विश्वका शक्तिशाली देशहरुको संगठन जी २०को सम्मेलनको निम्ति अमेरिकी राष्ट्रपति ट्रम्प, रूसी राष्ट्रपति पुटिनलगायत विश्वका ठूला नेताहरुको जमघट भैरहँदा एक लाखको संख्यामा उत्रिएका प्रदर्शनकारीहरुसँग हिंसात्मक झडप भएको छ ।
ब्यापारिक शहर ह्याम्बर्गमा भएको झडपमा एक जना गम्भीर घाइते भएका छन् भने २० हजार जर्मन विशेष दंगा रोक्ने प्रहरीलाई खटाइएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प कम्जरवेटिभ सरकार रहेको पोल्याण्ड हुँदै जर्मनी आइपुगेका हुन् । उनले जर्मन चान्सलर मार्केललाई भेट गरिसकेका छन् ।
मध्यपूर्व संकट, सिरिया र इरानमा रुसको बढ्दो हस्तक्षेप, युक्रेनमा रुसको सैनिक हस्तक्षेप, उत्तर कोरियाली सँकट जस्ता मुद्दाहरु उठाउने घोषणा अमेरिकी राष्टपतिले वार्सामा गरिसकेका छन् । रुसले भने यी सबै कुराहरुमा कुनै तुक नरहेको जनाएको छ । निर्वाचित भएपछि पहिलो पटक रुसी अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्टपति पुटिनलाई भेट्नेछन् । त्यसैले पनि यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।
प्रदर्शनकारीहरू संसारभरीबाट जर्मनीमा जम्मा भएका छन्। वातावरण जोगाउने सम्बन्धी उद्योगधन्दा चलाइरहेका राष्ट्रबीच भएको पेरिस क्लाइमेट सम्झौताबाट अमेरिकाले हात झिकेकोमा प्रदर्शनकारीहरु आक्रोशित छन्। धनी देशहरुले पैसा कमाउने नाममा गरिबहरुलाई तड्पाइतड्पाइ मारिरहेका छन्, उनीहरुको मनपरीको विरोध गरौँ भनेर विद्यार्थी, गैरसरकारी संस्था, राजनीतिकर्मीहरु सडकमा उत्रिएका छन्।
जी २०को सम्मेलनमा हिंसात्मक झडपहरु हुने गरेको छ किनभने धनी राष्ट्रहरुको उद्योगधन्दा र ब्यापारको नीतिले अल्पविकसित देशहरु मारमा परिरहेको, पर्यावरण ध्वस्त हुँदै गइरहेको र धनी गरिबको असमानता झन् बढेको तथ्यांकहरु वर्षेनी बाहिर आइरहेको छ। त्यस विरुद्ध विभिन्न आन्दोलनहरु चलिरहेका छन्। नीति बनाउने तहमा दबाब दिन प्रदर्शनकारीहरु सकेसम्म सशक्त देखिने गरेका छन्।
जर्मन पुलिसले लगभग ८ हजारको संख्यामा हिँसात्मक प्रदर्शनकारीहरु रहेको तथ्याँक सार्वजानिक गरेको छ । पानी फोहरा, स्प्रेले भीड तितरबितर पार्दा धेरैलाई चोटपटक लागेको थियो ।