नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले प्रत्येक वर्ष मनाउदै आएको भानु जयन्ती यस पटक भब्य र सब्य रुपमा मनाउन लागेको छ।
बहुसांस्कृतिक समुदायको बाहुल्यता रहेको अस्ट्रेलियामा सरकारले पनि बिभिन्न देशबाट आएका आफ्ना नागरिकको पहिचानका खातिर कला संस्कृति जोगाउन सहयोग गर्दै आएको छ।
पहिलो पटक नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको पहलमा स्थानीय कम्बरल्यान्ड काउन्सिलले २०५ औं भानुजयन्तीका लागि विशेष सहयोग गर्ने भएको छ।
त्यसका लागि कम्बरल्यान्ड काउन्स्लिले एक समारोह बिच नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता बस्नेतलाई सहयोग समेत हस्तान्तरण गरेको छ।
यही आउँदो जुलाई महिनाको सात तारिख सिड्नीको मेरिल्यान्डमा प्रतिष्ठानले भब्य रुपमा भानु जयन्ती मनाउनका लागि तयारी सुरू गरेको संस्थाकी अध्यक्ष सुजाता बस्नेत केसीले बताइन्।
‘हामीलाई पहिलो पटक अस्ट्रेलियन सरकारकोतर्फबाट सहयोग प्राप्त भएको छ, यसका लागि कम्बरल्यान्ड काउन्सिललाई धन्यवाद दिन चाहन्छु,’ अध्यक्ष बस्नेतले बताइन्,‘सहयोग रकम दश हजार डलर बराबरको रहनेछ।’
सिड्नीका साहित्य अनुरागीहरुको बिशेष सहभागिता रहने सो कार्यक्रममा कविता वाचनका साथ साथै नेपाली कला साहित्य सम्बन्धि बिविध गतिबिधि आयोजना हुने अध्यक्ष केसीले बताइन्।
‘बिदेशमा रहेर हामीले हाम्रो कला साहित्य अनि भाषाको जर्गेनाका गर्न सकनौं भने हाम्रो पनि अस्तीत्व रहँदैन, त्यसैले पनि यो विषय निकै महत्वपूर्ण छ,’ लोकगायनमा समेत चर्चा कमाएकी केसीले भनिन्।
‘हामी नेपाली, हाम्रो नेपाल’ भन्ने स्लोगनका साथ आयोजना हुन लागेको भानुजयन्ती कार्यक्रममा स्थानीय नेपाली बालप्रतिभाहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको संस्थाका सचिब राजेश्वर घिमिरेले जानकारी दिए।
बिदेशमा रहेका नयाँ पुस्तालाई नेपाली भाषा सिकाउन नसकेमा हाम्रो देश र भेषका बारेमा उनीहरू अनभिज्ञ हुनसक्ने भएकाले प्रवासमा यस्ता साहित्य कार्यक्रम र भाषीक कक्षाहरु अत्यन्तै महत्वपूर्ण रहेको संस्थाले जनाएको छ।