अस्ट्रेलियन शैक्षिक परामर्शदाताको छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सलटेन्ट एलाइन्स (एका) को आयोजनामा आगामी अप्रिल २० मा सिड्नीमा आयोजना हुने एक दिने ‘एका एजुकेशन एन्ड माइग्रेशन इन्फरमेशन फेयर २०१८’ को तयारी पुरा भएको आयोजकहले जनाएको छ ।
सिड्नीमा आयोजित कार्यक्रममा एकाका अध्यक्ष निरज श्रेष्ठले ब्यापार र सामाजिक दायित्व फरक-फरक पाटा भएकाले विद्यार्थीका हितका लागि यो एक दिने शैक्षिक मेला आयोजना गर्न लागिएको र यसका लागि सम्पूर्ण तयारी समेत पुरा भैसकेको जानकारी दिए।
श्रेष्ठले हरेक वर्ष परिवर्तन हुने शैक्षिक नीति र अध्यागमन कानुनका विषयमा जानकारी दिने र विद्यार्थीको हितमा राखेर आयोजना गर्न लागिएको यो मेलामा बिभिन्न निकायका जानकारीमुलुक स्टलहरु रहने बताए।
एकाका उपाध्यक्ष भुपाल सिटौलाले शैक्षिक परामर्श पर्वधन मेलाको मुख्य ध्येय रहे पनि विद्यार्थीका साझा समस्याको पहिचान र त्यसको समाधानका लागि संघले यस्ता मेला महत्वपूर्ण रहने बताए।
यतिखेर अस्ट्रेलियामा पढन आउने नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढेको छ, अस्ट्रेलियामा पढ्न आउने बिदेशी विद्यार्थीको वरियतामा नेपाल तेस्रो ठूलो राष्ट्र हो। गरिब देश भए पनि नेपाली विद्यार्थीले अस्ट्रेलियाको शैक्षिक उद्योगमा ठूलो लगानी गरेका छन्। यसले पनि यहाँ रहेका शैक्षिक निकायहरुको विद्यार्थीप्रति दायित्व बढेर गएको छ।
सिड्नीको टाउनहलस्थीत रिज होटलमा आयोजना हुने एक दिने शैक्षिक मेलामा परामर्श केन्द्र, विश्वबिद्यालय र बिमाजस्ता विषयका स्टलहरु रहने उपाध्यक्ष सीटौलाले जानकारी दिए।
‘परामर्शदाताको छाता संगठन भएकोले हाम्रो जिम्मेबारी अरु भन्दा बढी हुने भएकोले नेपालबाट आएका विद्यार्थीलाई सही सूचना र आगामी भबिष्यका बिषयमा उचित सल्लाह दिने यस मेलाको लक्ष्य हो,’ संघका कोषाध्यक्ष शुभांसु साहले भने।