‘पूर्णिमाको जुन उदायो, चन्द्रमाको प्रकाशले मरुभूमिको बालुवाको ढिस्कोलाई समुन्द्रको छाल जस्तो आकार दिन्थ्यो। त्यो भेटले किमियागर (अल्केमिस्ट) सँगको पहिलो भेटको सम्झना दिलायो। ऊ खुसीले नाच्यो। त्यहाँबाट पूर्णिमाको प्रकाश परेका भव्य ऐश्वर्यपूर्ण तर शान्त इजिप्टका पिरामिडहरू देखिन्थे।’
पावलो कोहेल्लोद्वारा लिखित पुस्तक ‘दि अल्केमिस्ट’ मा एकजना भेडा गोठालो केटोको इजिप्ट यात्रा बारे लेखिएका यी हरफहरू पढेपछि सानैदेखि सुनिरहेको इजिप्टका पिरामिडहरूबारे कौतूहल र तल्तल अझै दोब्बर भयो। साथसाथै नाइल नदी, इजिप्ट सभ्यता, एलेक्जेन्ड्रिया सहर, स्वेज नहर आदि देख्ने, जान्ने र स्पर्श गर्ने रहर त छँदै थियो।
यी सबै कौतूहल मेटाउन माध्यम बनेर आयो ट्राभल एजेन्सी ‘रुप्से होलिडेज’। पासपोर्ट साथै थप १/२ कागजात उपलब्ध गराएपछि सुरु भयो भिसा प्रकृया। हाम्रो इजिप्ट यात्राको टुङ्गो भयो २०७९ फागुन ५ गतेका लागि।
हाम्रो यात्राका २१ जना सदस्यहरू फूलबारीका रङ्गिचङ्गी फूलहरू जस्ता थियौँ। विभिन्न पेसा, भूगोल, उमेर, समुदाय आदिका।
मध्यरातको साढे २ बजे काठमाडौं-कुबेतको पहिलो उडान थियो हाम्रो। छ घण्टाको उडानपछि हामी कुबेत पुग्यौँ। स्थानीय समय थियो बिहानको ५:४०, बिहानको नयाँ घाम उदाउनै लागेको बखत। एकैछिनमा घामले कुबेत सहरभरि घामको लाली छर्कियो। अनि कुबेत सहर मुस्कुरायो।
कुबेत विमानस्थलमा अरु साथीहरूसँग थप चिनजान र कुराकानी भए। करिब ५ घण्टापछि हामी फेरि इजिप्टको काइरो जाने विमान चढ्यौँ। यो यात्रामा धेरैजसो इजिप्टेली नागरिकहरू थिए र थोरै मात्रै अन्य देशका। फरक-फरक देश, भाषा, सभ्यताका नागरिकहरूसँगै यात्रा गर्ने विमान वा विमानस्थलहरू मलाई संसारकै साझा घरहरू जस्ता लाग्छ।
काइरो पुग्न लाग्दा दिउँसोको करिब १ बजेको थियो। विमानको झ्यालबाट चिहाउँदा हरियाली बिनाको विशाल सहर देखिन्थ्यो। उसो त करिब दुई करोड बिस लाख जनसंख्या अटाउने काइरो सहर कसरी सानो हुन सक्थ्यो र!
विमानस्थलमा भेट भए हँसिला टुर गाइड मिस्टर मिदु। विमानस्थलदेखि हामी बस्ने होटेल लोटससम्मको करिब १ घण्टाको मोटर यात्रामा हाम्रो ५ दिनको निर्धारित कार्यक्रम र यात्राबारे जानकारी गराए।
दोश्रो दिनको हाम्रो यात्रा गिजास्थित पिरामिडतर्फ सोझियो। सहरको ट्राफिक जाम छिचोल्दै हामी करिब एक घण्टामा विशाल पिरामिडहरू नजिकै पुग्यौँ। ठूला-ठूला ढुङ्गाहरू कुँदेर पहाडजस्तै देखिने विशाल पिरामिडहरू देखेर हामी मन्त्रमुग्ध र रोमाञ्चक भयौँ।
आजभन्दा ४५ सय वर्ष अगाडि त्यति विशाल संरचना निर्माण गर्ने सोच र उर्जा कसरी आयो होला भनेर म अचम्मित भएँ। यस्तो लाग्थ्यो आफ्नै आँखा अगाडि मानव निर्मित सगरमाथा ठडिएको छ। विशाल छ। शान्त छ। लजालु छ। जति हेरे पनि धित मर्दैन। र, सुन्दर त्यो चिज हुन्छ जुन जति हेरे पनि अझै हेरौँहेरौँ लाग्छ। जति फोटा खिचे पनि अरु खिचौँखिचौँ लागिरहने।
किताबमा पढेको, सुनेको प्राचिन संरचना आँखै अगाडि देख्न पाउँदा हाम्रो खुसीको सीमा नै रहेन। मरुभूमिमा उँट चढ्न पाउँदा यात्राा थप रोमाञ्चक बन्यो। अझै सहयात्राी साथीहरूको टिप्पणीहरूले यात्रालाई कञ्चन आकाशमा सुन्दर इन्द्रेणीले सजाएजस्तै बनाइदियो।
सोही साँझ मिदुले हामीलाई नाइल नदीतर्फ लगे। काइरो सहरलाई चिरेर बग्ने संसारकै लामो सुन्दर र विशाल नदी नाइलको चमकले जो कोहीलाई लोभ्याउँछ। विशाल पानीजहाजमा टहलिँदै नाच्दै गाउँदै रमाइलो गरेर नाइल नदी माथिको यात्रामा २ घण्टा बितेको त पत्तै भएन। अरेबियन बेल्ली नाचगान अग्घोरै रमाइलो लाग्यो। यस्तो लाग्थ्यो कि सारा रमाइलो पनि सोही पानीजहाजमा यात्रा गरिरहेको छ।
तेश्रो दिन हाम्रो यात्रा इजिप्टको समुन्द्रिक सहर एलेक्जेन्ड्रियातर्फ अगाडि बढ्यो। भूमध्यसागरमा अवस्थित यो सहर इजिप्टको दोश्रो ठूलो र प्राचिन सहर हो। एलेक्जेन्ड्रियामा रहेको प्लेनटोरियम अध्ययन केन्द्र तथा विशाल पुस्तकालय हेर्न लायकका स्थान छन्।
विद्यार्थीहरूलाई विज्ञानको भोक जगाउन देखाइने विभिन्न प्रविधिहरूले उक्त प्लेनटोरियम अध्ययन केन्द्र महत्वपूर्ण स्थान रहेछ। अनि भूमध्य सागरका पानीका छालहरूमा समाहित हुँदाका पलहरूलाई त शब्दमा कसरी व्यक्त गर्नु र!
चौथो दिन हामीहरू सानैदेखि रेडियोमा सुन्दै आएको स्वेज नहरतर्फको यात्राामा लम्कियौँ। इजिप्टको स्माइलियास्थित स्वेज नहर र यसको कार्यालय समेत राम्रो पर्यटकीय गन्तव्य रहेछ।
लाल सागर र भूमध्यसागरलाई जोड्ने मानव निर्मित हाल १९३ किलोमीटर लामो यो विशाल स्वेज नहरको निर्माण सन् १८५९ मा सुरु भएर सन् १८६९ मा सम्पन्न भएको हो। एसियाली बजारलाई युरोपसँग जोड्ने यो समुन्द्री बाटोले आयात-निर्यातका लागि पूरै अफ्रिकालाई फन्को लगाउनु पर्ने बाध्यतालाई सहज र मितव्ययि बनायो।
यो मार्ग प्रयोगले करिब सात हजार किलोमिटर समुन्द्री बाटो छोटिन गई उक्त समय करिब तीन महिनाको पानीजहाज यात्रा दश दिनमा छोटिएको थियो र अहिले करिब ८-१० घन्टामा झरेको छ। यसबाट इजिप्टले सन् २०२१ मा ६ अर्ब ३० करोड डलर आम्दानी गरेको थियो।
संसारभरिमा समुन्द्री मार्गबाट हुने कुल आयात-निर्यातको करिब १२% हिस्सा यसले ओगट्छ। यसर्थ इजिप्टको लागि अहिले यो ठूलो आयआर्जनको स्रोत र रणनीतिक महत्त्वको छ।
स्वेज नहरसँगै रहेको किनारा तालमा स्टिमरमा सयर गर्दै घरी नेपाली घरी इजिप्टेली गीतमा सबैजना नाच्दा मन शीतल र शरीर पसिनाले लचप्पै भयो। यसै दिन काइरोमा रहेको १५०० वर्ष पुरानो चर्च समेत भ्रमण गर्यौं।
पाचौँ दिन इजिप्टको मनभरि सम्झना अनि सहयात्रीहरूको हार्दिकता बोकेर नेपाल फर्कियौँ। ऐतिहासिक महत्वको यो सुन्दर स्थान मिलेसम्म भ्रमण गर्न तपाईंलाई पनि मेरो सुझाव छ।