अहिले नयाँ जिवन पाएकी छन सज्जाले। र भर्खरै नयाँ सुख पनि जन्माएकी छिन। भन्छन् नी 'छोरी मान्छेको ठूलो सुख भनेकै सन्तान हुन।' तर यहि सन्तानको सुख दिने केटोले यसरी चटक्क भागेर जाला र आफुले परदेशमा यति धेरै संघर्ष गर्न पर्ला भनेर उनले सपनामा पनि सोचेकी थिइनन् उनले।
४ महिना अगाडी जस्तो लाग्छ। एक दिन जानकी दिदिले सुनाइन 'सज्जाको लोग्नेले उसलाई छोडेर भागे छ। यति मात्र हो र, गर्भवती भएकी स्वास्नीको भिसा र मेडिकल इन्स्योरेन्स समेत क्यान्सील गरेर भाग्यो रे।'
मलाई जानकी दिदिले यो समाचार सुनाए देखि मनमा कुनै दिन शान्ति भएन। आमा, बा, दिदी, बहिनी परिवार सबै छोडेर डिपेन्डेन्ट भएर आएकी केटी। केटोलाई विश्वास गरी। बिहा भयो। बिहा गरेपछि बच्चा पनि जन्मिन्छ। यो संसारको सत्य नियम हो। स्वास्नी बच्चा पाउने भएपछि लोग्नेले उनको भिसा, इन्स्योर्न्स समेत क्यान्सिल गरेर कसरी भाग्न सक्यो होला भन्ने कुराले मलाइ महिनौ छटपटी भइरह्यो।
दुई जिउकी श्रीमतीलाई परदेश अलपत्र छोडेर हिँडने त्यो मान्छे सम्झदा मलाई पुरुषहरु प्रति माया कम र दया बढी लाग्न थाल्यो।
आइतबार मेरो बिदाको दिन। यो प्रवासमा बिदाको दिन केहि न केहि मिटीङ पारी हाल्छन। अघिल्लो साता नै 'आइतवार एन आर एनए अस्ट्रेलिया एन् एस्डब्लुको मीटिङ छ है' भन्ने खवर पठाएका थिए। मेरा बढ्दै गरेका छोरीहरुले हिँड्न खान दिदैनन्। 'आज आउन पाइन, माफ पाउँ' भनेर फोन राखेको एक छिनमा जानकी दिदिको म्यासेज देखे।
जानकी दिदीसँगको कुरा सधै सज्जाको विषयमा गएर टुङ्गिन्छ। म्यासेज अर्जेन्ट थियो। विषय पनि उहि सज्जाकै थियो।
मैले तत्कालै फोन गरे। 'सज्जाले मेसेज गरेकी थिई। अहिले मरीकाटे फोन उठ्दैन। अलि गार्हो भयो जस्तो छ। सज्जा सँगै बस्ने रूममेट नेपाल गएको जानकारी राखेकी थिइन जानकी दिदीले।
'दिदी नआत्तीनु, म निस्किहाल्छु।'
म जानकी दिदी भएतिर दौडिए। बाटोमा को को सँग ठोकिदै हिँडे पत्तो भएन। बाटोभरी मेरो अनुहार सज्जाको सुत्केरी अनुहारले छोप्यो। एक त विदेश। त्यसमाथी प्रशव पिडा। कोठामा एक्लै। त्यसमाथि भिसा र इन्स्योरेन्स सबै क्यान्सील छ।
म पुग्दा जानकी दिदी कोठमा पुगिसकेकी थिइन। सज्जाको अनुहार, कोठा देखेर मैले हिक्का छोडेर रुन मात्र सकिन। पछाडी फर्किएर सप्कोले आँखा पुछे। बेथा लागेको थियो त्यसैले एक्लै कहि जान हिक्मत आएन छ। खानेकुरा दिने कोही थिएन। रुँदारुदै उनका आँखा सुनिएका थिए। सुत्केरी बेथा लागेर जीउ लतक्क गलेको थियो। सज्जाले दविएको स्वरमा भनिन 'दिदी तपाईंहरु आज पनि नआएको भए मैले बाँच्ने हिम्मत हारी सकेकी थिएँ।'
ट्याक्सीमा आरपिए हस्पिटलको ढोकामा पुगेपछि मैले लामो स्वास फेरे र फेरी उहि भागेर हिँडेको लोग्ने मान्छेको अनुहारले आँखा छोप्यो।
सज्जालाई डेलिभरी शुट्मा लिएको केहि छिन पछि मिड वाइफले बाहिर आएर हामीलाई सुनाए 'समयमै ल्याउनु भयो राम्रो भयो।' अब हामीहरु घर फर्के हुन्छ भन्ने बेला सम्म रातको ९ बजिसकेको थियो। 'फेरी भोलि आउँछौ है सज्जा' भन्दै गर्दा उनले आँखावाट आँशु बगाइन। हामी घर फर्क्यो। मलाई रातभरी मनमा शान्ति भएन। टाउको भारी भैरह्यो।
बिहानै मोबाईलमा सज्जाको मेसेज देखे।
'दिदी चिन्ता नलिनु, म बिहान ४ बजे म आमा भएँ।'
मनमा फेरी उहि लोग्ने मान्छेको आकृती आयो। अब यो खुशी सज्जाको मात्र भयो। त्यो लोग्ने मान्छेको भएन जसले दुईजिउकी स्वास्नीको भिषा, इन्स्योरेन्स सबै बन्द गरेर भाग्यो।
पुरुष यस्तो कसरी हुन सक्लान? भन्ने शंकालाई नियन्त्रण गर्नै सक्दिन म। यदि यसो हुँदैन थियो भने दुई जिउको श्रीमतीलाई प्रदेशमा सडकमा छोडेर बिचल्ली बनाउने? थोरै भए पनि मानवता हुँदो हो त सज्जाको प्रसव पिडाको समय एक्लै रुँदै काट्न पर्ने थिएन।
श्रीमान,श्रीमती एक रथका दुई पाङ्रा हुन। यो समाजमा यस्ता पुरुष पनी छ्न जसले नारीलाई धर्तीको उपमा दिएका छन्। श्रीमतीलाई आमाको दर्जा दिएका छन्। र ती पुरुषहरुलाई मेरो मेरो अथाह प्रेम।
अष्ट्रेलियामा हरेक ३ महिलामा एक महिला घरेलु हिसांबाट पिडित हुने गरेको तथ्यांक छ। यस्तै २०१६ मा एन आर एन अष्ट्रेलियाले गरेको सर्बेले नेपाली महिला घरेलु हिसांबाट पीडित रहेको तथ्यांक सार्वजनिक गरेको थियो। नेपाली समुदाय पनि यो भन्दा बाहिर छैन।
(सज्जा परिवर्तित नाम हो)