश्यकता परिपूर्तिका साथै खाना तथा बासको राम्रो प्रबन्ध गरेको पाइयो। बिहानको खानापछि मनकामनालाई पुनः स्वस्ति गर्दै आफ्नो गन्तव्यतिर सोझिँदा मध्याह्न १२ बजिसकेको थियो।