म त्यतिखेर बेलायतमा पढ्दै थिएँ, सगरमाथा आरोहणको स्वर्ण जयन्तीको अवसरमा कान्तिपुर दैनिकले बिशेषाङ्क निकाल्ने तयारी गरेछ, टिमले मलाई लण्डनबाट लेख्न भनियो।
सोही अंकमा रोल्वालिङबाट राजेन्द्र मानन्धर, जिरीबाट ईश्वर न्यौपाने, बनेपाबाट खगेन्द्र भण्डारी, डा. हर्क गुरूङ, बिष्णु प्रताप शाहसँगै न्युयोर्कबाट अखिलेश उपाध्यायले लेख्दै थिए।
के लेख्ने भनी सोच्दै थिएँ। सगरमाथा आरोहणको पहिलो समाचार पठाउने टाइम्सको पत्रकार जेम्स मोरिसलाई भेट्ने विचार आयो। कर्नेल हन्टको टिममा भएका जोर्ज लावीसँग फोनमा कुरा भयो – उनीसँग जेम्स मोरीससँग कसरी भेट्ने मैले सोधेँ। उनले छक्क पर्दै ‘तिमीलाई थाहा छैन, जेम्स इज नो लङगर हिम।’ उनी अहिले जेन मोरीसको नाउ‘ले चिनिन्छिन् र सायद उनी यहाँ छैनन्।
आजभन्दा करीब ६४ वर्ष पहिले मोरीसले कुनै उपन्यासमा झै सगरमाथा बिजयको पहिलो समाचार संम्प्रेशण यसरी गरेका थिए-
सन् १९५३ मा जसरी रोयल जोग्राफिकल सोसाइटी, अल्पाइन क्लब र माउण्ट एभरेस्ट फाउन्डेसन संसारको अग्लो उचाइमा मानव पुर्याउने सपना बन्दै थिए, ठीक त्यतिखेर नै अंग्रजी पत्रिका ‘द टाइम्स’ पनि उक्त आरोहण दलको सफलता वा असफलताको समाचार संसारलाई सुनाउने सपना देख्दै थियो। टाइम्स पनि आरोहण दलको स्पोन्सर भयो।
अत्यासिँदो दुर्गम क्षेत्रमा रहेको सगरमाथाको समाचार कसरी जगतलाई सुनाउने यो ठूलो चुनौती थियो, त्यही पनि समयमै र सबैभन्दा पहिले। भर्खरै मात्र विदेशीको लागि खुला गरिएको नेपाली आकाशमा त्यतिखेर सञ्चार विकासको त्यान्द्रो पनि थिएन।
सगरमाथाबाट करिब (अप्ठ्यारो बाटोको) १८० माइल टाढा फोन उपलब्ध थियो। तर, केही गरिछाड्ने अठोट लिएर ‘फरेन डेस्क’ ले पत्रकार जेम्स मोरिसलाई उक्त कामको जिम्मा दिएको थियो।
मोरीस नेपाल उड्नुअघि कार्यलयमा भएको बैठकमा कसैले ‘चरा मार्फत’ त कसैले ‘धुनी जगाएर’ त कसैले ‘बन्द बोतलमा समाचार राखी नदीमा खसाउने र पछि एर बटुल्न सकिने’ जस्ता उपाय पनि बताएका थिए ।
बेलायती आरोहण दल नेपालतर्फ लागेपछि जेम्स पनि मार्च महिनामा त्यसतर्फ लाग्छन्। तर नेपाल पुगेपछि हिमाली भेगमा बसोबास गर्ने शेर्पालाई नै समाचार दिएर दौडाउनु उत्तम र भरपर्दौ उपाय रहेको महसुस गर्छन्। त्यतिखेर ‘डेलिमेल’ र ‘टेलिग्राफ’ का पत्रकार पनि काठमाडौं पुग्छन्। रोयटर्स समाचार एजेन्सी लगायतका थुप्रै भारतीय पत्रकार त्यतिखेर राजधानी पुगेका थिए। संसारका अखबारहरु सगरमाथामा मानव विजयको खबर पुर्याउन आतुर थिए।
मोरिस स्लिपिङ ब्याग, रेडियो, दुई वाकिटकी सेट (जुन माथिल्लो क्याम्पमा पुगेका आरोहीसँग कुरा गर्न सकिने), एउटा क्यामरा, र एउटा टाइपराइटर, केही किताब र तीन बोरा नेपाली पैसा बोकी सगरमाथा आधार शिविर हिड्छन्। नाम्चे पुग्न करिब पन्ध्र दिन लाग्छ। त्यसबीच उनले केही अन्य तगडा शेर्पा भरियाहरू समाचार ओसार–पसारमा भर्ती गर्छन्। उनले बाटोमा ब्रिटिस सगरमाथा आरोहण दलका नेता कर्नेल जोन हन्टका भरियाहरू राजधानी फर्कदै भेट्दा उनीहरुको साथमा घर र टाइम्स कार्यालयमा केही टिपोटहरु पनि पठाउँछन्।
शेर्पाहरुको राजधानी नाम्चे पुग्दा उनले ‘रेडियो लिङ्क’ भेट्टाउँछन् जसमा एकजना भारतीय बस्थे। समाचार पठाउने बाटो पाएर त उनी खुशी हुन्छन् तर आरोहणको अन्तिम खबर भने त्यहाँबाट नपठाउने विचार गर्छन्। कारण आफ्नो अखबारमा पुग्नुभन्दा अघि नै त्यो समाचार चुहिने सम्भावना थियो।
काठमाडौंमा अरू पत्रकारहरु पनि कान ठाडो बनाएर बसेका थिए। त्यसै क्रममा रोयटर्सका पीटर ज्याक्सन पनि खुम्बु पुगिसकेका हुन्छन्।
समाचार सम्प्रेशणका लागि उनी अनौठो उपाय सुझाउँछन्। अन्तिम खबर पठाउन उनले बिभिन्न ‘कोड’ बनाउँछन् र काठमाडौं र दिल्लीमा बसेका टाइम्सका पत्रकारहरुलाई खुसुक्कै पठाउँछन्।
उनले सगरमाथा सफलता र असफलतालाई भिन्नाभिन्नै कोड दिन्छन् र हरेक आरोहण दलका सदस्यलाई पनि भिन्दाभिन्दै नाउँ दिन्छन्। उनले यस्ता नाउँहरू दिन्छन् जसले साधारण समाचार दिएको जस्तो भान पार्छ र कतै नाम्चेबाट टिपोट पठाउने त्यस भारतीयले पनि कुरा बुझिन भनेर काम नरोकिदियोस्।
त्यसअनुसार ‘हिउँको स्थिति खराब’ अर्थात सगरमाथा विजय। ‘अघिल्लो आधार छोडियो’ अर्थात हिलारी शिखरमा। ‘सुधारका लागि पर्खिरहेको’ अर्थात तेन्जिङ शिखरमा।
बिस्तारै उनी आफ्ना भरियाहरु लिएर सगरमाथा आधार शिविर पुग्छन्। आरोहण दलका केही सदस्य त्यही भेट्छन् तर कर्नेल हन्ट, हिलारी, तेन्जिङ भने माथिल्लो शिविर पुगिसकेका हुन्छन्।
दशदेखि बाह्र दिनभित्र त्यहाँबाट समाचार काठमाडौं पुर्याउँदा पुर्याउँदा करिब १० पाउण्ड जति उनी भरियालाई तिरिसक्छन्। कसैले त्योभन्दा कम्ती दिनमा पुर्यायो भने थप ५ वा १० पाउण्ड दिने भन्छन्। फलस्वरुप पछिल्लो दिनमा उनका समाचारहरू काठमाडौंमा अचम्म ढंगले ६ दिनमै पुग्न थाल्छन्।
केही साता बितेपछि उनी आधार शिविरमाथिको खुम्बु आइसफल छिचोल्दै माथिल्ला शिविर तर्फ उक्लन्छन्। उनलाई दलका शेर्पा र अरू आरोही सदस्याले तान्दै, समात्दै चौथो शिविरसम्म पुर्याउँछन्।
छिनमै पोल्ने घाम, छिनमै अध्यारो आकाश र छिनमै उड्ने पातलो बताससँग जोरी खेल्दै उनी सगरमाथाको समाचार संसारलाई आफूले सुनाउन पहिलो हुने दृढ अठोटमा अघि बढिरहेका हुन्छन् ।
उनी त्यहाँ पुग्दा कर्नेल हन्ट लगायत सबै सदस्य थकित देखिन्छन् भने हिलारी र तेन्जिङ अझै माथि पुगिसकेका हुन्छन्। जब उनलाई शिखर आरोहण सफल भएको बताइन्छ, त्यहाँ रहेका सबैका आँखा खुसीको आँसुले छचल्किन्छन्– ‘त्यो दिन अचम्मको थियो। दिन असाध्यै चम्किलो, आकाश अत्यन्तै निलो, वरपर बग्ने हावा असाध्यै उन्मुक्त थियो। ‘म मरून्जेल पनि त्यो दिन बिर्सन सक्दिनँ। यद्यपी हामी त्यही समाचार पर्खेर बसिरहेका थियौं। अनि सबै जना इतिहासमा नौलो पाना थपिएको र जसमा आफूहरु पनि रहने विचार गर्दै थियौं।’
३१ मे मा पनि उनी २२ हजार फिटको उचाइमा सगरमाथाको अत्यासलाग्दो भीरमा थिए। मोरिसका लागि भने अर्को महत्वपूर्ण काम कसरी समाचार सम्प्रेशण गर्नु भन्ने थियो।
उनी छिटोछिटो तल आधार शिविर झर्न थाल्छन्। तल झर्दा त्यतिखेर उनलाई असाध्यै गाह्रो भएको थियो। उनी कहिले टाइम्सको ‘फरेन डेस्क’लाई सराप्छन् भने कहिले संसारको त्यो अभुतपूर्व रचनालाई।
उनी बल्लतल्ल आधार शिविर पुग्छन् र टाइपराइटर समाती सानो टिपोट लेखी भरियालाई नाम्चेतीर दौडाउँछन् जसमा लेखिएको थियो–‘हिउँको अवस्था खराब.... २९ मेमा अघिल्लो आधार त्यागियो... सुधारका लागि पर्खिरकेको ...सबै ठिक छ।’
एक अर्का भरियालाई त्यसैको डुप्लीकेट नोट दिएर काठमाडौं दगुराउँछन् ।
बाटोमा रोयर्टसका पीटर ज्याक्सनले तेङबोचेमा ती भरियालाई भेट्छन् र थुप्रै पैसामा ‘समाचार’ लिएर गएको देखेर उनले सगरमाथा चढेको अनुमान लाउँछन् र उनी नाम्चे झर्छन्। भारतीयले नोट देखाइदिन्छन्। ‘हिउँको अवस्था खराब...’ देखेर होइन रै’छ भन्ने ढुक्क भई तेङबोचे नै फर्कन्छन्।
बाटोमा उनको भेट मोरीससँग हुन्छ र उनले आरोहण असफल भएको दावी गर्छन्।
उक्त टिपोट नाम्चे–काठमाडौं–दिल्ली हुँदै रेडियो लिङ्क मार्फत लन्डनस्थित टाइम्समा आइपुग्छ र अन्त्यमा २ जुन, १९६३ ‘हिलारी र तेन्जिङ सगरमाथामा पाइला टेके’ शीर्षकमा टाइम्सले खुसुक्कै संसारको सर्वोच्च उचाइमा मानव विजयको खवर छाप्छ।
त्यो झरी परेको साँझ महारानी एलिजाबेथको राज्याभिषेकको खुसियालीमा सारा बेलायत खुसी मनाउँदै थियो। बेलायती दलले सगरमाथामा पाइला टेकेर महारानीलाई राज्याभिषेकको सबैभन्दा महत्वपूर्ण उपहार दिएको थियो ।
यता ज्याक्सनले पनि समाचार सुन्छन् र उनी तेङबोचेमा नै आरोहीहरुलाई कुरेर बस्छन्, मोरीस पनि काठमाडौं फर्किसकेको र त्यो दुर्गम भेगमा अन्य कुनै पनि पत्रकार नभएको अवस्था थियो। उनलाई थाहा थियो, मोरीस बिना तस्वीर समाचार लेख्न कुदेका थिए।
आरोहीहरु फर्केपछि ज्याक्सनले तेन्जीङ र हिलारी एक अर्कालाई हेरिरहेको ‘आइकोनीक’ तस्विर खिच्छन्। उनी दलसँगै तस्वीरहरु खिच्दै, कुरा गर्दै राजधानी फर्कन्छन्।
‘यस शताब्दीमा बेलायतको अन्यन्तै गर्वपूर्ण दिनमा आफूले झनै खुसी थप्न पाएकोमा म सधै गर्व गर्छु’, मोरीस सम्झन्छन् । उनले बेलायतलाई मात्र नभएर सारा संसारलाई मानव साहसको खुसी दिएका थिए। करिब ३ महिनासम्म सगरमाथा क्षेत्रमा रहेर उनले रिर्पोटिङ गरेको मेहनत अन्ततः सफल हुन्छ। त्यसपछि पनि उनी लगातार टाइम्सका लागि काठमाडौंबाट समाचार पठाइरहन्छन्।
त्यस्तै ज्याक्सनको तस्बिरले सन्डे एक्सप्रेसहुँदै र संसारका अन्य देशहरुमा पनि छापिन्छन्। टाइम्सको आरोहण दलमा एक्लुसिभीटी भएता पनि उनी तस्वीर खिच्ने पहिलो पत्रकार बन्छन्।
केही समयपछि ज्याक्सनले मोरीसको टेलिग्राम पाउँछन् जसमा लेखिएको थियो –‘एड हिलारी र मेरो तर्फबाट बधाइ’। (स्रोत– द टाइम्स,वीवीसी)