म त भन्छु प्रवासमा छरिएर रहेका नेपालीलाई स्वदेशको माया अझ बढी लाग्छ। हामी परदेशी वर्षौ आफ्नो भूगोलबाट टाढा रहेर सधै देशलाई ‘मिस’ गर्नेमा पर्छौ ।
कसै कसैले ‘बिदेशमा बसेर ठूला कुरा गर्ने, स्वदेशमा आएर गरे हुन्छ नि’ भन्ने खाले डाइलग पिलाउँदै गर्दा पीडा बोक्ने जमात हो प्रवासी। ‘हामी रहरले होइन बाध्यताले बिदेशिएका हौ’, भन्ने कुरोको चुरो नबुझ्नेले बेला बेलामा झस्काइरहनुहुन्छ।
अवसरको खोजीमा हिँडेका हामी अहिले पनि भूगोलमा टाढा भए पनि मनमा सबैभन्दा नजिक छौ।
तर पनि हामीलाई परदेश भन्दा देशको माया लाखौं गुणा बढी लाग्छ। हामी जहाँ जन्मियौं अनि जुन माटोमा हुर्कियौं त्यसको बेहिसाब कर्तब्य हामीले कहिले बिर्सेका छैनौं।
कहिले लालबाबुको पीआर रटाइ त कहिले बिदेशीने भनाईलाई हामीले सहजै पचाइसकेका छौ। किनभने हामी हाम्रो देशलाई प्राणभन्दा प्यारो ठान्छौ। कहिले एनआरएन भएर हामी झुल्कन्छौ तर कहिले कुनै समाजका नाममा मुलुकका कुना काप्चामा हाम्रो कर्तब्य परायण चलिरहेको हुन्छ।
मुलुक दुख्दा जुरूक्कै उठ्ने समाजका रूपमा पनि परिचित छ प्रवासी नेपाली समाज। चाहे मुलुकमा विनासकारी भूकम्प होस या बाढी पहिरो र बिनास। मुलुकका खातिर ज्यानै फालेर लाग्ने यो समाज मुलुकको गहना पनि हो।
यतिखेर मुलुक विकासको नयाँ दिशातर्फ अग्रसर छ। हाम्रो देश संसारको कुनै पनि देश भन्दा पनि कमजोर छैन। कमजोरी त विकास र विस्तारमा अनि नीति र निमार्णमा मात्रै हो। बुद्ध र सगरमाथा हाम्रै गौरव हुन् अनि गोर्खाली र नालापानी हाम्रै पौरख हो। हामीले देशलाई कहिले पुर्खाले मुलुकलाई कसैको दास बन्न दिएनन्। धेरै खाले गौरव गाथाले भरिएको देश अझै विकास निर्माण र राजनीतिक अस्थिरताले थलीएको छ।
तर पनि हाम्रा हिमाल र पहाड अनि खोला नाला र तराईका हरिया फाँटहरू हाम्रा लागि प्राणभन्दा प्यारा छन्। हामीले बिदेशमा बसेर पनि मुलुकको विकासको मुल फुटाउन सक्नुपर्छ।
यतिखेर संसारभर प्रवासी नेपाली देश चिनाउने अभियानमा जुटेका छन्। यसै सन्दर्भमा एनआरएन अस्ट्रेलिया र यहाँका नेपालीहरुले देशको विकास र बिस्तारमा महत्वपूर्ण भूमिका निवार्ह गर्दै आएका छन्। मेला महोत्सवहरू पनि देश चिनाउने उत्सवका रुपमा परिचित हुँदै छन्।
एनआरएन अस्ट्रेलियाको आयोजनामा हरेक दुई वर्षमा यहाँका महत्वपूर्ण राज्यहरुमा नेपाल महोत्सवको आयोजना गर्दै आएको छ। यस्ता महोत्सवहरू देश चिनाउने सवालमा प्रभावकारी बन्दै आएको पनि छ। यस पटक पश्चिम अस्ट्रेलियाको पर्थमा यही आउँदो मार्च ३१ तारिख ‘पर्थ महोत्सव’ आयोजना हुँदैछ। नेपालीबिचको आपसी सदभावसँगै मुलुकको कला संस्कृति र भेषभुषा अनि हाम्रो खानाको समेत उल्लेख्य प्रचार हुने यस्ता महोत्सवले मुलुकको पर्यटन प्रर्वधनमा निकै ठूलो सघाउ पुर्याउँदै आएका छन्।
वास्तवमा हामीले आयोजना गर्ने यस्ता महोत्सव र मेला देश चिनाउने खेलाको रूपमा अगाडि बढेको छ। महोत्सवमा आउने कयैन अस्ट्रेलियनले नेपालबारे जानकारी पाउने र हाम्रो कला संस्कृती र धरोहरका अवलोकन समेत गर्न पाउनेछन्।
यसैले संसारभर छरिएर रहेका प्रवासी नेपालीले मुलुकको पहिचानका निम्ति गरिने यस्ता खाले मेला, भेला वा महोत्सवमा हामी सबैले आ-आफ्नो ठाँउबाट सहयोग गर्नुपर्छ।
लेखक पश्चिम अस्ट्रेलियाका लागि नेपाल सरकारद्धारा नियुक्त पर्यटनदूत हुन्।