अस्ट्रेलियामा नेपाली समाज फैलिदै जाँदा यसले हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ।
प्राविधिक जनशक्तिको सवाल होस या ब्यापार अनि ब्यवशाय, नेपालीहरु मैदानमा भिडेकै छन् र सफलताको पाएकै छन्।
डाक्टर, इन्जिनियर तथा आइटी र एकाउन्टीङमा मात्रै नभइ पछिल्लो समय शैक्षिक ब्यवसायमा समेत नेपालीको उल्लेख्य भूमिका देखिदै आएको छ।
यसै क्रममा सिड्नीमा एउटा नयाँ शैक्षिक प्रतिष्ठानको जन्म भएको छ।
युवा ब्यवसायीहरू भीम खरेल र राज खनालको संयुक्त प्रयासमा सिड्नीको सेन्ट्रल नजिकै किङ्सफोर्ड कलेजको स्थापना भएको छ ।
अस्ट्रेलिया सरकारको मान्यता प्राप्त किङ्सफोड कलेज शुक्रबारदेखि औपचारिक रुपमा सन्चालनमा आएको हो। न्यू साउथवेल्सका महाबाणिज्यदूत दिपक खड्काले एक समारोहबिच कलेजको रिबन काटेर उद्घाटन गरे। खड्काले अस्ट्रेलिया जस्तो विकसित देशमा आएर नेपाली युवाहरुले शैक्षिक प्रतिष्ठान सुरु गनु निकै खुसीको बिषय भएको भन्दै सफलताको कामना गरे।
खड्काले नेपाली समाज बिस्तार हुँदै गर्दा यसले सकरात्मक सन्देशको पनि थालनी गरेको सुनाए। उद्घाटन कार्यक्रममै नेपाली समाजकी अगुवा इन्द्रा वनले यहाँको हरेक क्षेत्रमा नेपालीको सहभागिता रहनु महत्वपूर्ण विषय रहेको बताइन्।
डिप्लोमा इन बिजनेश, प्रोजेक्ट मेनेजमेन्ट, डिप्लोमा अफ इन्फरमेशन टेक्नोलोजी र एडभान्स डिप्लोमा अफ इन्फरमेशन टेक्नोलोजी प्राजेक्ट मेनेजमेन्ट लगायतका कोर्षहरु रहेको कलेजका बजार ब्यबस्थापक प्रकाश खरेलले बताए।
आइटीमा काम गर्दै आएका भिम खरेल र हस्पीट्यालीटीमा नाम कमाएका राज खनालबिचको जोडीले सञ्चालनमा ल्याएको कलेज निकै आकर्षक छ। ‘हामीले शिक्षासँगै शैक्षिक वातावरणलाई पनि ध्यान दिने प्रयास गरेका छौं,’खरेलले भने,‘कलेजको वातावरण र आवरणले पनि यसको शिक्षामा प्रभाव पार्ने कुरालाई बिर्सन हुन्न।’
हस्पीट्यालीटी उद्योगमा चिनिएका युवा उद्यमी राज खनालले सेवा भावमा गरिने शैक्षिक क्षेत्रमा लगानी गर्न पाँउदा उत्साहीत भएको बताए। उनले शैक्षिक उद्योग आफैंमा महत्वपूर्ण र गम्भीर विषय भएकोले यसमा चुनौतीहरू पनि उत्तिकै रहेको सुनाए।
कार्यक्रममा सिडनीका नेपाली समुदायका अग्रजहरु तथा शैक्षिक परामर्शदाताहरुको उल्लेख्य सहभागिता थियो।