चिसापानीमा कर्णाली नदीको चिसो सिरेटोसँगै साहुनी दिदीको मिठो मुस्कानमा तात्तात्तो रोटी तरकारी खाँदा हामीलाई न्यानो महसुस भैरहेको थियो।
चिया खाइन्जेल हाम्रो गाडीको टायर मर्मतको काम पनि सकिएको थियो। हाम्रो गाडी पश्चिमतर्फ अगाडि बढ्यो। लम्कीबजार हुँदै अत्तरिया पुगेर यात्रामा हिँड्दा चाहिने केही खानेकुरा किनेर हाम्रो गाडी डडेल्धुरातर्फ मोडियो। अगाडि खानीगाउँ पुगेर खाना खान रोकियौं। खानीगाउँ, नामजस्तै खाना पनि मिठो खुलाए साहुजीले। हाम्रो त्यसदिनको यात्रा डडेल्धुरा बजार नपुग्दै केही वर स्याउले बजारबाट डोटीको दिपायल, सिलगढी हुँदै झिग्राना सम्मको थियो।
खप्तड यात्राको दोस्रो दिनमा थियौं। खप्तड जाने योजना केही समय अगाडिबाटै बनेको भए पनि सबै साथीको समय, बिदा मिलाउँदा सबैलाई समेट्न नसके पनि मिलेसम्मको साथीहरूको यात्रा सुरू गर्दा सात जना भएका थियौं।
पोखरा, चितवन तथा सुर्खेतबाट हामीले यात्रामा मिसिनुपर्ने थियो। पोखराबाट स्कार्पियो गाडी रिजर्भ गरेर नारायणगढ हुँदै पहिलो रातको बसाइ हाम्रो नेपालगञ्जमा भयो।
भोलिपल्ट गाडीमा लामो यात्रा गर्नुपर्ने भएको हुँदा सबेरै नेपालगञ्जबाट प्रस्थान गरिसकेका थियौं। हामीमध्येका कोही साथीहरूका लागि पश्चिम यात्रा बिल्कुल नयाँ थियो। पहाडी बाटोको कठिनाइको बीच हामी साँझमात्र झिग्राना पुग्यौं।
हामीले नेपालगञ्ज हुँदामै त्यस ठाउँको वस्तुस्थितिबारे बुझेका थियौं, पर्यटनको आवतजावत पातलो हुने भएकाले त्यहाँ होटलका मानिसहरू कसैले सम्पर्क गरेमात्र जाने रहेछन्। हामी त्यस होटलको तीन महिनापछिका ग्राहक रहेछौं। चिसो ह्वात्तै बढेको थियो, भोलिपल्ट बिहानै उठेर हिँड्नुपर्ने भएको हुँदा खाना खाएर आराम गर्नतर्फ लाग्यौं।
घाम लागिसकेको भए पनि चिसो सिरेटो भने चलिरहेको थियो। हामी बिहान उठेर चिया नास्ता खाएर खप्तड राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्यौं। झिग्रानाभन्दा अगाडिको स्टेसन बीचपानी, जहाँ एउटामात्रै होटल रहेको छ, अघिल्लो दिनमा फोन गरेर भोलिपल्टलाई खाना भनेका थियौं। ग्राहकको आवतजावत कम हुने भएकाले फोन नगरी जाँदा अलपत्र पर्नसक्ने अवस्था हुन सक्थ्यो। ठाडो उकालो बाटो, जंगलको बीचमा हिँडिरहँदा बेलाबेला कुनै जीवजन्तु, पशुपन्छी देख्न पाइन्छ कि भनेर ख्याल गर्दै गए पनि एउटा चरासम्म कराएको नसुन्दा हामी राष्ट्रिय निकुञ्जभित्र छौं भन्ने कुरा पनि बिर्सिन्थ्यौं।
फागुनको दोस्रो हप्ता भएको हुँदा गुराँस फुल्न थालेको थियो। उकालोको थकान बेलाबेला यिनै गुराँससँगको साक्षात्कारले पनि कम गराउँथ्यो। बीचपानीमा पुग्दा करिब १ बजेको हुँदो हो। हामी थकाइ अनि भोकले लखतरान भैसकेका थियौं।
खाना पकाउने होटलवाला झिग्रानाभन्दा तल्लो गाउँबाट हामीलाई भेट्टाएर पनि अघि गएर तयार पारिसकेका थिए। भोजनभन्दा भोक मिठो भनेझैं हामीलाई पनि भोक मिठो लाग्यो। खाना खाएर केहीबेर बस्न नपाउँदै हाम्रो दोस्रो अध्याय सुरू भयो। बीचपानीसम्म उकालो बाटो भए पनि अब ठाडो उकालो बाटो नभएर तेर्सो, हल्का ओरालो छ भन्ने हिसाबले पनि हामीलाई हिँड्न थप ऊर्जा मिलेको थियो।
अब त केही समयमा पाटन सुरू होला भन्दै यात्रा गर्दैगर्दा बीचमा फोनडाँडामा पुग्यौं हामी।
कुनै समयमा खप्तडबाट फोन लाग्थेन, अन्यत्र फोन नलाग्ने भएकाले यात्रुहरूले त्यहीँबाट फोन गर्नुपर्थ्यो। जंगल अझैसम्म सकिने मेसो थिएन। बिहान भिग्रानादेखि निस्किँदा स्थानीयले छ/सात घण्टामा पुगिने भनेर भनेको भए पनि हामीलाई बीचमा खाना खाएर हिँडेको तीन घण्टासम्म पाटन देखिएको थिएन।
बिहानदेखि सुरू भएको हाम्रो यात्राको ९/१० घण्टा हुँदासम्म पनि पाटन देखिने मेसो भएन, हामीलाई त्यस दिनको हिँडाइ पुगिसकेको थियो, तर हामीसँग खप्तड होटल भएको ठाउँसम्म पुग्नुको विकल्प थिएन।
बाटोको कुनाकाप्चाहरूमा पहिले परेर पग्लन बाँकी रहेका हिँउहरू देखिन्थे। हामीले बोकेका केही खानेकुराहरू खाँदै अगाडि बढ्दै गर्दा पाटन बल्लतल्ल देखिन थालेको थियो।
फागुनको महिनाको पाखा, पाखामा भएका खरहरू पूरै सुकेका, जता हेर्यो पूरै उराठलाग्दो पाखामात्रै देखिन्थ्यो। हामीलाई अहिले खप्तड जाने उचित समय त होइन भन्ने थाहा हुँदाहुँदै गएको भए पनि एक किसिमको मनमा अपेक्षा राखेकोभन्दा उजाडले गर्दा मन पनि उजाडियो। यति टाढाबाट यही पाखा हेर्न आएको हामी? यस्तो खुरिलो पाखा त हाम्रैतिर जति पनि हुन्थे भन्ने पनि लाग्यो।
जति हिँड्दा पनि बस्ने ठाउँ नआइपुगेको देख्दा अझै विरक्त लाग्थ्यो। घाम डुब्न लागेको थियो, हामी सितापाइलामा पुग्यौं। समुन्द्री सतहबाट करिब ३००० मिटरको उचाइमा अवस्थित त्रिवेणीपाटनको सुरूमै पर्ने सितापाइला अवलोकन गरेपछि हामी त्रिवेणीपाटनतर्फ लाग्यौं। त्रिवेणीपाटन घुम्दै त्रिवेणी मन्दिरसम्म पुग्दा साँझ पर्न थालिसकेको थियो। धेरैबेर त्यहाँ नभुलेर केदारढुङ्गातर्फ लाग्यौं, यस राष्ट्रिय निकुञ्जमा अरू जनावर देख्न नपाइए पनि स्याल भने देख्न पाइयो।
केही अगाडि बढेपछि पर धिपधिप बत्ती बलेको देखिन्थ्यो। अब भने हाम्रो गन्तव्य नजिकै थियौं। हामी पुग्नुपर्ने समयभन्दा केही समय ढिला भएकाले होला त्यहाँ आर्मी क्याम्पदेखि फोन आएको थियो।
उहाँहरूले तल निकुञ्जबाट फोन नम्बर मागेर कल गर्नुभएको रहेछ। होटलवालालाई फोन गरेपछि उहाँ तल बाटोसम्म लिन आउनुभयो। पारिबाट आर्मीले रजिष्टर गर्नुपर्ने भनी बोलाउनुभयो। सबै जना थाकेको भएर पारिसम्म जानसक्ने जाँगर कसैलाई पनि भएन, आर्मी क्याम्पका सरले आफैं हामी भएको ठाउँसम्म आइदिने कष्ट गर्नुभएकोमा पनि हामी अत्यन्तै धन्य भयौं।
चिसो अझै बढी महसुस भएको थियो। होटलमा गएर कोठासम्म पनि जानलाई जाडो मानिरहेका हामीहरू आगो फुकेको ठाउँमा झुम्मिन थालेका थियौं।
आगोमा बसिरहँदा चिसो हुन्छ भनेर बनाएको होचो घर धुँवाले निस्सासिएको थियो। लोकल भाले देखेपछि थकित सबैको अनुहारमा ऊर्जा आएको थियो।
कुखुराको बासनाले होला बाहिर स्यालको झुन्ड कराउँदै यताउता गरिरहेका थिए। चिसो अनि थकाइले गर्दा सकेसम्म छिटो आराम गर्ने तरखरमा लाग्यौं हामीहरू। हामीले त्यहाँ केही असहज परेमा भनेर त्यहाँका मेजरसाबको नम्बर खोजेर गएका थियौं। आराम गर्नुअघि मेजर सरलाई कल गरेर खप्तड आएको जानकारी गराएपछि उहाँले बिहानको चिया खाजाको निम्ति बोलाउनुभयो।
चिसोले गर्दा केही साथीहरूलाई शारीरिक रूपमा हल्का गाह्रो भएको थियो, यद्यपि लोकल खानाले धेरै ऊर्जा भने दिएको थियो।
हाम्रो योजनाअनुसार भोलिपल्ट त्यहीँ बसेर खप्तड वरपरका घुम्ने ठाउँहरू सबै भ्याउने भनेर भनिए पनि त्यहाँ पुग्दा कसैको अनुहारमा उत्साह नभएपछि चिसो खानुभन्दा महत्त्वपूर्ण ठाउँ अवलोकन गरेर भोलिपल्ट नै सकेसम्म तल ओर्लने केही साथीहरूको कुरा भएको थियो भने केही साथीहरूको कुरा भोलिपल्ट दिनभर त्यहाँ वरपरसँगै केही टाढा भएको स्रहस्त्र लिङ्गसम्म पुग्ने र साँझ त्यहीँ बिताउने भन्ने थियो।
बिहान उठ्दा हामीमध्ये एक जना साथीलाई बेलुका पखाला चलेको भएर थोरै कमजोर महसुस गरिरहनुभएको थियो भने अन्य साथीहरू सबै फ्रेस थियौं।
बेलुकाको सुताइ त्यति आरामदायी नभएको भनेर धेरै साथीहरूको सकेसम्म फर्किने योजना बनेको थियो। स्थानीयलाई अनुरोध गरेर उनले नजिकको छुटाउनै नहुने स्थान घुमाएर अनि अछामको बाटो झर्ने भन्ने सल्लाह भयो।
खप्तड सुदूरपश्चिम प्रदेशको चार जिल्लाको सिमाना थियो अछाम, डोटी, बझाङ, अनि बाजुरा। हामी डोटी जिल्ला हुँदै आएको हुँदा फर्कंदा अछामको साँफेबगरतर्फ ओर्लेर जाँदा बाटो नयाँ हुने सल्लाह भएअनुसार झिग्रानामा बस्नुभएको हाम्रो गाडीलाई कल गरेर साँफेबगरतर्फ अगाडि बढ्दै गर्नु भनेर खप्तडको महत्वपूर्ण घुम्नै पर्ने ठाउँहरूको अवलोकनको लागि निस्क्यौं।
सुरूमा खप्तड बाबाको आश्रम जाने भनेर निस्किँदा स्थानीयले त्यहाँको चाबी आर्मी क्याम्पमा हुने र खोल्नको लागि अनुरोध नगरेमा भित्र पस्न नपाइने भन्ने कुरा भएपछि मेजरसाबलाई कल गर्यौं।
हामीलाई बिहानको खाजाको निम्तो गर्नुभएको भएर खाजा तयार गर्न लगाउनुहुँदै रहेछ। क्याम्पभित्र आएर खाजा खाएपछि मात्रै चाबी खोल्न पठाउने भनेर भन्नुभएपछि उहाँको आतिथ्यलाई सम्मान गर्दै आर्मी क्याम्पमा गयौं। उहाँको आतिथ्य, सत्कार साँच्चै हाम्रो लागि अविस्मरणीय रह्यो। हामी सबै बैंकिङ क्षेत्रका साथीहरू घुम्न निस्केको, उहाँ मेजरसाब बिल्कुल फरक क्षेत्रको व्यक्ति हुनुभएर पनि बैंकिङ प्रतिको चासो अनि उहाँको क्षमता देखेर हामी चकित भयौं। उहाँसँगको बसाइले हाम्रो बिहानी त शुभ रह्यो नै, पूरा खप्तड यात्रा पूर्ण भएको महसुस भयो हामीलाई।
मेजरसाबसँग सामूहिक तस्बिर खिचेर हामी खप्तड बाबाको आश्रमतर्फ लाग्यौं। पुरानो ढाँचाको घर, उहाँको बस्ने कोठादेखि लिएर चुलो, प्रयोग गर्नुभएका औषधि, लेख्नुभएका पुस्तक सबै देख्दा उहाँको उपस्थितिको कल्पना हाम्रो मस्तिष्कमा बसेको थियो। त्यहाँको अवलोकनपश्चात् हामी लाग्यौं घोडा दाउने पाटनतर्फ।
खप्तड भन्नेबित्तिकै बस्ने मस्तिष्कको पाटनसहितको आवरण देखिएको पहिलो ठाउँ, घोडा दाउने पाटन। सुदूरपश्चिमको शान अपि, सैपाल हिमाल सहितको लामो हिमश्रृंखला देखिने पाटनले पहिलोपटक हाम्रो मन प्रफुल्ल बनाएको थियो।
अघिसम्म पनि बेलाबेला यस्तो ठाउँमा हामी घुम्न किन आएको होला भन्ने खालको भएको हामीहरू घोडा दाउने पाटन पुगेपछि बल्ल गतिलै ठाउँमा आइएको रैछ भन्ने महसुस भयो।
फराकिलो हिमालको रेन्ज, हरियालीमा फुलेका रंगीचंगी फूलहरूले भरिएको पाटन, हिमालको काखमा रंगीन गलैंचा बिच्छ्याएको साउन भदौको हरियालीको समयलाई सम्झिएर हामीहरू कुनै समय मिलेछ भने उक्त समय पारेर फेरि आउने कुरा गर्दै साँझ बसेको ठाउँमा फर्किएर खाना खाएपछि हामी खप्तड ताल हुँदै तल अछाम जिल्लातर्फ झर्ने भन्ने सल्लाह भएअनुसार खप्तड तालतर्फ लाग्यौं।
खप्तड ताल, सोचेकोभन्दा ठूलो, निश्चल, केही धार्मिक महत्व पनि बोकेको रहेछ। खप्तड ताल हुँदै तल ओरालो लागेपछि काँडा भन्ने गाउँ हुँदै साँफेबगर निस्किनुपर्ने रहेछ। त्यतिबेलासम्म हाम्रो गाडी साँफेबगर आइसकेको थियो। साँफेबगरदेखि अगाडि काँडासम्म बाटो पूरै कच्ची भएको हुँदा गाडी माथिसम्म बोलाउने कि नबोलाउने भन्दाभन्दै माथि आउन सकेसम्म अगाडि बढ्नु भन्दै हामी ओरालो झर्दै थियौं। साँफेबगरदेखि केही अगाडि बुढाबगर हुँदै काँडा आउनुपर्ने रहेछ।
काँडा गाउँ पुग्न माथिबाट २–३ घन्टामा पुगिने भनिएको भए पनि करिब ५ घन्टा ओर्लेपछि मात्रै हामी काँडासम्म पुगेका थियौं। अघिल्लो दिनको करिब ११ घन्टाको यात्रा र त्यस दिनको ओरालोले गर्दा हामी सबैलाई धेरै नै गलाइसकेको थियो। काँडासम्मको बाटो हामीले सोचेभन्दा धेरै नै अप्ठ्यारो रहेछ। हाम्रो गाडी साँफेबगरतर्फ अगाडि बढेपछि यस्तो खतरा बाटोमा गाडी लिएर आउनुभएका ड्राइभर दाइलाई धन्यवाद दिँदै रमाइलो गर्दै साँफेबगरतर्फ ओर्लिरहेका थियौं।
दूरीको हिसाबले त्यति टाढा नभए पनि बाटो अप्ठ्यारो भएको हुँदा साँफेबगर पुग्दा साँझ करिब ९ बजिसकेको थियो। बिहान उठेर सबेरै यात्रा गर्नुपर्ने भएर त्यसदिन खाना खाएर हामी आराम गर्नतर्फ लाग्यौं।
वैधनाथ मन्दिर, नेपालको चार धाम (पशुपतिनाथ, मुक्तिनाथ , बराह क्षेत्र र वैधनाथ) मध्येको एक धाम भएको हुँदा बिहानै मन्दिर दर्शन गरेर फर्किने भनी मन्दिरतर्फ लाग्यौं । साँफेबगर बजार सोचेभन्दा धेरै राम्रो लाग्यो।
फराकिलो खुलेको बजारसम्म धरातलले सबैको मन लोभ्याएको थियो। मंगलसेन पुगेपछि चियानास्ता गर्ने भनी अगाडि बढेपछि मंगलसेन आएर चियानास्ता गरेर अगाडि बढ्दा खाना कर्णाली प्रदेशमै पुगेर खाने भनी यात्रा अगाडि बढ्यो। पाल्ताडामा खानको लागि हाम्रो गाडी रोकिएको थियो। हामीलाई धेरै नै भोक लागिसकेको थियो।
कर्णालीको ताजा माछासहितको खाना खाने भनेर रोकिएको हाम्रो टोली एउटा होटल अगाडि आएर रोकिएको थियो। माछाभन्दा लोकल कुखुरा खाना खाने कि भनेर गाडी रोकेको होटलभन्दा अगाडि बढेपछि होटलवालाले आफ्नोमा रोकेर अन्त खाना खान लागेको भन्ने बुझेर अर्को व्यापारीसँग भनाभन गर्न थाल्यो।
हामीलाई भोक लागेको भए पनि उनीहरूलाई पनि फिल होस् हामी झगडा गर्दा ग्राहक अन्त गए भन्ने भनेर भोक लागेकै भए पनि तल्लो डुङेश्वरमा आएरमात्रै गाडी रोकियो। अब भने बिहानको खाजा अनि दिनमा खाएको केही फलफूलले पनि काम गर्न छोडिसकेको थियो। खाना अर्डर गरेर पाक्न लाग्ने समयसम्म पनि कुर्न गाह्रो भएको थियो।
माछासहितको खाना खाएपछि बल्ल आँखा देख्न थालेका थियौं। गुराँसे हुँदै सुर्खेत निस्किने योजना भएको भएर हाम्रो त्यस रातको बास सुर्खेतमा हुने पक्का थियो। बिहान उठेर नित्यकर्म गरी सुर्खेत भन्ने बित्तिकै दिमागमा आउने बुलबुले ताल अनि देउती बज्यै दर्शन गरेपछि फर्किने यात्रा सुरू गरेको हाम्रो टोलीको पुन: अर्को यात्रा छिट्टै गर्नेगरी सकिएको थियो।
सात जना उमेश आचार्य, सुशील भट्टराई, राजेन्द्र कोईराला, हरिराम रेग्मी, हिमाल पौडेल, बिष्णु पौडेल र म सहितको टोलीको समग्रमा खप्तड यात्रा प्राकृतिक, धार्मिक, साँस्कृतिक सबै हिसाबले एकपटक समय निकालेर घुम्नैपर्ने ठाउँ रहेको हामीले पायौं।