चार वर्ष मात्र भयो टम हेनोक्स नेपाल छिरेको। पहिलो भ्रमणमै सुनेको नेपाल र देखेको नेपालमा फरक पाएछन् टमले। घुम्दै जाँदा नेपालीको सत्कार र सदभाव अनि हाम्रा डाँडा काँडा र खोला नाला देखेर टम तीन छक्क परेछन्।
फ्रान्सको नान्समा जन्मेर हुर्केका टमलाई नेपालले साच्चीकै मोहनी लाएछ। त्यसपछि उनी दोस्रो पटक नेपाल गए, तेस्रो पटक। वर्षेनी जाँदै आउँदै गर्दा नेपाली माटो र गाउँघरको बाटोले उनलाई उतै तान्न थालेछ। फ्रान्सेली गोरा टम तर नेपाली भाषा राम्ररी बोल्न सक्छन्।
एक फ्रेन्च बहिनीले उनलाई घुम्ने हो भने नेपाल जानू भनेर दिएको सल्लाह अनुसार उनी सन् २०१४ को मार्चमा पहिलो पटक नेपाल पुगे। घुमघाम गरे, नेपालका हिमाल, खोलानाला, बन जंगल र डाँडा काँडामा मन बस्यो। आउने जाने गरिरहे।
उनलाई नेपालको सोन्दर्यता र नेपालीको सत्कारले यति छोयो कि नेपाललाई नै कर्मथलो बनाउने निधो गरे। नुवाकोटको चौघडामा चार रोपनी जग्गा लिजमा लिएर अर्गानिक खेती सुरू गरे। आलु ,बन्दा, काउली, गोलभेडाजस्ता सिजनका तरकारी र फलफूल रोपेर गाउँबेसी गर्न थाले।
कहिले ६ महिनाको बजिनेस भिसा त कहिले तीन महिना थप्दै टम नेपालकै गामबेसीमा रमाउन थाले। एउटा घर र बारी उनका लागि नेपाल बस्ने बहाना थियो। कम्पोष्ट मल बनाउने र त्यसको प्रयोगबाट अर्गानिक खेती गर्ने उनको युरेका अर्गानिक ल्यान्ड अहिले पनि नेपालमै छ।
तर खल्ती रित्तीन थालेपछि टम केही महिनाका लागि सिड्नी आइपुगेका छन्। ट्रेडी पेशामा रमाउने टम पन्ध्र बीस लाख जम्मा पारेर फेरि नेपाल फर्कने सेतोपाटीलाई बताए।
अहिले गाउँकै दुई बहिनीहरू लक्ष्मी र कल्पनाले उनको अर्गानिक ल्यान्ड रेखदेख गरिरहेका छन्।
नेपाल र नेपाली भनेपछि हुरुक्कै हुने टम भन्छन्, ‘संसारकै राम्रो देश मध्ये एक नेपाल हो। म त फ्रान्समा जन्मिएँ तर नेपालले भिसा दिन्छ भने जिन्दगीभर नेपाल बस्न चाहन्छु।’
केही फरक टोनमा मिठो नेपाली बोल्ने टमलाई सिड्नीमा भेट्दै गर्दा उनी पैशा कमाउने जोहोमा ब्यस्त थिए। यहाँ फ्रान्सभन्दा बढि पैसा छ त्यसैले अलि बढी कमाइ हुन्छ भनेर यता आएको। स्पष्ट भाषा र भाकामा टमले नलुकाइकन मनका कुरा पोखे।
मेरो फेरि पनि उद्धेस्य भनेको नेपाल जानु हो, त्यहाँको गाउँ ,बेसी अनि हिमाल पहाडमा रमाउन जति मजा मलाई केहीमा आउँदैन। उनले १५ वर्षका लागि भाडामा जग्गा लिएका रहेछन्। तीन वर्ष भयो १२ वर्ष बाँकी छ उनलाई चौघोडामा धेरै कुरा गर्न मन छ। पैसाले साथ दिए गाउँलेको सहयोग गर्न चाहने उनले बताए।
यी फ्रान्सेली टम सँग नेपाल जानुको कुनै मिशन छैन। हाम्रो आतिथ्य र मुलुकको सोन्दर्यताले यीनलाई मोहित बनाएको मात्र हो। चौघडाबासीले टमलाई नयाँ नाम दिएका छन्- समिर।
उनलाई गाउँमा सबैले समिर भनेर बोलाइने बताए। मलाई नेपाली नाम साथीभाइ र छरछिमेकीले राखिदिएका हुन्।
सीडनीको ब्यस्त बजारमा भेटिएका टमलाई नेपालका सन्दर्भमा प्रश्न गर्दा उनी भन्छन्, ‘बाटो, सार्वजनिक यातायात र रोजगारीको अवसर राज्यले सृजना गरिदिनुपर्छ, नेपाल स्वीट्जरल्यान्डभन्दा कम हुँदैन।’
उनलाई नेपालमा मन नपरेको एउटा कुरा भनेको नेपाल बन्द रै’छ। ‘बन्द गर्ने काम कसैले गर्नुहुन्न यसले हानी मात्र गर्छ नाफा कसैलाई गर्दैन,’ उनी भन्छन्।