यात्रा संस्मरण
(पच्चीस वर्ष नाघिसक्यो सामाजिक विकासमा लागेर बिहान बेलुकीको जोहो गर्न दौडेको दौड्यै। तर पनि जागिर छाडेको भोलिपल्ट हात लाग्यो शून्य। पत्रकारिता क्षेत्र यस्तै जीवन दौडमा थोरै सन्तुष्टि र पहिचानको पर्याय मात्र रहेछ। सरकारी भए पेन्सन पाकिसक्थ्यो। कति दौडिनु हुन्छ, जीवनमा? आखिर सगरमाथा चढ्ने पनि त दौड्दैनन् तर शिखरमा त पुग्छन्! त्यसैले जागिर नै हापेर थोरै समय आमोद–प्रमोद गर्नुपर्यो भनी सुरू गर्यौं हामीले लामो यात्रा। हाम्रो सहयात्रा थियो लोमाङथाङसम्म। यात्रा प्रेमिल थियो, बस् उनको र मेरो ।)
उपल्लो मुस्ताङको निलो आकाशमुनि फैलिएको छ छोसेर गाउँ। यही गाउँको माझमा लोमाङथाङमा जस्तै चारैतिर पर्खालले घेरिएको कम्पाउण्डको दक्षिणतर्फ ठूलो फलामे गेट छ। होचो पर्खालमा रहेको गेटबाट भित्रको भव्यता देखिन्छ।
सेतो रंग पोतिएको कलात्मक स्थानीय बंगला नै पुमाको घर हो। गाउँकै माध्यमिक विद्यालयको कक्षा १० मा पढ्दैछिन् पुमा। विवाह गर्ने उमेर त भएको छैन तर उनका बाबुआमालाई घर ज्वाइँ खोज्ने चटारो परेको छ। छोरा भने पनि छोरी भने पनि पुमा नै त्यो परिवारको एक मात्र सन्तान!
सन्तानलाई अझ सक्षम बनाउन लागिपरेका छन् पुमाका अभिभावक। पढाउने, लेखाउने जिम्मेवारी छाडेका छैनन्। प्यारी छोरीको विवाह गरेर अन्माएर पराइघर पठाउनु पनि छैन। तर उनीहरूलाई एउटा चटारो छ, घर ज्वाइँ राख्ने। घर ज्वाइँलाई आकर्षित गर्न नै पुमाका बा–आमाले गाउँभरिमा सबैभन्दा चिटिक्क पारेर घर सजाएका रहेछन्।
पुमाको जन्मको बारेमा एउटा रोचक प्रसंग रहेछ। सुत्केरी व्यथाले च्यापेपछि पुमाकी आमाले गाउँमा प्रचलित परम्परागत तरिका जति सबै अपनाउँदा पनि बच्चा जन्माउन सकिनन्। हालत यति खराब भयो कि उनलाई सदाका लागि बिदा गर्ने कि हेलिकप्टर मगाएर पोखराको अस्पताल पुर्याउने? विकल्प एउटा मात्र रह्यो। अन्त्यमा सबै गाउँले मिलेर बच्चा तथा आमालाई बचाउन पैसा उठाए र हेलिकप्टर बोलाए।
पोखराको अस्पतालमा डाक्टरहरूले गर्भवतीलाई अपरेसन गरेर सुत्केरी गराउन बल्लबल्ल सफल भए पनि यी आमाले भविष्यमा अब अर्को बच्चा जन्माउन नसक्ने बनिन्। पुमा हेलिकोप्टरले गर्दा जन्मिएकी छोरीको नाम पनि गाउँलेको सल्लाह बमोजिम पुमा राखियो।
उपल्लो मुस्ताङ (लोमाङथाङ) छोसेरको बहुचर्चित झोङ गुफा हेरिसकेपछि गाउँ डुल्ने क्रममा हामीले आकर्षक घर देख्यौं। त्यही घरले हामीलाई केहीबेर अल्मलायो। पथप्रदर्शक बनेका शिक्षकले उनकै विद्यार्थी पुमाको कम्पाउण्ड हो भन्दै उनले घर ज्वाइँलाई आकर्षित गर्न घर चिटिक्क पारेको पनि बताए।
काठमाडौंबाट पोखरा, पोखराबाट जोमसोम, जोमसोमबाट छुसाङ र छुसाङबाट उपल्लो मुस्ताङ हुँदै अनि मात्र आइपुग्छ छोसेर गाउँ।
सडक करिब तयार भएपछि आफ्नो वा समयमा गुड्ने गाडी भए जोमसोमबाट एकैदिनमा पुग्न सकिन्छ, हिजोआज यो गाउँ।
टुरिस्ट बसमा बसेपछि जाम नपरिकन काठमाडौंबाट पोखरा पुग्नु भनेको विश्वयुद्ध जित्नु सरह नै हो। कृष्णजीको साथमा पोखरा नबसी सेती किनाराको हेम्जा पुगियो। हेम्जामा डा धनपतिको निम्तो पाएपछि होटलको चिन्ता पनि भएन। जोमसोमसम्मको टिकट मिलाएर भोलिपल्ट बिहानै सुमो चढेर जोमसोमतर्फ लागियो। धन्न दिन घमाइलो थियो। नत्र जोमसोमको यात्रा अलि जोखिमपूर्ण नै हुन्छ। झन् कच्ची सडकमा पानी परेपछि त बेहाल नै हुने रहेछ। ठाउँ/ठाउँमा सबै यात्रु ओर्लेर गाडी धकेल्नु पर्ने! बाटोमा हिलोसँग पल्टनबाजी खेल्नु नपरे पनि काठमाडौंको धुलो छल्न हिँडेकाहरूलाई त्यहाँ पनि धुलोले माया गर्न भने छाडेन!
सुमो जिपमा नेपाल घुम्न आएका भारतीय युवा पर्यटकहरू चार जना, दिव्यज्योति हाइस्कुल छोसेर उपल्लो मुस्ताङका विज्ञान शिक्षक हिरा गौडेल, लोमाङथानकै सिकर्मी शेरबहादुर लामा र उनकी स्थानीय पत्नी र हामी दुई थियौं।
बिहान सबेरै हिँडेको जिपले दाना पुगेर यात्रुहरूलाई दानापानी खुवायो। दस वर्ष पहिले ढुंगाका छाना र ढुंगाकै गाह्रो लगाइएका स्थानीय होटलहरू अहिले महलमा परिणत भैसकेछन्।
गाडी गुडेपछि यात्रुहरू एकै छिनमा घुलमिल भइहालियो। गुरूजी पनि फरासिला नै रहेछन्। सानो कोठाभन्दा पनि सानो आकारको जिपमा गुरूजीसहित नौ जना भएपछि समूह समूहमा भएको कुराकानीले सामूहिक रूप लिन कृष्णजीले सहजकर्ताको भूमिका निर्वाह गरे। एकैछिनमा वार्ता सहज भैहाल्यो। अनि हिन्दी, अंग्रेजी, नेपाली र लोकल टोनमा यात्रा ‘ककटेल’ हुनथाल्यो। यात्राको क्रममा परेको लामो जामले पनि छलफलमा बाधा अड्काउ पार्न सकेन।
भारतको मुम्बईबाट आएर पोखरा घुमिसकेपछि मुक्तिनाथ दर्शन गर्न हिँडेका भारतीय युवा पर्यटकहरूले आश्चर्य मान्दै नेपाल गरिब देश भन्ने सुनेको तर कहीँकतै भारतमा जस्तो मागेर हैरान गर्ने मान्छे नभेटेको रहस्यबारे आश्चर्य प्रकट गर्दै भने, ‘कति कर्मशील मान्छे रहेछन् यहाँ।’
भारतीय नाकाबन्दी झेलेको केही वर्षपछि त्यही छिमेकी देशका पर्यटकबाट नेपालमै नेपालीको प्रशंसा सुन्दा कम्ता खुसी लागेन। त्यतिबेला सरकारले पशुपति लगायतका केही क्षेत्रमा माग्न बन्देज लगाएको थियो। हामीले यो कुरा पनि उनीहरूलाई सुनाउन भ्यायौं।
नवलपरासीदेखि चीनको सिमा नाका कोरलासम्म बनिरहेको कालिगण्डकी कोरिडोर अन्तर्गतको बेनी जोमसोम सडक खण्ड चौडा पार्दै गरेकाले ठाउँ ठाउँमा रोकिनु पर्यो।
दानाबाट केही पर पुगेपछि त दुई बजेदेखि ३ घण्टाको लागि बाटो बन्द गर्ने नियम नै रहेछ।
परेन फसाद! ३ घण्टा कसरी बिताउने ? गाडीमै बस्ने कि डोजरले खनेको हेरिरहने ? त्यही बसेर कुरिरहनुभन्दा त बरू हिँडेर जहाँ पुगिन्छ त्यहीँबाट गाडी चढ्ने सल्लाह गुरूजीसंग गरेर कृष्णजी र म अगाडि बढ्यौं।
एक डेढ घण्टा हिँडेपछि हामी चढेकै गाडीका विज्ञान शिक्षक र शेरबहादुरजीसँग कालोपानी बजारमा भेट भयो।
हामी जोमसोमको बसाइपछि उपल्लो मुस्ताङ जाने मुडमा त थियौं तर कति दिन लाग्छ ? उचाइले दुख दिने हो कि भन्ने दोधारमा थियौं। हिँडाइका सौखिन कृष्णजीले उपल्लो मुस्ताङ जोमसोमबाट हिँडेर जान लाग्ने समयबारे सोधे।
शेरबहादुरजीले हिँडेर त दुई तीन दिन लाग्ने, गाडीमा भए एकैदिनमा पुग्ने बताए।
जोमसोमबाट उपल्लो मुस्ताङ हाइटमा भएकोले उचाइ लाग्ने सम्भावना बताए।
मैले भनें, ‘म सोलुखुम्बुको लुक्लाबाट नाम्चेको ठाडो र घण्टौंको उकालो हुँदै स्याङबोचे, होटल एभरेस्ट भ्यू, खुम्जुङ भ्याली पुगिसकेको मान्छेले उचाइ पचाइहाल्छ नि के को अल्टिच्युड लाग्नु ?’ आफू सगरमाथा क्षेत्र गएको घमण्ड प्रदर्शन गर्न भ्याइ हालेँ।
‘हिमालय क्षेत्र भनेको रहस्यपूर्ण ठाउँ हुन्। मै हुँ भन्नेका घमण्ड पनि तोडिदिन्छ किनभने उचाइमा अक्सिजन कम हुन्छ। कसको शरीर त्यो अवस्था धान्न फिट छ उसलाई केही हुन्न तर शरीर फिट नराख्ने र हिमालयको अनुशासन नमान्नेबारे केही भन्न सकिन्न। सगरमाथा आरोही हिलारीलाई त पछि खुम्जुंगमा लेक लाग्यो!’ कृष्णजीले सम्झाउन भ्याइहाले।
तीन घण्टा बितेपछि गाडीलाई बाटो खुल्यो। बगरै बगर हुँदै गाडी बेतोडले हुइँकियो।
साँझ करिब ९ बजेतिर मात्र जोमसोम पुगियो। जोमसोम कोलेनीका प्रमुख आफ्नै दाजु वैकुण्ठ हुनुहुन्थ्यो। ज्वाइँको मेजमानी पाएपछि बाटोको थकाइ पनि चारकोस पर भागिहाल्यो।
जोमसोमको आकर्षण धुम्बा ताल रहेछ। भोलिपल्ट खाना खाएपछि लागियो धुम्बा तालतिर। धुम्बा ताल त लक्ष्य थियो, जोमसोम भ्याली, बीचबाट बग्ने कालीगण्डकी नदी, पुरानो र नयाँ जोमसोम, खेतीपाती गर्ने फाँटहरू, आकर्षक विमानस्थल, बाह्र बजेसम्म हवाई जहाजको घाइँघुई, हरियाली र नांगा डाँडाहरूको चट्टान र मानिसहरूको रहनसहन तथा लवाइखवाइ फोसामा हेर्दाहेर्दै एक घण्टा दूरीको धुम्बाताल पुग्न करिब २/३ घण्टा नै लाग्यो।
मुस्ताङको घरपजोङ गाउँपालिका ५ मा अवस्थित मनमोहक पारिएको धुम्बाताल सानो नै रहेछ। तर मुस्ताङ्गीहरूको धार्मिक थलो पनि भएकोले त्यसलाई पर्यटकीय पार्कको रूप दिइएकोले आकर्षण झन् थपिँदै रहेछ। तालमा रंगीविरंगी माछा छाड्नुलाई थकालीहरू धर्मवृद्धि ठान्दा रहेछन्। त्यसमाथि ताल किनारामा बेन्चहरू राखिएका, पार्कभित्रकै क्याफेमा तिनलाई खुवाउने चारो पनि बिक्रीमा राखिएकोले पर्यटकहरू रमाएर समय गएको पत्तै नपाउने रहेछन्। हामीलाई पनि त्यस्तै भयो।
धुम्बातालको दृश्यावलोकनपछि पार्कभित्रकै क्याफेमा दूध चिया खाने मनसुवा भयो।
‘यहाँ आएर पनि दूध चिया खान खोज्ने’ भनेर दूध चिया मन नपराउने कृष्णजीले हकार्न भ्याइहाले। आखिर घरकै गाइको दूधमा साउनीले मीठो चिया खुवाइन्।
जोमसोम यात्राको पहिलो लाभ थियो मुक्तिनाथ दर्शन। कागवेनीबाट मुक्तिनाथ जाने मुख्य बाटो पीच गर्दै रहेकोले त्यतिबेला सोझो बाटो जान पाइएन तर घुमाउरो बाटोबाट अगाडि बढ्दा अलि लामै समय लाग्यो ।
म्याग्दीबाट तातोपानी, घासा, टुकुचे, मार्फा भएर जोमसोम कागबेनी हुँदै हिँडेरै पुगिएको मुक्तिनाथ यात्राको रमाइलो गाडीमा पुग्दा कहाँ? ओहो त्यतिबेला ठूला ठूला ढुंगै उडाउने हावा र कलिला हाम्रा केटाकेटी आफूलाई हावाले उडाएको देखेर खुसी हुँदै लड्दै उठ्दै गरेको त्यो अबोध बाललीला गाडीले सबै खोसिहाल्यो। अब कहाँ त्यो रोमान्चकता?
मुक्तिनाथ नै पुगेपछि किन ननुहाउने भनेर १०८ धारामा नुहाइयो पनि। तर वायु वेगमा कुद्दै सबै धाराको पानी थाप्दा पनि शरीर कठ्यांग्रिएर भुतुक्कै। मस्त तालले नुहाएको भए अन्तिम धारोमा पुग्दा बरफ बनेर खडा होइन्थ्यो जस्तो लाग्यो। आम्मामा कति चिसो ?
जोमसोम पुगेपछि घुम्नै पर्ने अर्को ऐतिहासिक पर्यटकीय स्थल घरपजोङ्ग गाउँपालिकामा अवस्थित ठिनी रहेछ।
जोमसोमबाट करिब एकआध घण्टामै हिँडेर पुग्न सकिने ठिनी। त्यहाँबाट संसारकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल जोड्ने पदमार्ग बनिसकेको पो रहेछ। जोमसोमदेखि ठिनी हुँदै तीन दिनमा तिलिचो पुगेर फर्कन सकिने स्थानीयबासीले बताए।
त्यसपछि मात्र हामी उपल्लो मुस्ताङ लागेका थियौं। बिहानै खाना पनि नखाइकन ७ बजेको सुमो भ्याउने भनेर निस्किएको सार्वजनिक यातायातको दादागिरीले दिउँसो एक बजेसम्म जोमसोममै हल्लिइरहनु पर्यो। बिहान सात बजे जिप जान्छ र घाम नडुब्दै लोमाङथाङ पुगिन्छ भनेको जिप त अहिले जाला छैन, भरे जाला छैन।
यातायात व्यवसायीले भनेजति यात्रु पुर्याएर लैजाऊभन्दा पनि ज्यान गए मानेका होइनन्।
मुक्तिनाथ जाने भारतीय पर्यटकको ट्रिपमा मनलाग्दी भाडा असुलिरहेकाहरू किन लोमाङथाङ जान्थे। क्युको जिप समेत पठाउन मानिरहेका थिएनन्। सार्वजनिक गाडी पाइने भएपछि सरकारी गाडीको दुरूपयोग किन गर्नु भन्ने लागेर दाजुलाई अनुरोध नगरेकोमा पनि आफैंलाई थक्क थक्क लाग्यो। पाँच घण्टा कुरेपछि मात्र मानिस बढी भए भनेर सुमो होइन एउटा ठूलो बस जाने भयो। कागबेनी हुँदै करिब एक घण्टामा छुसाङ पुगियो। छुसाङबाट एक किलो मिटर बाटो काटेपछि कालीगण्डकी तर्नुपर्ने रहेछ। त्यहाँ पनि सिन्डिकेटले छाडेन।
उपल्लो मुस्ताङ पुग्न छुसाङ पुग्नै पर्छ। छुसाङका कलात्मक र मनमोहक डाँडा/भित्ताहरू देख्दा स्कुले जीवनमा पढेको मेसोपोटामिया सभ्यताको झलझली याद आयो। आफू कहाँ पुगेँ कहाँ भनेझैं लाग्ने। समुन्द्र सतहदेखि २९५० मिटरमा कालीगण्डकीको किनारमा अवस्थित छुुसाङ पुग्न गाडीमा जोमसोमबाट एक घण्टा मात्र लाग्छ। बसवालाको सिन्डिकेट र किचकिच बेहोर्नु पर्यो भने त व्यर्थै आएछु भनेर दिक्दार लाग्ने। बसवालालाई दुई तीन जनाको बढी पैसा दिन्छु नभनेसम्म अनेक बहानामा अल्झाइ रहन माहिर रहेछन् यातायात व्यवसायीहरू। बढी पैसा दिने भनेपछि मात्र कोचाकोच गरेर गाडी चल्यो र लोमाङथाङ यात्रा सुरू भयो।
छुसाङबाट भेना, स्याङ्बोचे, धाकमार तथा घारगुम्बा हुँदै उपल्लो मुस्ताङ (लोमाङथाङ) को यात्रा अत्यन्त रोमान्चक र साहसिक। परिवारको जोडीसँगै यात्रा गर्दा कहीँकहीँ त ल छोराछोरीको त बिल्लीबाठ पो हुने हो कि झैं लाग्ने। तर, स्थानीय गुरूजीहरू खप्पिस, जस्ता अप्ठ्यारामा पनि सुमोलाई बुलेट रेलको गतिमा कुदाउने।
रातको समय र झमझम पानी परेर अस्तव्यस्त लोमाङथाङका गोरेटाहरूमा ढल खनेर साह्रै अप्ठ्यारो। पोखरादेखि जोमसोमसम्म सँगै आएका शेरबहादुरजीलाई फोन नगरेको भए विचल्लीमा नै परिने रैछ। बिरामी मान्छे टर्चलाइट बोकेर लिन आइपुगे। होटल खोजेर सुपथ मूल्यमा गाँस र बास मिलाइदिए। राहत भयो हामीलाई। त्यसमाथि झमझम पानी परेको चिसो मौसममा तात्तातो थुक्पा खान पाइयो। जीवनमा आनन्ददायी क्षण योभन्दा के होला र?
विदेशी पर्यटकहरूका लागि सन् १९९२ मा मात्र खुला गरिएको उपल्लो मुस्ताङमा मुस्ताङ्गी राजा जिग्मेसिग्मे वाङचुकको पुरानो दरबार, विभिन्न गुम्बा तथा मोनाष्ट्रीहरू, पुरानो बजारले उपल्लो मुस्ताङको सुन्दरतालाई आकर्षक रूपमा पस्किरहेको रहेछ।
उपल्लो मुस्ताङ पुग्ने बाटो अप्ठ्यारो भए पनि होटलहरू भने सुविधायुक्त रहेछन्। त्यसमाथि जिग्मेसिग्मे राजाकै परिवारले सांस्कृतिक रूपमा समृद्ध ठूलो स्टार होटल खोलेकाले उच्च मूल्य तिरेर बस्न चाहने पर्यटकहरूका निम्ति सुविधाको कुनै कमी महसुस नहुने।
हामी बसेको लोमान्थाङकी होटल साहुनी अति फारासिली र ‘फ्रेन्ड्ली’। घुम्न आको मान्छे के यत्तिकै बस्नुहुन्छ भनेर हामीलाई नेपाल चीन बोर्डर कोरला जान अभिप्रेरित गरिरहिन्। भदौ, दशैंताका र निश्चित चाड तथा उत्सवमा मात्र कोरलामा मेला लाग्ने रहेछ। त्यही समयमा त्यहाँको व्यापार व्यवसाय चल्ने रहेछ।
मेलाको समय हरेक बिहान लोमाङथाङबाट एउटा सार्वजनिक बस कोरला जाने रहेछ, अरूबेला नजाने। सामान ढुवानी गर्न केही ट्रक तथा मोटरसाइकलहरू पनि आवतजावत गर्ने रहेछन्। धन्न साहुनीसँग भेट भएछ नत्र हामीले कोरला भ्रमणको मज्जा गुमाउने रहेछौं। सोही सार्वजनिक बसमा कोरला पुगियो।
जोमसोम—उपल्लो मुस्ताङको जोखिमपूर्ण यात्राबाट निर्माण सकिन लागेको दुई लेनको फराकिलो र केही स्थानमा पिच गरिएको उपल्लो मुस्ताङ—कोरला बोर्डरमा चिनियाँ सुरक्षाकर्मीहरूले नागरिकता चेक गरिरहँदा जो कोही पनि फरक दुनियाँमा पुगेको महसुस गर्ने रैछन्।
धन्न नागरिकता र अन्य परिचय पत्र सधैं ब्यागमै हुने भएर सहज भयो। नत्र, त परिचय पत्र बेगर कोरला जान नपाइने रहेछ।
बोर्डरमा चिनियाँ पुलिसले खानतलासी गर्ने र र्याख र्याख पार्ने रहेछन्। पत्रकारलाई त झन् बढी नै। काठमाडौंको नागरिकता देखेपछि चाइनिज पुलिसले काठमाडौंको रैछौ भनेर सोधिहाल्यो। झट्ट ढाँट्न आएन वास्तविक उत्तर दिएँ। त्यसपछि त जान मिल्दैन। यो स्थानीयबासीका लागि हो भनेर गनगन गर्न थालिहाल्यो। धन्न होटल साहुनीले उनीहरूकै भाषामा काठमाडौं घर भए पनि मुस्ताङमा बसेर काम गर्ने भन्दिइन् र जान पाएँ।
उत्तिनखेरै चाइनिज सँगै उभिएको नेपाली पुलिसले कुन अफिस भनेर नेपालीमा सोध्न भ्याइहाल्यो। परेन फसाद ? हतार हतार मैले पनि दाजुको अफिसको नाम भन्न भ्याइहालें। जति झूट नबोलूँ भने पनि जिन्दगीमा कहिले कहिले झूट बोल्नै पर्ने। जोमसोममा आफू कोलेनिकामै बसेको र त्यसको बारेमा धेरै कुरा थाहा भएकोले पनि कोलेनिका भनेर ढुक्कले उत्तर दिएँ।
मलाई र्याख र्याख पारेको देखेर कृष्णजी धेरै बोलेनन्। पत्रकार भनेपछि सोधिखोजी र छामछाम छुमछुम बढी हुने रहेछ। क्यामरा, परिचयपत्र केही लान नपाइने सबै त्यहीँ पुलिस चौकीमै छाड्नुपर्ने भयो।
उपल्लो मुस्ताङवासीको भाषा र तिब्बती भाषा मिल्दो रहेछ र केही सहज भयो। लोमाङथाङवासीले सक्दो सहयोग गरे।
नेपाल चिनियाँ बोर्डरबाट करिब १०० मिटर जति मात्र पर चिनियाँ भन्सार विभागको विशाल महल बनिरहेको छ। तर, नेपाल साइडपट्टि भने बोर्डरबाट करिब दश किलोमिटर वरै मात्र नेपाल भन्सार कार्यालयको अफिस देख्न पाइन्छ।
कोरला नाकाको व्यापार त खासमा उपल्लो मुस्ताङबासीलाई नै लक्षित रहेछ। उपल्लो मुस्ताङ र तीब्बतका बासिन्दाको भाषा मिल्दो हुनाले पनि व्यापार व्यवसायमा सहज रैछ। यहाँको व्यापारिक स्थिति देख्दा लाग्यो चिनियाँहरूले नेपालसँगको आफ्नो व्यापार व्यवसाय कुनै नाकाबाट कम हुन दिएका छैनन्।
हिउँदमा पोखरा हुँदै ट्रकमा कालिगण्डकीको तिरैतिर उपल्लो मुस्ताङसम्म सामग्री ढुवानी गर्ने गरिएको रहेछ तर त्यस्तो मौसमी व्यापारले कति नै धान्ला र? खाँटी व्यापार व्यवसाय त मेलाकै नाममा पटक पटक खोलिने नाकाले नै धानेको रहेछ। भूकम्प पीडितका जस्ता पाल टाँगेर व्यापार हुँदोरहेछ। त्यहाँ एकादुई बाहेक स्थायी घर बनेका छैनन्।
काठमाडौंबाट गएका दुई नेपाली पर्यटकहरूसँग बसमै चिनापर्ची भयो। उनीहरूलाई झोङ गुफाको बारेमा बढी जानकारी पनि रहेछ। बसको समय त जाने आउने निश्चित थियो। त्यसैले हामी चारै जना बस छाडेर ट्रकबाट नेपाल भन्सार कार्यालयभन्दा केही पर छोसेर गाउँबाट झोङ गुफा पुग्यौं।
अत्यन्त रोमान्चक ! ऊ बेलामा छोसेर गाउँका बासिन्दानै अटाउने झोङ गुफा विस्तृत रूपमा फैलिएको र पाँच तल्ले थियो। झोङ गुफा हेरिसकेपछि उपल्लो मुस्ताङ पुग्ने जो कोही पर्यटकले यदि झोङ गुफा नहेरी फर्कियो भने उसले उपल्लो मुस्ताङको मात्र होइन नेपालकै एक महत्वपूर्ण र अनौठो पर्यटकीय स्थलको भ्रमण गुमाउने रहेछ भन्ने महसुस भयो। झोङ गुफासँगै रहेको आकर्षक मोनाष्ट्रीले पनि पर्यटकलाई तान्दो रहेछ।
झोङ गुफाबाट छोसेर गाउँको बस्ती पुग्न दश मिनेट मात्र लाग्ने रहेछ। गाउँको मुख्य बाटोसँगै एउटा भव्य माध्यमिक विद्यालय रहेछ, जहाँ विद्यार्थीहरूलाई पढ्ने, खाने बस्ने, कम्प्युटर र आकर्षक पुस्तकालय लगायतका सुविधा रहेछन्।
उपल्लो मुस्ताङ र कोरला बोर्डरको बीचको मुख्य बाटोको छेउमै पर्ने उक्त विद्यालय यताका सरकारी विद्यालयभन्दा कुनै कोटीमा कम छैनन्। अझ बढी नै व्यवस्थित देखियो। चीन सरकारको समेत सहयोग रहेको उक्त विद्यालयमा कास्की, चितवन लगायतका जिल्लाहरूबाट पढाउनका लागि शिक्षक पुगेका रहेछन्। हामीसँगै पोखराबाट जोमसोमसम्मको यात्रामा सँगै रहेका शिक्षक हिरा गौडेलले नै हामीलाई छोसेर गाउँ घुमाइदिए। छोसेर गाउँबाट उपल्लो मुस्ताङ होटलसम्म पुग्न हिँडेर हामीलाई करिब दुई घण्टा लाग्यो।
शिक्षक हिरा गौडेलबाट उपल्लो मुस्ताङमा घर ज्वाइँ बस्ने परम्पराको बारेमा थाहा पाएपछि होटल साहुनीको विवाहका बारेमा पनि जान्ने जिज्ञासा जाग्यो। साहुनीसँग उनको विवाहका बारेमा कुरा दुहुने धेरै प्रयास गरेको तर ज्यान गए खुलेकी होइनन्। छैन यहाँ त्यस्तो चलन। पहिले हो अहिले त हराइसक्यो भनेर टारिन्।
पछि शेरबहादुरजीबाट थाहा भयो साहुनीका श्रीमान पनि घर ज्वाइँ नै बसेका रहेछन्। होटल भएको घर पनि उनकै माइतीको उपहार रहेछ। उनको अहिले बन्दै गरेको ठूलो होटल बनाउन पनि माइतीले नै जग्गा उपलब्ध गराएका रहेछन्।
साहुनीका श्रीमान मात्र हो र ? स्वयं शेरबहादुर पनि घर ज्वाइँ रहेछन्। रसुवाका शेरबहादुर सिकर्मी कामका लागि उपल्लो मुस्ताङ पसेका थिए। उपल्लो मुस्ताङकै श्रीमानको मृत्यु भएर एकल भएकी डोमासँग उनको माया प्रेम बस्यो। उनीसँगै विवाह गरे र घर ज्वाइँ बसी उनी उपल्लो मुस्ताङबासी बनेछन्।
उनको काठको कारखाना रहेछ, जहाँ धेरैले रोजगारी पाएका मात्र होइनन् लोमाङथाङका सबैजसोका घरका फर्निचर यिनै शेरबहादुरले तयार गर्ने गरेका रहेछन्। किड्नीका बिरामी शेरबहादुर साह्रै मनकारी, सहयोगी स्वभावका। चियाको निम्तो गरी एकदिन मुस्ताङे घिउ हालेर बनाएको नुनिलो चियाले सत्कार गर्न मात्र भ्याएनन्, लुलु गाईको खोजीनीति गर्ने कृष्णजीलाई लुलुको शुद्ध दूध अघाउन्जेल खुवाइछाडें।
उपल्लो मुस्ताङमा धेरैजसो बेहुलाहरू विवाह गरेर बेहुलीको घरमा घर ज्वाइँ बस्ने परिपाटी अझै कायम नै रहेछ। झन् एक्ली छोरीले त घर ज्वाइँ नपाए बरू आजीवन विवाहै नगरी बस्छन् भने शिक्षक हिरा गौडेलले। विशेषगरी मुन्द्रे यातायात अर्थात् मोटरसाइकलमा हुइँकिने ठिटाहरू घर ज्वाइँ बस्न युवतीहरूका रोजाइमा पर्ने रहेछन्।
यहाँका अधिकांश महिला घरमूली हुने रहेछन्। निर्णय प्रक्रियामा पनि उनीहरूको ठूलो भूमिका हुँदोरहेछ। विदेश जाने/नजाने निर्णय पनि पहिला महिलाले नै गर्ने रहेछन्। विदेशिने रोगबाट यहाँका बासिन्दा पनि मुक्त भने रहेनछन्। राजीखुसी यसरी बेहुलीको घरमा घर ज्वाइँ बस्ने परिपाटी सबैतिर लागू भए कस्तो हुन्थ्यो होला भनेर एकछिन त कल्पनामा डुबियो पनि।
हाम्रा कतिपय परम्परा तथा संस्कृति धेरै सकारात्मक छन्। यिनले महिलाको स्थानलाई उच्च कोटीमा राखेको पनि पाइन्छ। यस्ता रीतितिथि तथा परम्पराले सामाजिक संरचनालाई नै परिवर्तित गरेको छ। यस्ता परिवर्तित सकारात्मक परम्परा र संस्कृतिको जगेर्नामा भने खास चासो देखाएको देखिँदैन।
यात्रा संस्मरण लेख्ने हुटहुटी जागेपछि यात्रामा भेटिएका शेरबहादुरजीलाई धेरै पटक फोन गरें। तर, उनको फोन त लाग्दै लागेन। आफूसँग पोखरादेखि जोमसोमसम्मको यात्रामा सँगै रहेका छोसेरका माध्यमिक विद्यालयका शिक्षकको फोन पनि हराएछ। बल्ल बल्ल दाजुलाई लगाएर खोजी गरेपछि भने शिक्षक हिरालाल गौडेल फोनमा भेटिए।
उनीसँग केहीबेर कुराकानी भएपछि शेरबहादुरसँग सम्पर्क गर्न नसकेको कुरा बताएँ। त्यस्तो सहयोगी, मिलनसार शेरबहादुर त हामीलाई छाडेर यो संसारबाटै बिदा पो भैसकेका रहेछन्। काठमाडौं आउँछु। मिर्गौलाको राम्रो डाक्टर चिनाइ दिनुहोला भनेका शेरबहादुरको यो दुखद समाचारले साह्रै भावविह्वल बनायो। के गर्नु मृत्युलाई जित्न नसकिने। इमानदार, सहयोगी मान्छेलाई नै यमराजले पनि लोमाङथाङबाट चाँडै रोजेछन्, हार्दिक श्रद्धान्जली!
घर ज्वाइँ बसेका शेरबहादुरको निधनपछि फेरि पनि एकल बनेकी शेरबहादुरकी पत्नीले पुनः घर ज्वाइँ खोज्लिन्? मनमा यस्तै प्रश्न प्रतिप्रश्न उठिरहे तर निरूत्तर.........।