हिन्दुत्व बढ्दै जाँदा प्रवासमा पनि धर्म कर्म र संकृतिको जर्गेना गर्ने परम्परा प्रारम्भ हुन लागेको छ।
नेप्लीज हिन्दु सोसाइटी अफ अस्ट्रेलियाको आयोजनामा आगामी मार्च ४ मा सीड्नीमा ५१ जना बटुकहरु समावेश गरेर सामूहिक ब्रतवन्धको धार्मीक अनुष्ठान आयोजना गर्ने भएको छ।
‘मानव जीवनको चक्रको व्यबस्थापन र हिन्दुत्वको जर्गेना अनि मन ,बचन र कर्म र बटुकहरुको सर्वागिण उन्नतीका लागि हामीले अस्ट्रेलियाको सिड्नीमा सामुहिक ब्रतवन्धको आयोजना गर्न लागेका हौ’, आयोजक हिन्दु सोसाइटीका पण्डित प्रकाश डोढारीले बताए।
अस्ट्रेलियाको सीड्नीमा यतिखेर करिब पचास हजारको हाराहारीमा नेपाली मुलका मानिसको बसोबास गरेको अनुमान गरिन्छ। यसरी नेपाली समाज बाक्लिदै गर्दा हिन्दुत्वको रक्षा र धर्म कर्म अनि रिती रिवाज मनाउने परम्परा बढेको पनि छ। ‘अहिलेसम्म चालिसको हाराहारीमा बटुकहरुको नामावली दर्ता भइसकेको छ हामीले यस पटक ५१ जनाको लक्ष्य बनाएका थियौ, संख्या बढन सक्ने देखिएको छ,’पन्डित डोढारीले सेतोपाटीलाई सुनाए।
नेपाली हिन्दु मन्दिरको अभियानमा लागेको नेप्लीज हिन्दु सोसाइटीले जनै पूर्णिमा र अन्य हिन्दु चाड बाडलाई सामुहिक रुपमा मनाउदै आएको छ । संस्कारले यो जन्म र अर्को जन्मलाई पनि पबित्र बनाउँछ भन्ने हाम्रो धार्मीक परम्परा रहदै आएको छ ।
‘यो हाम्रो उपनयनको पहिलो सामूहिक प्रयास हो ,हामीले अन्य हिन्दुत्वका कार्यक्रमहरुलाई अगाडि बढाएका थियौ, सबैले साथ दिनुभएको छ। हिन्दु धर्मालम्बीको बढ्दो जनघनत्वले यहाँ बिवाह, ब्रतवन्ध र अन्य धार्मीक अनुष्ठानहरुको महत्व बढ्न लागेको छ,’ उनले भने।