अस्ट्रेलियाको नेपाली समाजमा कला, संगीतको माध्यमबाट आफ्नो पहिचान बनाउदै आएको ‘नेपीन्डो फ्यूजन समुह’ले आगामी जुलाई २८ तारिखमा सिड्नीमा सप्तपरी नामका महत्वपूर्ण कार्यक्रमको आयोजना गर्ने भएको छ।
सिड्नीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपीन्डो फ्युजनकी संस्थापक उषा किरण बारिया पोखरेलले महिलाको शसक्तीकरण अभियान अन्तर्गत नेपालमा बिभिन्न विधामा नाम उचोपार्ने सात महिला अभियन्तालाई सिड्नी ल्याएर कार्यक्रम आयोजना गर्न लागेको बताइन्।
सिड्नीको मुटुमा रहेको टाउनहलमा आयोजना हुने कार्यक्रममा नेपालबाट मिस नेपाल २०१७ निकिता चान्डक, नायिकाहरू स्वस्तीमा खड्का, वर्षा राउत, बेनिसा हमाल, एलिसा राई, गायिका रजनी रिमाल र उत्प्रेरक श्रृष्टी केसी छन्।
पत्रकार सम्मेलनमा बोल्दै एनआरएन नारी निकुन्जकी उपसंयोजक सन्ध्या शाहले नेपालका बिकट जिल्लामा अहिले पनि महिलाको अवस्था सन्तोषजनक नरहेको अवस्थामा नेपालमा आफ्नै बलबुताले केही गर्न महिलालाई अस्ट्रेलिया ल्याएर उत्प्रेरणा कार्यक्रम गर्नु महत्वपूर्ण विषय भएको बताइन्।
प्रयोजकको तर्फवाट एक्सपर्टका बिष्णु हमालले महिलाहरुको सशक्तिकरणका सवालमा आफूहरू सकरात्मक रहेको र यस्ता नेपालीपन झल्काउने कार्यक्रममा आफूहरुको सहयोग रहिरहने बताए।
पत्रकार सम्मेलनमै एनआरएन ओसेनियाका संयोजक धर्म अधिकारीले नारी र पुरूष एक रथका दुई पांग्रा भएकाले महिलाहरुको शसक्तिकरण अभियानमा पुरूषहरूको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए। अधिकारीले आफू करिब डेढ सय किलोमिटरको दुरी छिचोलेर कार्यक्रममा आउनुको उद्धेस्य भनेको महिलाप्रतिका सम्मान र सद्भाव तथा सहयोग जुटाउन पनि भएको स्पष्ट पारे।
कार्यक्रममा एनआरएनकी संस्थापक तथा नेपाली समाजकी अगुवा इन्द्रा वनले महिलाहरूको हितका खातिर गरिने यस्ता कार्यक्रमहरुलाई समाजका सबै तह र तप्काबाट सहयोग गरिनुपर्ने बताइन्।
पत्रकार सम्मेलनमा कार्यक्रमको पोष्टर समेत सार्वजनिक गरिएको थियो। सो अवसरमा अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रीय अध्यक्ष दिनेश पोखरेलले कला, संस्कृति र गीत संगीत मुलुकसँग नजिक्याउने माध्यम भएकोले प्रवासमा यसको रक्षा गर्ने सबैको जिम्मेवारी भएको बताए।
सन् २००४ की मिस नेपाल पायल शाक्यलेसमेत पत्रकार स्म्मेलनमा कार्यक्रम भब्य र सभ्य बनाउन सबैको सहयोगको अपेक्षा गरिन्। कार्यक्रममा एनआरएनका सचिव देव गुरूङ, कोषाध्यक्ष अच्यूत थपलिया, आइसीसी सदस्य जानकी पौडेल, नारी निकुन्जकी संयोजक प्रतीज्ञा अधिकारीले कार्यक्रमको सफलताको कामना गरेका थिए।
कार्यक्रम आयोजक समितिका सदस्य अनिल पोखरेलले सञ्चालन गरेका थिए भने एनआरएनका उपाध्यक्ष नन्द गुरूङ, एनआरएनका पूर्व युवा संयोजक विजय पोखरेल, नेपाल अस्ट्रेलियन युथ एशोसिएसनका अध्यक्ष प्रकाश खरेल, अगुवा रमेश पाण्डे, एनआरएनका ग्लोबल खेलकुद संयोजक राजु मानन्धरले पनि सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा नेपालका सप्तपरीसँगै सिड्नीमा रहेका नयाँ पुस्ताका परीहरूले पनि आफ्नो प्रतिभा प्रष्फुटन गर्ने छन्। कार्यक्रममा मोडलिङ, नृत्य र अन्य आकर्षक कार्यक्रम प्रस्तुत गरिनेसमेत आयोजक समितिका हर्ष बारियाले जानकारी गराए।
कार्यक्रमबाट उठेको रकमको केही अंश नेपालमा महिला तथा बालअधिकारमा लागिरहेको संस्थालाई प्रदान गरिने समेत हर्षले बताए।