ब्रुन्स्वीक इस्ट्रन र गोर्खाली क्रिकेट क्लबले अष्ट्रेलियामा जारी फ्रेन्ड्सीप वान डे कप क्रिकेट प्रतियोगितामा विजयी सुरूवात गरेका छन्।
भिक्टोरियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा भएको पहिलो खेलमा मंगलबार इस्टर्न वेरबी टाइटन्सलाई ९९ रनले र दोस्रो खेलमा गोर्खाली क्रिकेट क्लबले सगरमाथालाई १०६ रनले हराउँदै विजयी सुरूवात गरेका हुन्।
पहिलो खेलमा इस्टर्नले निर्धारित २५ ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। जसमा मनिश अधिकारीले ३६, मन्दिप श्रेस्ठले २०, तेज क्षेत्रीले १९ रन जोडेका थिए। बलिङ तर्फ उत्सवले २ विकेट लिएका थिए।
१८० रनको लक्ष्य लिएर मैदानमा आएको वेरबी टाइटन्स ८० रनमा अल आउट हुँदा इस्टर्नले सहज जित हात पारेको हो।
वेरबी टाइटन्सका लागि बिनोदले २३ रन, शुशनले १२ रन जोडेका थिए। वेरबीलाई सस्तैमा समेट्न बलिङ तर्फ मनिष अधिकारीले सर्वाधिक ६ विकेट लिए, सुमनले ३ विकेट लिएका थिए।
उक्त खेलमा ३६ रन बनाएर ६ विकेट लिएका ब्रुन्स्वीक इस्टर्नका मनिष अधिकारी म्यान अफ दी म्याच भए।
प्रतियागिताको ओली एन्ड एशोसिय्टस मेलवर्नका निर्देशक शुसान्त ओलीले उदघाटन गरेका थिए।
हिजै भएको दोस्रो खेलमा गोर्खाली क्रिकेट क्लबले सगरमाथालाई फराकिलो अन्तरले हराएको छ।
पहिला ब्याटिङ गर्दै गार्खालीले बनाएको २३१ रनको लक्ष्य पछ्याएको सगरमाथा १२५ रनमा समेटिएको थियो।
निर्धारित २५ ओभरको खेलमा सात विकेट गुमाउँदै गोर्खालीले २ सय ३१ रन जोडेको थियो। उसका लागि प्रेम राज उप्रेतीले सतकीय पारी खेल्दै १ सय ४६ रन बनाए। निराकर बरालले १८ रन जोडेका थिए।
प्रतिउत्तरमा सगरमाथा १ सय २५ रनमा समेटिएको थियो।
प्रतियोगिता अन्तर्गत अर्को खेल गोर्खाली क्रिकेट्स क्लब र सगरमाथा रेनगेड्सबिच हुने आयोजक भिक्टोरियन क्रिकेट क्लबका अध्यक्ष तथा अन्तर्राष्ट्रिय क्रिकेटर यशवन्त सुबेदीले सेतोपाटीलाई जानकारी दिए।