अफगानिस्तानको काबुलस्थित क्यानाडा दूतावास नजिकै तालिवानको
आक्रमणमा परी डेढ़ वर्षअघि ज्यान गुमाएका १३ जना नेपाली मध्ये ११ जना मृतकका परिवारलाई गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र महासचिव डा. बद्री केसीले जनही एक लाखको चेक हस्तान्तरण गरेका छन्।
एनआरएनको परोपकारी कार्यक्रममा संघका महासचिव बद्री केसीले मृतकका परिवारहरू समक्ष समवेदना प्रकट गर्दै विदेशमा रहेका नेपालीले संकलन गरेर पठाएको सानो सहयोग प्रदान गरिएको बताए।
केसीले बाँकी रहेका २ जनाको सहयोग रकम सचिवालयमा रहेको र उनीहरू आवश्यक कागजात लिई सचिवालय आएमा रकम हस्तान्तरण गरिने जनाए।
कार्यक्रममा एनआरएनका अध्यक्ष भवन भट्टले सम्झदै कहाली लाग्ने काबुल घटनामा दिवगंत भएका गैरआवासीय नेपालीहरूका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै सहयोग रकम लिन आउनु भएकोमा हार्दिक आभार प्रकट गरे।
भट्टले वैदेशिक रोजगारमा गएका नेपालीहरुको सुःख दुःखमा एनआरएन जहिले पनि सँगसँगै रहेको र भविष्यमा पनि उनीहरूको हकहितमा कार्यरत रहने बताए। कार्यक्रममा रसियाबाट प्रतिनिधि गर्ने आईसि सदस्य डा.एकनारायण चापागाई, एनआरएन एकेडेमीका संयोजक डा. प्रमोद ढकालको पनि सहभागिता थियो।