२०१८ साल मे महिनाको २ तारिख अर्थात् वैशाख १९ गते बुधबार पश्चिम अस्ट्रेलियाको समयअनुसार अपरान्ह। न त आकाशमा बादलहरू मडारिएर कुनै अनिष्टको संकेत गरेका थिए ,न त समुद्रमा सुनामीको ज्वारभाटा नै छचल्किएको थियो। त्यो दिन पनि अरू दिनजस्तै एक सामान्य दिन थियो। मान्छेहरू आफ्ना दिनानुदिनका तगराहरू छिचोल्दै थिए। कोही अफिसबाट घर जाने हतारोले कुदिरहेका थिए। कोही आफ्नो घर गृहस्थीले बेफुर्सदिला थिए। चराहरू आआफ्नो गुँडतिर जाने नियतिले चिरबिरचिरबिर गर्दै उडिरहेका थिए। सूर्यले फालेको घामको किरणले पृथ्वीका हरेक आकृतिलाई लम्ब्याउँदै अस्ताउने तरखर गर्दै थियो। प्रकृति र समय आफ्नै अनुपम वेगमा कुदिरहेका थिए।
यही दिन र समयमा एउटा १०४ वर्षे बूढो मानिस अस्ट्रेलियाको पर्थस्थित अन्तर्राष्ट्रिय विमानस्थलको एउटा कुनामा ह्वील चेयरमा बसिररहेका थिए। उनका अघिपछि केही आफन्तहरू थिए। झट्ट हेर्दा यो अरूजस्तै आफन्तको शुभयात्राको कामनामा गर्न लागिएको यात्रा जस्तो देखिन्थ्यो। त्यो बूढो मान्छे ह्वील चेयरमा बसेर प्रियजनसँग कहिले ठट्टा गर्दै थिए त कहिले अँगालोमा बाँध्दै हर्ष र विष्मयका आँशु झार्दै थिए। यो सामान्यजस्तो लाग्ने दिन त्यो बूढो मान्छेका लागि बिल्कुल असामान्य थियो। त्यो दिन उनी आफ्नो अन्तिम यात्राको तयारी गरिरहेका थिए। हो, अन्तिम यात्रा अर्थात् एउटा यस्तो यात्रा जहाँबाट ऊ कहिल्यै फर्कने छैन। बेलायतको एडमन्टनमा जन्मिएका १०४ वर्षीय अस्ट्रेलियाली प्रोफेसर डा. डेबिड गुडल अस्ट्रेलियाको पर्थबाट स्वीजरल्याण्ड जानका लागि तयारी गरिरहेका थिए जहाँ उनले अन्तिम सास लिने निश्चित थियो।
डा. डेबिड गुडलको यो यात्रा एकतर्फी मात्र थियो, मृत्युको मुखमा पुग्ने गन्तव्यका लागि गरिएको यात्रा। १०४ बसन्तको पट्यारलाग्दो उमेर टेके पनि उनलाई कुनै प्राणघातक रोगले च्यापेको थिएन। स्वस्थ भए पनि उनको जीवनस्तर भने पछिल्ला केही वर्षमा गिर्दो अवस्थामा रहेको थियो। यही खस्कँदो जीवनस्तरबाट आजित भएका उनले आफ्नै मृत्युको बाटो रोजेका थिए। अस्ट्रेलियामा भिक्टोरिया राज्यबाहेक अन्य राज्यमा इच्छामृत्युलाई कानुनी बन्देज लगाइएकाले पर्थनिवासी डा. गुडलले स्वीजरल्याण्डलाई आफ्नो जीवनको अन्तिम विन्दु रोजेका थिए जहाँ ‘असिस्टेड सुसाइड’ ले सन् १९४२ देखि वैधानिकता पाएको छ तर यसका लागि मर्न चाहने मान्छेको उद्देश्य स्वार्थरहित हुनुपर्दछ। उनको यस इच्छालाई ‘एक्जिट इन्टरनेसनल’ नामक अन्तर्राष्ट्रिय संस्थाले सम्भव तुल्याएको थियो।
जीवनको यात्रामा अनिश्चितताले सुन्दरता थपेको हुन्छ वा भनौं मृत्यु निश्चित भए पनि कतिवेला मरिन्छ भन्ने अनिश्चितताले गर्दा नै जीवन जिउनुको सार्थकता दिन्छ। यदि मृत्युको समय निश्चित हुँदो हो त शायद यो मानव जीवनमा धेरैको उद्देश्य एक पट्यारलाग्दो कुराइ हुन्थ्यो होला— यात्रुले ठीक समयमा पर्खिरहेको रेलजस्तो वा ठीक समयमा उड्ने प्लेन कुरेजस्तो अनि भनिन्थ्यो होला मेरो जीवनमा अब केवल यतिका वर्ष, यतिका महिना वा यतिका दिन मात्र बाँकी छन्, ठ्याक्कै त्यही विन्दुमा मेरो मृत्यु निश्चित छ, उफ् ठ्याक्कै त्यही समय— कस्तो हृदयविदारक हुन्थ्यो होला धेरैका लागि त्यो विन्दु वा समयको सम्झना। डेबिड गुडललाई भने त्यो विन्दुको पर्खाइ अलिकति पनि पीडादायी देखिदैनन्थ्यो। १०४ वर्षको जन्मदिन मनाउने क्रममा उनले भनेका थिए – “यो उमेरमा खुशी भएर जन्मदिन मनाउनुको खासै अर्थ म देख्दिनँ।”
डेबिड गुडल एक आदरणीय प्राध्यापक, पिता, हजुरबुवा, जिजुबा र कवि थिए। वनस्पति परिस्थिति विज्ञान तथा प्राकृतिक संसाधन अनुसन्धानकर्ता तथा लेखकका रूपमा सेवा गरेवापत् सन् २०१६ मा उनले अस्ट्रेलियाको प्रतिष्ठित पदक अर्डर अफ अस्ट्रेलिया प्राप्त गरेका थिए। उनले १०० वर्षको उमेरसम्म विश्वविद्यालयको काम निरन्तर गरिरहेका थिए। ९० वर्षको उमेरसम्म पनि जीवन आन्ददायी रूपमा बिताएको बताउने उनले पछिल्ला केही वर्षहरूमा कार्यक्षमतामा ह्रास आउँदै गएपछि बाँच्नुको सार्थकतामा कमी देखिएको महसुस गरेको बताएका थिए।
दुई वर्षपहिले १०२ वर्षको उमेरमा प्राध्यापक. डा. डेबिड गुडल ‘अब्रोलहोस आइल्याण्ड’को यात्रामा आफ्नी छोरी र केही प्रकृतिवादी समूहका साथ निस्किएका थिए। यो आइल्याण्ड अस्ट्रेलियाको पर्थको तटीय क्षेत्रबाट ६० किलोमिटरको दुरीमा अवस्थित छ। त्यहाँ उनले वन्यजन्तुको निरीक्षण गरे। यो आइल्याण्डको भ्रमणले उनको जीवनमा एउटा स्मृतिको पाना उजागर गरेको थियो। यो त्यही ठाउँ थियो जहाँ उनले १९६० मा आफ्नो जीवनको पहिलो रिसर्चपेपर ‘क्रेफिस पट्स’ अर्थात् एक प्रकारका माछा मार्ने औजारका बारेमा रिसर्च पेपर तयार गरेका थिए।
त्यसको लगत्तै १०३ वर्षको उमेरमा डेबिड गुडलले ‘गाइरोकप्टर’ अर्थात् दुई जनासम्म बस्न मिल्ने साधारण हेलिकप्टरको सहयोगले पश्चिम अस्ट्रेलियाको सुदुर क्षेत्र किम्बर्लीको भ्रमण गरेका थिए जहाँ उनले पशुपालनसम्बन्धी एक फार्मको निरीक्षण गरेका थिए।
आफ्नो स्वेच्छाले मृत्युवरण रोजेका डेबिड गुडलको यो निर्णयलाई उनको परिवारको पूर्ण साथ र सहयोग थियो। उनका धेरैजसो शुभचिन्तकले दुःख प्रकट गरे पनि उनको खस्कँदो जीवनस्तरलाई देखेर यो एक स्वाभिमानी र निडर निर्णय भएको स्वीकार गरेका थिए।
“उनले आफ्नो सत्कर्मको जीवन व्यतित गरे। मैले उनीसँग बिताएका धेरै आत्मीय क्षणहरू सँगालेर राखेको छु। यो मेरो लागि दुःखको क्षण हो तर यो निर्णय उनी स्वयम्ले धेरै सोंचविचार गरेर लिएका हुन्। यस निर्णयको म गह्रुङ्गो मनले समर्थन गर्दछु।” – उनका नाति क्रिश गुडलले एक अन्तर्वार्ताका क्रममा भनेका थिए।
यो यात्राको केही दिनअघि डेबिड गुडलले सदस्यता लिएको काव्यिक समूहले उनको विदाइमा एक अन्तिम चियापान कार्यक्रम आयोजना गरेको थियो जहाँ उनले आफ्नो मनपर्ने कविता हिलायर बेलोकको ‘टारेन्टेला’ कविताको वाचन गरेका थिए जस्का केही अन्तिम पङ्तिहरू यस्ता थिए —
Never more;
Miranda,
Never more.
Only the high peaks hoar;
And Aragon a torrent at the door.
No sound
In the walls of the halls where falls
The tread
Of the feet of the dead to the ground,
No sound:
But the boom
Of the far waterfall like doom.
पर्थको अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना शुभचिन्तकहरूको सहयोगको माध्यमबाट बिजनेस क्लास टिकट लिएका डेबिड गुडलले एक क्याफेअगाडि आफ्ना परिवार र साथीसँग बसेका थिए। त्यसपछि बोर्डिङका लागि सूचना आयो। एक अधिकारीले बोर्डिङ पास माग्दै गर्दा उनले आफ्नो शान्त स्वरमा सोधे—
“के यही ठाउँ हो जहाँ मैले आफन्तसँग विदा माग्नुपर्छ ?”
त्यसलगत्तै उनका परिवारका केही सदस्यले एक/एक गर्दै अन्तिम अंकमाल गरे। अनि विस्तारै विस्तारै उनको ह्विलचियर आफ्ना अधिकांश प्रियजनको नजरबाट ओझेल हुँदै गयो।
फ्रान्समा आफन्तसँग केही दिन बिताएपछि उनी स्वीजरल्याण्डस्थित बेसलमा पुगे। ९ मे २०१८ बुधबारका दिन तीनजना नातिहरूका साथमा उनले बेसल युनिभर्सिटीस्थित बोटानिकल गार्डेनको अवलोकन गरेर बिताए।
अन्तिम दिन अर्थात् १० मे २०१८ बिहीबार उनले अनि आफ्नो प्रिय भोजन ‘फिस एण्ड चिप्स’ अर्थात् माछा र आलुचिप्स र चिज ग्रहण गरे। अन्तर्राष्ट्रिय मिडियाहरूको समेत आकर्षणको केन्द्र बनेका गुडलले आफ्नो मृत्युको चाहनाप्रति कुनै द्विविधा नरहेको र खुशीसाथ मृत्युवरण गर्न इच्छुक रहेको बताएका थिए। अन्तिम समयमा उनको प्रिय संगीत बेथोभेनको नवौं सिम्फोनी ‘Ode to Joy’ बजाइएको थियो। उनको अन्तिम शब्दहरू थिए –
“This is taking a long time.”
आफ्नो जीवनको सत्कर्मका ७५ वर्षसम्म विज्ञानमा समर्पित उनले करिब १०० को हाराहारीमा रिसर्च पेपरहरू प्रकाशित गरेका छन्।
खोइ, मान्छे मृत्युपश्चात् कता जान्छ कुन्नि ? सायद कसैलाई थाहा छैन होला तर म सानो छँदा हजुरबालाई धेरैपटक सोध्ने गर्थें– “हजुरबा मान्छे मरेपछि कहाँ जान्छ ?”
हजुरबाले पनि सधैँ मलाई माया गर्दै भन्नुहुन्थ्यो – “राम्रा मान्छेहरू मरेपछि स्वर्गमा जान्छन्। त्यहाँ उसले कुनै दुःख भोग्नु पर्दैन। आराम गर्न पाउँछ तर नराम्रा मान्छेहरू नर्कमा जान्छन् जहाँ उसले दुःखैदुःख पाउँछ।”
त्यसपछि स्वर्गको कल्पनामा डुब्दै फेरि सोध्थेँ – “अनि राम्रो मान्छे बन्न के गर्नुपर्छ नि हजुरबा ?”
हजुरबाले भन्नुहुन्थ्यो – “राम्रो मान्छे बन्न जीवनमा सत्कर्म गर्नुपर्छ।”
त्यसपछि “अबदेखि म पनि सत्कर्म गर्छु है” भन्दै हजुरबाको काखमा लुट्पुटिन पुग्थेँ।
आज डेबिड गुडलको त्यो अन्तिम यात्राका बारेमा लेख्दै गर्दा मैले ती बालापनका दिनलाई सम्झँदै एकपटक फेरि उनलाई श्रद्धाञ्जली दिँदै भन्न मन छ – गुडलको आत्मा त्यही स्वर्गमा जाओस् जहाँ उनले अनन्त सुखानुभूतिको अनुभव गर्न पाऊन्। यी मेरा श्रद्धाका दुई शब्दले उनको आत्मालाई शान्ति प्रदान गरुन्ः “हार्दिक श्रद्धाञ्जली डेबिड गुडल।”