अष्ट्रेलियाको भिक्टोरियामा ग्राहकको हत्या गरेको आरोपमा पक्राउ परेका एक नेपाली कुक हरिप्रसाद ढकाललाई स्थानीय अदालतले २३ वर्षको जेल सजाय सुनाएको छ।
मेलर्बन नजिकै बालारात करी रेष्टुरेन्टमा कार्यरत नेपाली सेफ हरिप्रसाद ढकालले दुई वर्षअघि २०१६ अक्टोबर २५ मा रक्सीले मातेर रेष्टुरेन्टमा होहल्ला गर्ने एक पाकिस्तानी ग्राहकलाई चक्कु प्रहार गरी हत्या गरेको ठहर भएपछि सो सजाय सुनाइएको हो।
अवैध रूपमा अष्ट्रेलियामा बसोबास गरिरहेको ढकाललाई जेल भुक्तानपछि नेपाल फिर्ता गरिने छ।
५१ वर्षीय ढकालले पाकिस्तानी ३८ वर्षीय अब्दुल्लाह सिद्दिकीलाई चक्कु प्रहार गरेर हत्या गरेको स्वीकार गरेका छन्।
घटनाको दिन बेलुकी पाकिस्तानी मुलका सिद्दिकीले रेष्टुरेन्टमा रक्सी पिएर होहल्ला गर्दै खानेकुराको अर्डर गरेपछि धेरै पिइसकेकाले थप खानेकुरा दिन नसक्ने भनेपछि ढकाललाई गालीगलौज गर्दै धकेलेका थिए।
स्थिति तनावपूर्ण भएपछी सिद्दिकीले गालीगलौज गर्न छाडेनन्। सोहीबेला आवेगमा तढकालले किचनबाट चक्कु ल्याएर सिद्दिकीमाथी प्रहार प्रहार गरे।
सिद्दिकीको हत्यापछि ढकालले रगत लत्पतिएको चक्कुलाई कपडाले बेरेर झोलामा राखी बालारात प्रहरी चौकीमा पुगी आत्मसमर्पण गरेका थिए।
अदालतमा ढकालले आफ्नो प्रतिरक्षा गर्दा सिद्दिकीको मृत्यु हुन पुगेको बयान दिएपनि अदालतले उनलाई दोषी ठहर्याउँदै उनको दाबीलाई अस्वीस्कार गरेको छ।