अस्ट्रेलियाको सिड्नीमा अवस्थित समुन्द्री तटीय क्षेत्र क्रोनलामा बुधबार भेटिएको एक युवतीको लाशको सनाखत भएको छ।
उक्त लाश २६ वर्षीया नेपाली युवतीको भएको सिड्नी पुलिसले पुष्टी गरेको हो।
प्रहरीले बिहान पाँंच बजे नर्थ क्रोनला बिचमा पूर्ण पहिरनमा दक्षिण एशियाली मुलुकी युवतीको लाश भेटेपछि उनको बारेमा खोजी तीव्र गरेको थियो।
उनको मृत्यु शंकास्पद नदेखिएको प्रहरी प्रतिवेदनमा उल्लेख गरे पनि समुन्द्रीतटमा पूर्ण पहिरनमा लाश भेटिनु केही अलग देखिएको छ।
प्रहरीले उनको पारिवारिक अनुमति बिना नाम भने सार्वजनिक गरेको छैन। लाश भेटिएपछि त्यसको छानविनमा लागेको प्रहरीले मृतक युवतीलाई चिन्ने जान्ने साथी र उनको दैनिकी बारेमा सोधखोजमा लागेको छ।
सिड्नी प्रहरीले मृतक युवतीका बारेमा चिन्ने जान्नेहरूले सहयोग गर्न समेत आह्वान गरेको छ। क्रोनला सिड्नीको पर्यटकीय क्षेत्र रहेको र त्यसवरपर रहेका कैयौं रेष्टुरेन्टहरूमा सयौं नेपाली विद्यार्थीहरू कार्यरत रहेका छन्।
रकडेल, कोग्राह र हर्षभिलेजजस्ता बाक्लो नेपाली बस्ती भएको स्थानबाट पायक पर्ने सो समुन्द्रीतटमा भेटिएको लाश नेपालीको पहिचान भए पनि पूर्ण जानकारी नआउँंदा आवासीय नेपाली नभइ विद्यार्थीको हुनसक्ने अनुमान गरिएको छ।