विधीको शासन जहाँ हुन्छ त्यहाँ कानुन सबैलाई बराबरी हुन्छ। अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले निजी बोटमा लाइफ ज्याकेट नलइकन सवार गरेपछि सम्वन्धित निकायले दुई सय पचास डलरको जरिवाना गरेको छ।
सिड्नीको हार्वर साइडमा निजी डुंगामा बिना लाइफ ज्याकेट सवार गरिरहेका प्रधानमन्त्रीको फोटो सार्वजनिक भएपछि सम्वन्धित निकायले तुरुन्तै उनलाई जरिवाना गर्ने निर्णय गरेको हो ।
एनएसडब्लु समुन्द्री निकायका कार्यकारी निर्देशक एन्जस मिचेलले शुक्रबार प्रधानमन्त्रीलाई जरिवानाका लागि रसिद काटिएको जानकारी दिए।
‘प्रधानमन्त्री हिड्दा बाटो रोकिने र ज्यानमाराहरू खुलेआम हिड्ने हाम्रो नेपाली राजनीतिका नेताहरुले कमसेकम यस्ता नैतिक विषयमा चासो बढाइदिए नेपाली जनताले दुःख पाउदैनथे,’ सिड्नीका कानुन ब्यवशायी खिलेन्द्रराज तिम्सिनाले बताए।
यता प्रधानमन्त्री माल्कम टर्नबुलका प्रवक्ताले भने जरिवानाको रसिद आइपुग्ने बित्तीकै रकम भुक्तानी गरिने बताए। नयाँ वर्षको लामो छुट्टीमा समुन्द्रमा हुने दुर्घटनालाई मध्यनजर राख्दै मरिटाइमले सबैलाई लाइफज्याकेट लगाउन अनुरोध समेत गरेको छ।
प्रधानमन्त्री टर्नबुलले घरबाट आफू निकै नजिकैसम्म गएको र लाइफ ज्याकेटको जानकारी हुँदा हुँदै पनि बिर्सन गएकोमा क्षमायाचना गरेका छन्। उनले सानो तिनो असवाधानीले ज्यानै ज्यान सक्ने भएकोले समुन्द्रमा सवार जो कोहीले पनि लाइफ ज्याकेट लाउन अनुरोध समेत गरेका छन्।