विहारका पूर्व मुख्यमन्त्री एवं राष्ट्रीय जनता दलका अध्यक्ष लालुप्रसाद यादव चारा घोटाला काण्डमा दोषी ठहर भएका छन्। रांची अदालतले शनिबार फैसला सुनाउँदै लालुलाई दोषी ठहर गरेको हो।
दोषी ठहर भएसँगै उनलाई अदालत परिसरबाटै पक्राउ गरिएको छ। लालु भने फैसला आफ्नो पक्षमा आउने विश्वासका साथ शुक्रबार बिहानै राँची पुगेका थिए।
सन् १९९० देखि १९९४ को बीच देवघर कोषागार (ट्रेजरी)बाट पशुका लागि चारा बाँड्ने नाममा ८९ लाख २७ हजार भारतीय रुपैयाँ निकालिएको थियो। जतिबेला लालु विहारका मुख्यमन्त्री थिए। यसपछि सन् १९९६काे सुरूदेखि नै यस प्रकरणकाे हल्ला सुरू भएकाे थियाे।
यस मामलामा कूल ३८ जना आरोपी थिए। सीबीआईले यी सबै विरुद्ध २७ अक्टोबर १९९७ मा मुद्दा दर्ता गरेको थियो। लगभग २० वर्षपछि यो मामलामा फैसला भएको हो।यसै प्रकरणमा जोडिएका विहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रा र ध्रुव भगत भने रिहा भएका छन्।