भनिन्छ प्रेम अन्धो हुन्छ र यसलाई केहीले छेक्दैन। यस्तै एक नछेकिएको प्रेम अहिले विश्वभरी मै चर्चामा छ।
यो प्रेम हो इन्डोनेशियाका १६ वर्षीय किशोर सलामत र ७० वर्षीया वृद्धा रोहायाको।
इन्डोनेशियाको एक गाउँमा भएको यो जोडीको विवाह परम्परा र कानूनले रोक्न सकेन। इन्डोनेशियाको कानूनअनुसार विवाह गर्न पुरूषको उमेर १९ र महिलाको १६ पुग्नुपर्छ।
उनीहरूको विवाहको निर्णयलाई गाउँले र सम्बन्धित अधिकारीहरूले विरोध गरेका थिए। तर, जब किशोरले आफ्नो प्रेम नपाए आत्महत्या गर्ने धम्की दिए तब सबैले कानूनी रुपमा विवाह दर्ता नगराई विहे गर्ने मन्जुरी दिन बाध्य भए।
किशोर र वृद्धाको विवाहको भिडियो अनलाइनमा भाइरल भएपछि यो घटना सार्वजनिक भएको हो।
उमेरको सीमा नभएको यो प्रेम कसरी झांगियो त ?
स्थानीय समाचारमाध्यमले जनाएअनुसार सलामतको हेरविचार गर्ने क्रममा उनीहरू नजिकिएका थिए। मलेरियाले ग्रस्त सलामतको स्याहारसुसारमा ७० वर्षीया रोहाया लागि परेकी थिइन्।
उनीहरूको निकटता बढ्दै गयो र यसले प्रेम हुँदै विवाहको रूप लियो।
रोहायाको यो तेस्रो विवाह हो। उनका पहिलेका सम्बन्धबाट बालबच्चा पनि छन्।
विवाहमा पुरूषभन्दा महिला धेरै वर्षले सानी भएका घटनाहरू धेरै सुनिइरहेकामा यो अलि अलग छ।
बालविवाह सम्बन्धी काम गर्ने स्थानीय सामाजिक कार्यकर्ताहरूले यसलाई असाधारण मामिला मानेका छन्।
उनीहरूका अनुसार सलामतले यो विवाहको फैसला शारिरीक वा आर्थिक कारणबाट नभइ भावनात्मक कारणले गरे।
सलामत सानै छन्। रोहायाको स्याहारसुसारमा उनले प्रेम पाए। सधैं त्यो प्रेम साथ राख्न विवाह नै गर्नपर्छ भन्ने बुझाइ सलामतको भएकाले यसले त्यो सम्बन्धले विहेको रुप लिएको सामाजिक कार्यकर्ताहरूको बुझाइ छ।
गैरकानूनी यो विवाहका लागि उनीहरूलाई कारवाही हुन्छ कि हुँदैन भन्नेबारे प्रस्ट छैन। तर, सलामत र रोहायाको यो प्रेमले सबैलाई चकित बनाएको छ र यसलाई कानूनी मान्यता दिन नसकिने बताइएको छ।
(बिबिसी)