भिसा र पासपोर्टमै सिमित हुने हो भने राज्यले वर्षेनी करौडौं खर्च गरेर राजदूतावास खोल्नुको कुनै औचित्य रहँदैन। त्यस देश र क्षेत्राअधिकार भित्र रहेका नेपाली नागरिकको हित र आपत बिपतमा तुरून्तै पहल कदमीका लागि राज्यले बिभिन्न मुलुकमा राजदूतावास स्थापना गरेको हो।
देशको विकास र बिस्तार अनि दुई देशबिचको आपसी सम्वन्धलाई प्रगाढ बनाउनुका साथसाथै नेपाली मुलका बिदेशीलाई देशको हितमा लगाउने कार्य पनि राजदूतावासको हो।
मुलुकको पहिचान उजिल्याउने सवालमा राजदूतावास नभएका देशमा पनि गैर आवासीय नेपाली संघ र अन्य संस्थाहरुले सहयोग गर्दै आएका छन्। अझ राजदूतावास भएको देशमा यसका जिम्मेबारी अझ धेरै हुन्छ।
करिब एक लाख नेपाली बस्ने अस्ट्रेलियामा नेपालले राजदूतावास खोलेको छ। पछिल्लो सरकारी प्रतिबेदन अनुसार अस्ट्रेलियामा तीस हजार नेपाली विद्यार्थी बिभिन्न निकायमा अध्यनरत छन्।
पासपोर्ट र भिसासँगै यसले बिभिन्न तह र तप्कामा आफ्नो भूमिका निर्वाह गरे पनि विद्यार्थीको सवालमा भने केही गर्न सकेको छैन। उच्च अध्ययनको आकर्षक केन्द्र अष्ट्रेलियामा नेपाली विद्यार्थीको घुइँचो दिनानुदिन बढीरहेको छ। नेपाली समाज यसरी फराकिलो बन्दै गर्दा समस्याहरु पनि बढ्न थालेका छन्।
नुबझिकन बिदेशिने र गलत बुझाइमा परेर दुःख पाउनेको संख्या यतिखेर अस्ट्रेलियामा प्रसस्तै छ। काम कोठादेखि अचाक्ली शैक्षिक शुल्कले बढ्दै गरेको मानसिक समस्याले विद्यार्थीलाई दुर्ब्येसनीतिर धकेलेको उदाहरण प्रसस्तै भेटिन्छ।
सन् १९६० देखि कुटनीतिक सम्वन्ध स्थापना भएको नेपालले अष्ट्रेलियन राजधानी क्यानबेरामा सन् २००७ को मार्चमा दुतावास खोलेको हो।
प्रवासको विश्वासिलो साझेदार संस्था बनेको एनआरएनले यस्ता कतिपय विषयमा आफूलाई स्थापित गरेको छ। दूतावास नखोल्दादेखिनै विद्यार्थीको सवालमा एनआरएनले धेरै सहयोग गरिरहेको छ।
दूतावास स्थापनासँगै अस्ट्रेलियामा बस्ने नेपालीले मुलुकसँग प्रत्यक्ष जोडिएको अनुभव गरेका थिए। त्यतिबेला सानो समुदायमा सिमित दूतावास यतिखेर लाखौ नेपालीको आशाको केन्द्रबिन्दु बनेको छ।
अहिले अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई काम र कोठाका समस्या मात्र हैनन्, कथा र ब्यथाका फेहरिस्त पनि सुनिन थालेका छन्। दूतावासको प्राथमिकतामा स्थापित नेपाली समुदाय भन्दा पीडामा परेका विद्यार्थी पहिलो हुनुपर्छ। विद्यार्थीका समस्या र गुनासालाई दूतावासले नजिकबाट नियाल्न सक्नुपर्छ।
उनीहरूको पीडामा मलम लगाउन सकेमात्र दूतावास हाम्रो अनि राम्रो दूतावास बन्ने छ। सिड्नीको अर्वनस्थित हस्पिटलमा आर्थिक अभावमा छटपटाइरहेका समिर शाहको आशाको केन्द्र बन्नुपर्छ।
अकालमा मृत्युवरण गरेका ब्राजिल गुरुङहरुको अधिकारमा लडिदिने बलियो काँध बन्नुपर्छ दूतावास। देशको दूतले राज्य हाक्न सक्नुपर्छ, लुगा होस् या पहिरन, देश बोक्ने हुनुपर्छ। सानो घेरा र क्षेत्रीयतामा गम्ने होइन, देशको फराकिलो नाममा रम्ने हुनुपर्छ।
अप्ठ्यारो पर्दा राजदूतावास नेपालीका लागि तुरुन्तै पुग्नुपर्दछ। राज्यले करौडौं खर्च गरेर स्थापना गरेको दूतावास अनि गाडी घोडा ब्यक्तीगत हित भन्दा देश र मुलुकको जितमा लगानी हुनुपर्छ। बस हामीले रोजेको दुतावाससँग खोजेको यति मात्रै हो।