मेलवर्नमा जारी मैत्री क्रिकेट प्रतियोगितामा ब्रुन्सवीक क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब विजयी भएको छ।
आइतबार सम्पन्न पहिलो खेलमा ब्रुन्स्वीकले गोर्खाली क्रिकेट क्लबलाई तीन विकेटले पराजित गरेको छ भने सगरमाथा स्टार्सले वाराबी टाइटन्सलाई सात विकेटले हराएको छ।
टस जितेर ब्याटिङ राजेको गोर्खाली क्रिकेट क्लबले २५ ओभरको खेलमा सात विकेट गमाउँदै १ सय ६० रन जोडेको थियो। प्रतिउत्तरमा ब्रुन्स्वीकले २४.५ ओभरमा सात विकेट गुमाउँदै विजय लक्ष्य पुरा गरेको थियो।
सगरमाथाका लागि सुनिल थापाले ४२ रन, अनिल खनालले १७ रन र सागर पौडेलले १६ रन जोडेका थिए।
बलिङमा ब्रुन्स्वीकका रोशन पौडेलले तीन विकेट हात पारेका थिए। ब्रुन्स्वीकका लागि भने उत्सव देवानले ४६ रन ,रोशन पौडेलले २८ रन तथा अन्जन राइले १९ रन बनाएका थिए। ब्रुन्स्वीकको रोशन पौडेल म्यान अफ दी म्याच चुनिए ।
दोस्रो खेलमा टस हारेर ब्याटिङ पाएको वारावी टाइटान्सले २५ ओभरमा पाँच खेलाडी गुमाउँदै १ सय ६५ रन बनाएको थियो। वाराबी टाइटान्सका अविनास पौडेलले ६४ रन र बिनोद खत्रीले ५८ रन जोडेका थिए। १ सय ६६ रनको विजय लक्ष्य लिएर मैदान ओर्लेको सगरमाथाले बिष्फोटक ब्याटिङ गर्दै १८ ओभरमा तीन विकेट गमुाउँदै विजय हात पारेको थियो।
सगरमाथाको जितमा सन्दिप न्यौपानेले ६६ रन, सुरज थापाले अविजित ४९ रन र कुशल तुलाधरले २४ रन जोडेका थिए।
यस खेलमा सगरमाथा स्टार्सका सुदिप न्यौपाने म्यान अफ दी म्याच घोषित भए।
भिक्टोरियन नेप्लीज क्रिकेट एशोसियसनको आयोजनामा जारी प्रतियोगितामा मेलवर्नका सबै नेपाली क्रिकेट टोलीको सहभागिता छ।
क्रिकेटमा देखिएका नयाँ प्रतिभाहरुलाई प्रष्फुटन गर्ने र आपसी भाइचारा कायम गर्ने प्रतियोगिताको मुल उद्धेस्य रहेको आयोजक संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय क्रिकेटर यशवन्त सुबेदीले बताए।