पोहोर तीजताकाको कुरा हो, म कान्तिपुर सिटी कलेजमा मास कम्युनिकेसनको अन्तिम सेमेस्टरमा पढ्दै थिएँ। चाडपर्व आएपछि अफिस र कलेज विदा हुनेलाई घुम्न जान सजिलो हुन्छ। तीजको विदाको मौका छोपेर कलेजका हामी मिल्ने–मिल्ने साथी कतै घुम्न जाने योजनामा थियौं।
कलेजमा मिल्ने साथी जुनु र विपनालाई मैले प्रस्ताव राखें, ‘जाउँ सिन्धुलीतिर।’
जुनुले र विपनाले एकछिन टाउको कन्याउँदै भने, ‘घरमा मिलाउनुपर्छ यार!’
मैले भनेँ, ‘तिमीहरु मिलाउँदै गर मिलेन भने म एक्लै भए पनि जान्छु।’
जुनुसँग जाने भनेपछि मेरो ममी ढुक्क, मसँग जाने भनेपछि जुनुको ममी ढुक्क!
विपनाको अवस्था भने अलि फरक भयो। उनी जान सकिनन्।
मलाई एक्लै जाने आँट मेरो स्कुटरले दिएको थियो। घुम्न भनेपछि भुतुक्कै हुने म मौका पाउने जस्तोसुकै परिस्थिति र बाधालाई पनि पार लगाउन माहिर भइसकेकी थिएँ। साथीहरुले मेरो इर्ष्या गर्ने कुनै कारण छ भने यही हो!
हामी दुई जना त पक्का भयौं, अब अरु दुई जना खोज्न थाल्यौं। मैले मेरो अफिसको एक साथीलाई भनेँ। तिनै साथीले अर्को साथी खोजे। अनि, हामी दुई रात तीन दिनका लागि हुइँकियौं सिन्धुली यात्रामा।
अर्का साथीको मोटरसाइकल थियो, मेरो स्कुटर। सडक राम्रो थियो, यात्रा सजिलै भयो। रमाइलै भयो।
लगत्तै दशैं आयो। घर जान गाडीको सिट पाउने/नपाउने टुंगो थिएन। एउटी साथीको नयाँ स्कुटर थियो मेरो भने पुरानै। तर, मलाई विश्वास थियो, मेरो स्कुटरले मलाई जस्तो बाटोमा पनि तान्छ। हामी दुइटी मिलेर सल्लाह गर्यौैं, पालुङ, दामनको बाटो हुँदै हेटौंडा पुगेर बुटवलसम्म पुग्ने।
सिन्धुलीपछि स्कुटरमा यो मेरो दोस्रो लामो यात्रा थियो। म स्कुटरमा एक्लै, साथीको भने चलाइदिने अर्का साथी थिए। यात्रामा म आफूलाई अरुभन्दा केही फरक आँट भएकी युवती मान्छु।
तर, स्कुटरमै घर जान अरु अवस्था भने उति सजिलो थिएन। ममीलाई, भनेको थिएँ घुम्दै आउने हो साथीसँग विस्तारै आउँछु।
ममीले भन्नुभयो, ‘दाइलाई सोध है, मलाई नभन।’
दाइलाई भन्ने हिम्मत आएन। खबरै नगरी हिँडेँ। दाइको डर कामय थियो मनमा। डरले उहाँको फोन पनि उठाइन। पालुङ र दामनको यात्रा गर्ने भनेपछि मेरो मन उसै फुुरुङग थियो। ममीले प्रत्यक्ष ढाडस नदिए पनि हक जताउन सक्थेँ, त्यसैले दाइको डरलाई दबाएर गुडिरहेँ।
घर पुगेँ। छिमेकी, साथीहरुले स्कुटरमा आएको देख्नेबित्तिकै जिब्रो टोक्दै भने, ‘काठमाडौंदेखि स्कुटरमा? त्यो पनि एक्लै?’
एक्ली केटी, स्कुटरको यात्रा। योजना बुनेदेखि गन्तव्यमा पुग्दासम्म अनेक मान्छेका एउटै प्रश्नको सामना गर्नुपर्छ।
यो वर्षको दसैंमा पनि त्यसै गरेँ, नौबीसे, दामन, हेटौंडा हुँदै चितवन स्कुटरमा पुगेँ। पोहोरको अनुभवले यात्रा गर्नुअघि उब्जिने डरलाई खाइसकेका थिए। कसैको अविश्वासलाई जित्न पनि पोहोरकै उदाहरण थियो। तर, परिवारले मलाई सहजै अनुमति दिएको भने होइन। मैले पोहोरझैं पेलेँ र ठेलेँ स्कुटर।
मलाई मुक्तिनाथ मन्दिर पुग्न मन छ, मुस्ताङको राता स्याउ करप्प टोक्ने धोको छ। यो योजना बसमा होइन, स्कुटरमै हो। तर, काठमाडौं–चितवनजस्तो सहज छैन कि! आत्मविश्वास जुटिसकेको छैन त्यसैले योजनाले अहिलेसम्म मूर्त रुप पाएको छैन।
तर, मैले यही दसैंमा मुस्ताङ त होइन, हिमाली क्षेत्रको यात्राका लागि स्कुटर चलाएँ।
यो लाङटाङ यात्राको अनुभव हो। म स्याफ्रुबेसीसम्म स्कुटर चलाएर पुगेँ। यो एक वर्षअघिदेखि देखेको सपना हो। रसुवातिरकै एक साथीले फागुन–चैतमा १५ थरीका गुराँस, मयुर र खोलाको चिसो पानीजस्ता गफ सुनाउँथे। म सपनामा पनि लाङटाङ पुगेको देख्थेँ। गुराँस टिपेर गालातिर मुसारेको कल्पन्थेँ। खोलाको चिसो पानीले मुख धोएको कल्पना गर्दा आङ नै सिरिङङ हुन्थ्यो!
यसअघि मैले ट्रेकिङको अनुभव लिएको थिइनँ। सुन्दरीजलदेखि बुढानीलकण्ठ र गोदावरीदेखि फूलचोकीसम्म करिब २८ किलोमिटरको ‘हाइकिङ’ अनुभवको भरमा मलाई लाङटाङ पुग्ने आँट दिएको थियो।
०७२ सालको भुइँचालोले क्षति पुर्याएको लाङटाङमा करिब ६० घरलाई सोहरेको थियो। हिउँपहिरोले पुरै गाउँलाई सोहोर्दा खेतिपाती खासै नहुने ठाउँमा बाँचेका मान्छेहरुले के खाएर बसे होलान्? मेरो मनमा त्यतिबेला यही प्रश्न सबैभन्दा बढी चलेको थियो। खास भन्दा त्यतिबेलैदेखि मलाई लाङटाङ पुगेर त्यहाँको जन–जीवन बुझ्ने रहर पलाएको थियो।
‘केटी मान्छेको जीवन हो, रहर लिएर मात्र कहाँ हुन्छ र छोरी,’ रहरका कुरा गर्दा मेरो ममी यसै भन्नुहुन्थ्यो। ममीले आफ्नो रहर पुरा गर्न कत्तिको संघर्ष गर्नुभयो त्यो मलाई थाहा छैन।
‘तर, तपाईंकी छोरी रहर पुरा गर्न हार मान्दिन ममी!’
ममी मेरो रहर बुझ्नुहुन्छ। म आफैं पनि सुनाइरहन्छु। ममी गुनासो गर्न छोड्नुहुन्न, म मेरो रहर पुरा गर्न छोड्दिनँ। तर पनि ममीमा मप्रति भरोसा छ। कतै जान या केही गर्नुपर्दा ममीसँग अनुमति माग्छु। एक वर्षअघि लाङटाङ जाने कुरा सुनाउँदा ममीले सिधै अनुमति दिनुभएन। तर, मनले भन्नुभयो, ‘जा न त!’
ममीको मन बुझ्न के गाह्रो!
अझ पछिपछि त उहाँ आफैं उक्साउन थाल्नुभएको थियो। जिस्क्याउँदै भन्नुहुन्थ्यो, ‘कहिले जान्छेस् त ल्याङट्याङ?’
‘लाङटाङ को के ममि ल्याङट्याङ होइन,’ म हाँस्दै भन्थेँ।
मेरा धेरै साथी छन्, जो घुम्न रहर गर्छन् तर परिवारको अनुमति नपाउँदा कहिल्यै घरबाट बाहिर निस्कँदैनन्। छोरीका लागि पहिलो बाधक नै परिवार हो।
म घुमिरहेको थाहा पाउने साथीहरु यही कारणले मेरो इर्ष्या गर्छन्।
म ममीको अनुमति सजिलै पाउँछु। तर, यो पुरुषप्रधान समाज हो। महिलाको अनुमतिले मात्र नपुग्दो रहेछ। बुवा बितेपछि दाइ ‘घरमूली’ हुनुभयो। दसैंअघि मैले क्यामरा किनेको थिएँ। दाई लोभिँदै भन्नुभयो, ‘मलाई दिन्छेस् त?’
मैले क्यामरा दिँदै दाइको मन चोरेँ, ‘म लाङटाङ घुम्न जान ला’को दाइ।’
दाइले सोध्नुभयो, ‘कोसँग?’
‘साथीहरुसँग।’
उहाँले सोध्नुभयो, ‘को–को नि?’
मनले शान्ति पाएको थियो त्यो पल। दाईको मौन समर्थनले।
काठमाडौंदेखि चितवनसम्मको घल्च्याङघुल्चुङले दुखाएको मेरो शरीरले आराम पाइसकेको थिएन। रहरको अगाडि दुखाइको के मतलब! टीकाको भोलिपल्ट मैले लाङटाङका लागि स्कुटर स्टार्ट गरेँ। चार जनामध्ये एक जना मात्र मैले चिनेका साथी थिए। बाँकी नयाँ चिनारु।
घरवरिपरिकाले सोधे, ‘किन यति हतार?’
‘लाङटाङ घुम्न जान लाग्या।’
आफन्त र छिमेकीहरु मलाई आँटिली केटीको रुपमा चिन्छन्। (यो परिचय बनाउन मैले छुट्टै अभ्यास गरेको छु। त्यसबारे कुनैबेला छुट्टै कुरा गरौंला!) म लाङटाङ निस्केको कुरालाई लिएर उनीहरुले त्यस्तो खास प्रतिक्रिया जनाएनन्। सायद लाङटाङबारे चासो नभएर पनि हुनसक्छ।
चितवनदेखि हेटौंडा, दामन, पालुङ, नौबीसे, गल्छी हुँदै त्रिशुली, कालिकास्थान एकैदिनमा। बेलाबेला फोन आउँथ्यो, झिँजो लाग्थ्यो। यात्राको मजाका अगाडि यस्ता झिँजाहरु झिनामसिना कुरा हुन्। मैले एकैदिनमा पाँचवटा जिल्लाको यात्रा गरेको थिएँ।
रमाइलो!
एकादशीको दिन म रसुवा जिल्लाको कालिकास्थाननजिकै साथीको घरमा बास बसेँ। १० बजे हिँडेको म साँझ ८ बजे कालिकास्थान पुगेको थिएँ।
ममीले मात्र १५ पटक फोन गर्नुभएछ।
प्रश्न एउटै हुन्थ्यो, ‘कहाँ पुगिस्?’
बाँकी तीन साथी भने त्रिशुलीमै थिए। साथीको घरमा पनि प्रश्नले छोडेन, ‘को– को जाने, कहाँसम्म पुग्ने, केटा साथी कि केटी साथी?’
जवाफ दिन म निकै चलाख भइसकेको थिएँ। सुन्न थालेको वर्षौं भइसक्यो नि त!
भोलिपल्ट साथी र म खाना खाएर स्कुटरमा धुन्चे हुँदै स्याफ्रुबेसीका लागि निस्कियौं। अरु साथीहरु पनि स्कुटरमा पछिपछि आए।
उनीहरुले पनि त्यो यात्राका लागि परिवार, अफिस र समाजको अनुमति लिन धेरै कथा बुन्नु परेको थियो। साँझ खाना खाने बेला हामीले एक–अर्काको अनुभव सुनायौं। घरबाट निस्कन कसैले अफिसमा बिरामी विदा लिएको सुनाए। एउटा साथीले त घरमै ढाँटेर आएकी रहिछन्।
कालिकास्थानसम्म त स्कुटरका लागि बाटो सहज नै थियो। त्यहाँबाट उकालो लागेपछि भने विजोग! सन् २०१० मा बनेको बाटोमा केरुङदेखि आउने मालवाहक ट्रक गुड्थे। ठूला डिब्बाले पिच सडकलाई यसरी पेले, स्कुटर गुडाएको होइन, मोबाइलमा खेलेको मोटरसाइकल गेमजस्तो। उफ्री–पाफ्री!
यसबारेमा मलाई जानकारी मिलेको थियो। तर, मैले ध्यान दिएको थिइनँ। आँटैले पचाइदिएको थिएँ। सबैभन्दा कठिन कुरा त पछाडि साथी राखेर बिग्रेको बाटोमा स्कुटर कुदाउनु। निकै सकस व्यहोर्दै धुन्चे पुग्यौं।
तीहारमा देउसिरे भट्याएजस्तो हाम्रो यात्रा, ‘ए चिप्लो बाटो, ए रातो माटो, लड्दै आयौं!’
मुग्लिनको बाटो बिग्रिएकाले म हेटौंडा–नौबीसे हुँदै गल्छीको बाटो त्रिशुली गएको थिएँ। त्यो सबैको हिसाब धुन्चे यात्राले एकैपटक लिएको थियो। हात भाँचिएला जस्तो दुखेको थियो। १० बजे हिँडेको हामीले स्याफ्रुवेसी पुग्न चार घण्टा लगाएका थियौं। अनुमान गरौं त, कालको मुखबाट फुत्किँदा कस्तो अनुभव होला? धुन्चे पुग्दा त्यस्तै भएको थियो।
एक साथीले चिनेको स्याफ्रुवेसीको होटलमा स्कुटर पार्किङ गर्यौं र करिब ३ बजे लामा होटलका लागि हिँड्यौं। अघिल्लो दिनसम्म थकानले स्कुटर बाटोमै छोडेर पैदल हिँडौंजस्तो लागेको थियो। तर भोलिपल्टको हिँडाइले मलाई हिँड्ने रहर मात्र रहेछ भन्ने थाहा दियो। पैताला नै अघि नसर्ने भएछ। स्वाँस्वाँ उत्तिकै हुन्थ्यो। पाँच मिनेटमै बोसो पग्लिन सुरु भयो। चिप्लो बाटोमा हिँड्न निकै होस गर्नुपर्ने। होस नगरे लाङटाङ खोलाको पाहुना बन्नुपथ्र्यो।
३ बजे सुरु गरेको यात्रा हामीले ५ः३० बजे टुङ्ग्यायौं। लामा होटल पुग्न सकिएन। सोध्दा थाहा भयो, लामा होटल पुग्न अझै दुई घन्टाभन्दा बढी लाग्ने रहेछ। हामीले पहिरो भन्ने ठाउँको होटलमा बास माग्यौं, तर होटल त ‘प्याक’ भइसकेछ। मनले आत्तिनुको विकल्प देखेन। तर, केहीछिनमै अर्को सुखद खबर आयो, नजिकैको अर्को होटलमा कोठा खाली छ।
भुकम्पले क्षतविक्षत भएको त्यो होटलको अझै बनिसकेको थिएन। एउटै कोठामा लहरै १० जना अट्ने रहेछ। जतिखेरै चिसो हावा पस्ने झ्याल प्लास्टिकले ढाकिएका थिए।
जस्तै भए पनि हाम्रो लागि त्यही कोठामा बस्नुथियो। हिँड्ने ताकत थिएन। कोठा जस्तो भए पनि होटल मालिक छेदेन निकै फरासिला थिए।
‘च्याउ ल्याएको छ जंगलबाट त्यही पकाउँछु है’, छेदेन दाइले भने।
‘जंगली च्याउ? लौ कसरी खानु? विहान उठ्दा मरियो भने नि’, मैले आत्तिँदै सोधेँ।
‘हामीले रुखमा फलेको ल्याउने हो, चिन्ता नगर्नुस्,’ छेदेन दाइले थामथुम पारे।
आलुबाहेक नफल्ने ठाउमा प्रोटिनको राम्रो स्रोत च्याउ खान पाउनु खुसीकै कुरा थियो। बिहान एक जनाले २ वटा उसिनेको अण्डा खाएर हिँड्यौं। ती दाइले सुतेको पैसा लिएनन्।
७ बजे पहिरोबाट हिँडेपछि हामी बेम्बो, रिमिचे हुँदै लामा होटल पुगेर खाना खायौं। छेदेन दाइ हामीप्रति कति उदार रहेछन् भन्ने लामा होटलमा पुगेपछि मात्र थाहा भयो। उनले खानाको पनि निकै सस्तो लिएका रहेछन्। तर जति माथि उक्लिँदै जान्थ्यौं, मेनुमा लेखिएका खानको मूल्य देखेर तर्सिनुपथ्र्यो। सुख्खा दाल–भात र तरकारीको, ६ सय रुपैयाँ। अण्डाको २ सय रुपैयाँ, चाउचाउ सुपको ४ सय रुपैयाँ। नेपालीले खाने यही त हो!
झोरको झरना देखेर दंग परेकी मैले त्यस्ता सयौं झरना लाङटाङ यात्रामा देखें। मन प्रफुल्लित हुँदै हिँडेको दोस्रो दिन १० घण्टा हिँडेर थाङ्स्यापमा बास बस्न पुग्दा सबैभन्दा बढी खुट्टाका हड्डी दुखेका थिए।
पहिरोपछि कुनै टावर थिएन। त्यहाँ सिडिएमए फोनको नेटवर्क टिप्दो रहेछ। ममिलाई फोन गरेँ।
सुरुमै सोध्नुभयो, ‘कहाँ बस्ने हो? को–को?’
मलाई रिस उठ्यो। ‘जंगलमा बस्ने, ढुङ्गामा लुकेर।’
कुरा बुझ्नुभएछ। भन्नुभयो, ‘ल ल राम्रोसँग जा।’
तर भुकम्प आएपछि त्यहाँका मानिसले आफुलाई त्यहीँको एउटा गुफामा बसेर केही दिन सुरक्षित बनाएका रहेछन्। फिन्जो दाईसँगको कुरामा मैले थाहा पाएकी थिएँ।
होटल समिटमा बस्दा एक इजरायली परिवारसँग हाम्रो भेट भयो।
त्यहाँका प्रायः होटलले बैठक कक्षमा अत्याधुनिक मकल बनाउँदा रहेछन्। कोठा पनि तात्ने, जाडो पनि भाग्ने र लुगा पनि सुक्ने।
धुन्चेमा एक ठाउँमा बगेको पानीलाई कटाउँछु भनेर हुँइकाएको स्कुटरको अगाडिको चक्कामा एउटा ढुङ्गा परेपछि दाहिने खुट्टाले टेक्नुपरेको थियो। जसले जुत्ता र मोजा चुर्लुम्मै भिजेर लगभग घुँडासम्मै भिजेको थियो।
पछाडिको साथीलाई भने जुत्ता र मोजा खोलेर सुख्खा ठाउँमा फाल्न लगाएको थिएँ।
त्यही जुत्ता र मोजा सुकाउन त्यो मकल काम लाग्यो। इजरायली परिवार नेपालको बारेमा जान्न निकै उत्सुक थिए। उनीहरुसँग हाम्रो परिचय भयो। हामी पत्रकार भन्ने थाहा पाएपछि ५३ वर्षीय ती व्यक्तिले ठट्टा गरे, ‘हाम्रो बारेमा नि लेख्छौ?’
‘सोच्दैछु।’
ती खित्का छोडेर हाँसे।
धुन्चेदेखि ल्याएको चिसो मोजा मकलमा सुकिरहेको थियो। बिहान उठेर हेर्दा मेरो मोजा गायब। इजरायली परिवार पनि त्यहाँ थिएन। सायद, उठाउँदा उनीहरुको झोलामा पर्यो। मात्र एक जोर मोजाले त्यति लामो बाटो कसरी कटाउनु? पिर पर्यो।
बाटोमा भेटे माग्छु भन्ने सोचेँ, तर भेट भएन। किन्न खोजेको त एक जोर मोजाकै एक हजार। एक जोर मोजाले यात्रा कटाएँ।
बिहान नास्ता गरेर हामी थाङ्स्याप होटलका मालिक फिन्जो दाइसँग विदा मागेर लाङटाङ हुँदै केन्जिङ उपत्यका पुग्ने लक्ष्यले हिँड्यौं। अघिल्लो दिन उनले हामीलाई हिउँपहिरोको कथा सुनाएका थिए। मन भारी भएको थियो।
त्यहाँबाट दुई घन्टा हिँड्दा लाङटाङ पुगिन्छ भन्ने सुनेकी थिएँ। तेस्रो दिन हिँड्दासम्म ज्यानको थकाइ चरम अवस्थामा पुगेको थियो। तर भुकम्पपछि तंग्रिएको लाङटाङ हेर्ने धोकोले ज्यानको थकाइलाई मत्थर पाथ्र्यो।
बाटोभरी हामीले एक्लोपन महसुस गर्नुपरेन। आफैंसँग जिस्कँदै, विदेशी पर्यटकलाई नमस्ते भन्दै र तस्वीर खिच्दै हिँड्यौैं। तेस्रो दिन हामीसँग अलि बढी समय थियो। किनकि थाङ्स्यापबाट केन्जिङ उपत्यका जम्मा तीन घण्टाको हो रे। तर हामीले ८ घण्टा लगायौं।
लाङटाङको गाउँ पुरिएको माथिबाटै स्थानीय र पर्यटक हिँड्ने गरेका रहेछन्। हामी जति पाइला सार्छौं, त्यति पाइला नै त्यसभित्र दबिएर मृत्यु भएकाको सम्झनाले मेरो मन कटक्क खाएको थियो। त्यत्रो ठूलो हिउँ पहिरो उठाएर लास झिक्न सम्भव पनि थिएन। नयाँ ८, १० वटा घर बनेका छन्। तर भुकम्पमा परेको एउटा घर रहेछ त्यहाँ। ठूलो ढुङ्गाको कापमा छलिएर बनेको रहेछ त्यो घर।
स्थानीयले आफ्नो मान्छेका लास नभेटिए पनि घर भएको स्थान नाप्दै मृतकको सम्झनामा त्यही पहिरोमा माने बनाएका रहेछन्। त्यो विनाशकारी दिनको सम्झना गरेँ मैले। अरुले के सोचे के महसुस गरे मलाई थाहा छैन। तर एकछिन उभिएर ती सबै अन्जान मृतकलाई मैले श्रद्धान्जली दिएँ।
अनि अगाडि बढ्यौं हामी।
सबैको गति एकनास थिएन। कोही अघि, कोही पछि हुन्थ्यो।
लाङटाङको केन्जिङ उपत्यकाको २९५० मिटर उचाइमा पुग्न हाम्रा खुट्टाहरु पट्यार मान्दै थिए। तै पनि घिसार्यौं।
बाटोमा सेतो हिमाल, चौंरीगाई, घोडा, खच्चर, शेर्पा, मगर बस्तीका मानिसहरुको बोली, चिसो हावा, चिसो पानी, सेतो हिँउ, खोला अनि तीनैसँग पोज दिँदै फोटो खिच्दा समय बितेको पत्तो भएन।
केन्जिङमा सुब्बा दाइको होटलमा बास पाइयो। त्यहाँ बास बस्ने अरु नेपाली पर्यटकसँग पनि भेट भयो। चौंरीगाईको सुकुटी चुलोमाथि सुकाएका थिए। त्यो खान मन लागेन। तर चौंरीको दुध भने खायौं।
लखतरान भएकाले चाँडै सुत्यौं। राति शौचका लागि निस्कँदा त निधारमै ठोक्किनेगरी टल्किएको हिमाल।
बिहान त्यो भन्दा राम्रो, सेतो हिमालको काखमा बसेको महसुस भयो।
अब ओरालो हिँड्नुथियो। तराईमा हुर्किएकी म। उकालो चढ्न त गाह्रो छँदै थियो, ओरालो झर्नुु पनि उत्तिकै सकसको काम रहेछ। स्याफ्रुबेसी आइपुग्न दुई दिन लाग्यो।
बेम्बो आइपुग्दा बाटोछेउको बारीमा फर्सी फलेको देखेको थिएँ। मन थाम्न सकिन। लुसुक्क टिपेँ र झोलामा हालेँ, अर्गानिक खाने लोभले। तर मनमा डर पस्यो, फर्सीजस्तै देखिए पनि कतै विषालु त होइन? बीच बाटोमै फालिदिएँ। पछुतो लाग्यो।
यता, साथीहरु सोध्दैछन्, ‘मोज भयो होला है?’