आफ्नो मातृभूमीलाई सहयोग गर्ने उद्धश्यले स्थापना भएको झापाली समाज अस्ट्रेलियाको नयाँ कार्य समिति गठन भएको छ।
झापाको शिक्षा र स्वास्थ्य तथा आपत विपतमा महत्वपूर्ण साथ निभाउँदै आएको झापाली समाज अस्ट्रेलियाले सन् २०१७-२०१९का लागि दीपक चुँडालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।
उपाध्यक्षमा उमेश पोखरेल, नेत्र पौडेल र नारायण खड्का चयन भएका छन्। कार्यसमितिको सचिवमा अशोक उप्रेती र सह सचिवमा तिर्थ खतिवडा तथा कोषाध्यक्षमा प्रबिण चौहान निर्वाचित भए।
समाजको नयाँ कार्यसमिति सदस्यमा राज कुमार गोश्वामी, नरेश उप्रेती,नवीन खनाल, सुधिर पौडेल, सागर पराजुली, नविन थपलीया, अमित श्रेष्ठ र मदन धौराली चुनिए। नव निर्वाचित पदाधिकारीहरुको स्वागतमा आयोजित कार्यक्रममा पूर्वअध्यक्ष तथा संरक्षक दीपक खनालले पछिल्लो कार्यकालमा झापाको विकास र बिस्तार तथा सिड्नीमा आयोजित कार्यक्रमको फेहरिस्त प्रस्तुत गरेका थिए।
कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष भवानीप्रसाद ओलीले एकता र सहकार्यका लागि यस्ता संस्था आवश्यक रहेको औलाउँदै नयाँ नेतृत्वले पनि झापाली बिचको एकतालाई कायम राख्नुका साथै विकास र विस्तारमा नयाँ आयाम थप्ने विश्वास ब्यक्त गरे ।
‘जन्मेको ठाउँ र हुर्केको गाउँको माया कसलाई हुँदैन र। हामीले पनि आफ्नो ठाउँ र जन्मेको गाउँलाई माया गर्ने परम्पराको सुरुआत गरेका हौ,’ अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले कार्यक्रममा समाजको स्थापना बारे यसरी प्रतिक्रिया ब्यक्त गरे।
समाजको स्थापनाले संसारमा छरिएर रहेका झापालीलाई आफ्नो गाँउ र ठाउँमा लगानी गर्न प्रोत्साहन गर्नुका साथै आपत बिपतमा जुटने वातावरणको सृजना भएको पोखरेलले बताए।
कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावासका प्रमुख अधिकृत राजेन्द्र पाण्डेले पहिले घर अनि समाज र देश बनाउने नीति अवलम्बन गर्नु खुसीको विषय रहेको बताए। ‘हामी विश्वको जुन ठाउँमा छरिएर रहे पनि आफ्नो ठाउँ र गाउँको मोह र माया भुल्न सक्तैनौं। यस्ता संस्थाहरु मार्फत जन्मभूमीको सेवा गर्नु आफैंमा महत्वपुर्ण विषय हो,’ पाण्डेले भने।
संस्थाका नव नियुक्त अध्यक्ष दिपक चुँडालले सिड्नीको ब्यस्त जीवनका बिच सामाजिक संस्थामा समय निकालेर सेवाभावमा लाग्नु चानचुने कुरा नभएको बताए। उनले यसका लागि पारिवारिक सहयोग र लगनको आवश्यकता रहेको औल्याए।
कार्यक्रममा एनआरएनका उपाध्यक्ष नन्द गुरुङ, कोषाध्यक्ष अच्युत थपलियालगायतले झापाली समाजको प्रगति र उन्नतीको लागि शुभकामना दिए।