गैर आवासीय नेपाली संघ ओसेनिया क्षेत्रले सिड्नीमा एनारएन अभियानको आगामी सोचका विषयमा एक दिने अन्तरक्रियाको गरेको छ।
अस्ट्रेलियाका एनआरएन अभियानका अभियन्ताको उपस्थितिमा सम्पन्न छलफलबाट अबका दिनमा सामूहिक लगानीको सोच र विकासको ढाँचामा परिवर्तन ल्याउन सक्नुपर्ने निष्कर्ष आएको थियो। ओसेनिया क्षेत्रमा रहेका राष्ट्रहरुमा यसको विस्तार र आगामी कार्यक्रमको दिशा निर्देशका लागि संयोजक धर्मराज अधिकारीले यस कार्यक्रमको आयोजना गरेका थिए।
अस्ट्रेलियाका एनआरएन अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पछिल्लो एनआरएन नेतृत्वमा सामुहिक भन्दा ब्यक्तीवाद हाबी भएको हुँदा देश निमार्णको सवालमा सबैले एनआरएनको संयोजनमा नया ढाँचाको सामूहिक लगानीको आवश्यकता रहेको निचोड निकालेका थिए।
एनआरए अस्ट्रेलियाका संस्थापक मध्येका एक कानुन ब्यवसायी शम्सेरसिंह थापाले पछिल्लो परिदृष्यमा ब्यक्तीवाद हावी भएको कारण एनआरएन अभियानले गति लिन नसकेको टिप्पणी गरे। यस्तै एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष ध्रुब सुबेदीले मुलुकको परिवर्तित संरचनालाई आधार बनाएर एनआरएनले सहयोगी भुमिका निवार्ह गर्नुपर्ने बताए।
यस्तै एनआरएन अभियन्ता भवानी ओलीले अग्रजहरुलाई सम्मान र वर्तमानलाई आधार बनाएर एनआरएन अभियान अगाडि बढ्नुपर्ने बताए। उनले सामुहिक लगानी र अवसरका बिषयमा एनआरएन मध्यस्थकर्ता बनेर आफ्ना सदस्यहरुलाई लगानीको लागि आकर्षित गर्न सक्नुपर्ने बताए ।
यस्तै पूर्वआइसीसी सदस्य तथा विधान कमिटी सदस्य निरज श्रेष्ठले एनआरएन भनेको नेपाल सरकार र डायस्पोरा बिचको सम्वन्ध स्थापीत गर्ने पुल भएकोले यसले आफ्नो भुमिका स्पष्ट पार्नुपर्ने बताए। यतिखेर सामुहिक लगानीका अवसरहरुको सृजना गरे लगानी गर्नेको कमी नभएकोले यसमा एनआरएनले पहल गर्नुपर्ने श्रेष्ठले सुनाए। कार्यक्रममा एनआरएन आइसीसी सदस्य दिनेशराज जोशीले एनआरएन आफैंमा समाजिक र एकताको अभियान भएकोले यसका भावनामा अगाडि बढनुपर्ने बताए। जोशीले ओसेनिया भित्र धेरै राष्ट्र नभए पनि फीजीमा एनआरएको बिस्तार गर्ने सम्भावना रहेको बताए।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका संस्थापक सदस्य इन्द्रा वन, प्रदिप ढकाल, न्यु साउथवेल्सका महाबाणिज्यदूत दिपक खड्का, पूर्व प्रवक्ता मन केसी , पूर्व ओसेनिया संयोजक महेन्द्र लम्साल, बिष्णु हमाल , आइसीसी सदस्य जानकी पौडेल , उषा किरण बारिया पोखरेल , बबीता श्रेष्ठ, पूर्व अध्यक्ष महेन्द्र ओली, एनआरएनका पूर्व उपाध्यक्ष दिनेश पोखरेल, सामाजिक अभियन्ता रमेश पाण्डे, कोमल पाठक, विजय फुयाललगायतले एनआरएनको भुमिका र यसको महत्वका विषयमा प्रकाश पारेका थिए।
कार्यक्रममा बोल्दै ओसेनिया संयोजक धर्मराज अधिकारीले पदीय जिम्मेवारी पाएपछि अबका दिनमा के केस्ता कार्यक्रम ल्याउने बिषयमा सबैको राय महत्वपूर्ण भएकोले कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताए।
लामो समय यो अभियानमा लागेका अभियन्ताहरुको अनुभव र सल्लाह आफ्ना योजनाका आधार बन्न सक्ने उनको तर्क थियो ।