अस्ट्रेलियामा राष्ट्रवादी पार्टी भनेर आफूलाई चिनाउँदै आएको ‘वन नेशन पार्टी’की सिनेटर तथा नेतृ पाउलिन ह्यान्सनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम दिन नहुने बताएपछि नेपाली युवा तथा काउन्सिल अफ इन्टरनेशल स्टुडेन्ट अस्ट्रेलियाका अध्यक्ष विजय सापकोटा खुलेरै बिरोधमा लागेका छन्।
विगतमा पनि राष्ट्रवादी नाममा बिभिन्न वक्तब्यबाजी गरेर चर्चामा आएकी सिनेटर पाउलिन ह्यान्सनले आइतबार मात्र एउटा कार्यक्रममा अन्तर्राष्ट्रिय विद्यार्थीले काम गरेका कारण कयैन अस्ट्रेलियनको रोजगारी खोसिएको भन्दै उनिहरुलाई काम गर्ने अधिकार दिन नहुने बताएकी थिइन्।
‘हरेक वर्ष करिब पाँच लाख अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने अस्ट्रेलियामा सरकारलाई साथ दिइरहेको वन नेशन पार्टीकी सिनेटरले यस्तो बक्तब्य सार्वजनिक गर्दा हामीले टुलुटुलु हेरेर बस्ने कुरा नै भएन,’ विजयले सेतोपाटीसँग भने।
विजयले यहाँका राष्ट्रियस्तरका पत्रिका र रेडियोमा अन्तर्वार्ता दिदै सिनेटरको सन्काहापनले अष्ट्रेलियाको स्वच्छ पहिचानमा दाग लाग्न सक्ने बताएका छन्।
उनले अस्ट्रेलियाको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको शैक्षिक उद्योग र त्यससँग जोडिएको पर्यटनले दिगो विकासमा पुर्याएको योगदान सिनेटर ह्यान्सनले विर्सिएको आरोप लगाएका छन्। विजयले अन्तर्राष्ट्रिय विद्यार्थीबाट अस्ट्रेलियन शैक्षिक प्रतिष्ठानले २७ बिलियन डलरको कारोबार गरिरहेको सन्दर्भलाई जोडेर सिनेटरको सन्काहापनले यहाँको उद्योगमा प्रभाव पर्न सक्ने चेतावनी समेत दिए।
करिब ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थीको संगठनका केन्द्रिय अध्यक्ष रहेका चितवनका विजय सापकोटाले सिनेटर ह्यान्सनको कमजोर मानसिकताले अन्तर्राष्ट्रिय विद्यार्थीमा तनाब बढे पनि सरकार यस विषयमा गम्भीर रहेको बताएका छन्।
सापकोटा अस्ट्रेलियाको शैक्षिक नीति तथा कार्यक्रममा समेत अन्तराष्ट्रिय विद्यार्थीकोतर्फबाट सरकारमा प्रतिनिधि हुन्।
शिक्षा मन्त्री र अस्ट्रेलियन प्रधानमन्त्रीको समितिमा सदस्यसमेत रहेका सापकोटाले अस्ट्रेलियन शिक्षा नीतिमा यहाँ पढेका विद्यार्थीलाई रोजगारीको अवसर दिने कुरामा थप जोड दिनुपर्ने बताए। ‘यहाँका कयैन क्षेत्र जस्तै हस्पीट्यालीटी, नर्सिङ अनि क्लीनीङ अन्तर्राष्ट्रिय विद्यार्थीले चलाइदिएका छन्, सिनेटर ह्यान्सनलाई यस्तो विषयको गहिरो जानकारी नभएको हुनसक्छ’, सापकोटाले भने।
सिनेटर ह्यान्सनले भर्खरै मात्र बिदेशी नागरिकलाई पीआर लिए पनि नागरिकता लिन कम्तीमा आठ वर्ष कुर्नुपर्ने कानुन बनाउन सरकारसँग माग गरेकी थिइन्।
निकै विवादमा रहने ह्यान्सनको यो अभिब्यक्तिमाथि अस्ट्रेलियामा खुलेर बिरोध सुरू भएको छ। त्यसको अगुवाइ भने नेपाली ठिटो विजय सापकोटाले गरेका छन्।