धन हुनेले मन्दिर बनाउन करौडौं दान दिन्छन् अनि बडेमानका माला लगाएर फोटो खिचाउँछन्। पत्रपत्रिकामा हप्तौ समाचार बनिरहन्छन्।
भगवानको नाममा सप्ताह लगाएर चन्दाको बाकस भरिएका समाचार हामीले पढेकै छौं। तर, दिनहुँ सडकमा भेटिएका दिनदुःखीको पीडामा मल्हम लगाउन न धनाढ्यहरूलाई फुर्सत छ न त पैसा नै।
‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन…’ भन्ने गीत भाइरल हुँदै गर्दा धन मात्रै ठूलो होइन समाज सेवाका लागि मन चाहिन्छ भन्ने कुरा महेशले पुष्टी गरेका छन्।
अस्ट्रेलियामा धन नभए पनि मन हुनेले आफ्नो सानो प्रयासले कयौं विद्यार्थीको मनोबल उचो पारेको कथा हो यो।
सिड्नीको रकडेलमा नेपाली पारामा पसलछेउको पेटीमा भेटिएका उनी अस्ट्रेलिया आएको डेढ महिनामै बिरामी भएर काममा जान नपाएका भगिरथका कथा सुन्दै थिए। ‘भाइ चिन्ता लिनु हुँदैन, ढिलो चाँडो काम पाइन्छ। तर, निराश र मानसिक तनाब लिनु हुन्न’, भनेर सम्झाउदै थिए ‘म्याक्स’ अर्थात महेश प्रसाई।
इटहरीका यी भाइ काम नभएपछि तनाबमा परेछन्, बाबुआमालाई कति भन्ने, नभनौं आपत! कसैले उनलाई यीनै म्याक्सको ठेगाना दिएछन्।
पेशाले मासु पसले महेश अर्थात ‘म्याक्स’ कै आफ्नै साहसिक कथा पनि जोडिएको छ।
हरेक दिन दुई तीन जना भाइहरू आउँछन् पीडा पोख्न, कथा ब्यथा सुन्यो उही निराशा र कामको। अनि खाजा ख्वायो, उत्साह थप्यो र कामको खोजिमा लाग्यो। ‘यसरी नै दिन, हप्ता र महिना बित्दैछन्’, अस्ट्रेलियामा महेशले आशाबादी भएर आफ्नो दिनचर्या सुनाए।
कुराकानीकै क्रममा महेशले कामको तनावमा रूमल्लिइ रहेका एक भाइलाई खाजा ख्वाएर डेढ किलो खसीको मासु झोलामा हालेर दिँदै भने- चिन्ता नलिनू जाडोमा खसीको झोल र भात खाउँ काम खोजौंला। ‘कर्म गर्ने हो दाजु भगवानले हात मुख जोड्न पुर्याएका छन्, धर्म आफैं लाग्ला नि,’ कुराकानीको प्रसंगमा यी म्याक्सले फलको आशा नगरेको स्पष्ट पार्न खोजे।
ताप्लेजुङको फूलबारीमा जन्मिएका ब्राम्हण परिवारका यी महेश अर्थात म्याक्स सिड्नी वरपर खसीको मासुको कारण पनि प्रशिद्ध छन्।
खासै खसी नखाने अस्ट्रेलियामा नेपाली र भारतीय समुदाय बढ्दै जाँदा खसीको मासुले पनि लोकप्रियता पाएको हो। यीनै महेसले एभरेष्ट बुचरी खोलेर मासुको ब्यापार गर्न थालेपछि ‘म्याक्स’ को चर्चा अझ चुलिएको हो।
मासु ब्यापारसँगै समाजको उद्धारमा पनि लागेका यिनी युवा पुस्तामा लोकप्रीय अभियन्ताका रूपमा चिनिएका छन्।
अस्ट्रेलियामा उच्च अध्ययनमा आएका ‘म्याक्स’ ले पछिल्लो एक दशकको आरोह अवरोहपछि आफूलाई नयाँ पेशामा स्थापित गरेका हुन्।
उनी परेर होइन पढेर मासु पसले बनेका हुन्। अस्ट्रेलियाको टेफ अर्थात प्राविधिक बिद्यालयबाट बुचरीमा डिप्लो सकेका महेशले पढेकै विषयमा आफूलाई स्थापीत गरे। कुनै पनि काम जातले होइन कर्मले गर्नुपर्छ भन्ने मान्यता राख्ने महेशको सिड्नीको रकडेलमा एभरेष्ट बुचरी स्थानीय तहमा निकै चलेको मासु पसल हो।
हप्ताको पाँच टन खसीको मासु बेच्ने एभरेष्ट बुचरीले सिड्नी मात्र होइन वरिपरीका क्षेत्र र राजधानी क्यानबेरासम्म पनि मासुको आपूर्ति गर्ने गरेको प्रसाई सुनाउँछन्।
आधा दशक अस्ट्रेलियन जेलमा काम गरेका महेशलाई त्यहाँ नाम बोलाउन नजानेपछि सबैले ‘म्याक्स’ बनाएछन्। ‘सयौं पटक मेरो नाम महेश भनेँ, तर कहिलै जानेनन्, सधै म्याक्स भनेर मात्र बोलाए,’ म्याक्सको नामाकरण विवरण यसरी सुनाए।
सन् २००८ मा अस्ट्रेलिया आएका महेशले लामो परिश्रम र मिहिनेत पछि तीन बर्षअघि नेपालीको बाहुल्यता रहेको क्षेत्र रकडेलमा एभेरेष्ट बुचरी खोलेका हुन्।
‘दिनको करिब एक टन मासु काट्छु तर पनि अझै माग बढेकै छ, काम गरेर खान लाज हुँदैन। बाहुनको छोराले मासु काट्नु हुँदैन भनेर कुनै शास्त्रमा लेखेको छैन,’ उनले भने, ‘नयाँ पेशा र प्रविधिमा रम्न सके मानिसले आफूलाई सफल बाटोमा हिडाउँन सक्छ भन्ने मेरो मान्यताले बुचरी पढेको हुँ। पढे अनि सोही पेशा रोजे पनि। अहिले खुसी र सुखी पनि छु।’
आफ्नो पेशामा खुसी उनले बचेको समय नयाँ पुस्तामा शिप हस्तान्तरण गर्न खर्चिने बताउ।
उनले नेपालमा मासु हैन, रोगको ब्यापार भैरहेकोमा रोष प्रकट गरे। ‘राज्यले नागरिकको स्वास्थमा पटक्कै ध्यान दिएको छैन। आधुनिक बधशाला र परीक्षण अनि चिस्यानपछि मात्र खान योग्य मासु बजारमा ल्याउने नीति राज्यले तर्जुमा गर्नुपर्छ,’ महेशले अध्ययन र अनुभवलाई सुनाए।
पछिल्ला वर्षमा अस्ट्रेलिया र त्यसमाथि सिड्नीमा नेपाली विद्यार्थीहरूको चाप बढ्न थालेपछि समस्या पनि बढ्न थालेका छन्।
काम, कोठासँगै अज्ञानताका कारण कयैन विद्यार्थीले दुःख पाउनु परेपछि महेशलगायतको टोलीले ‘भीजन फर मोटीभेसन’ नामको संस्था खोलेर सहयोगमा अहोरात्र लागिपरेका छन्।
देखेको कुरा बोल्न नहिचकिचाउने महेश विद्यार्थीका सवालमा शैक्षिक केन्द्रको मनोमानीले अप्ठारो स्थिति सृजना गरेको बताउँछन्।
अभिभावक र विद्यार्थीलाई यहाँको अवस्थाबारे स्पष्ट जानकारी भएको देखिँदैन। जतिले दुःख, पीडा सुनाउँछन्, उनीहरु अर्ध ज्ञान लिएर मात्र अस्ट्रेलिया आएको देखिन्छ,’ उनले भने, ‘आउने बित्तीकै काम फालाफाल, घन्टाको २० डलर , फी तिर्न समस्या नहुने आदि आदि कुरा सुनेर आएकाहरु दुःखको भूमरीमा फसेको हामीले पाएका छौ। हामी सरकारी निकाय होइनौं तर देखेका र भेटेका भाइ बहिनीलाई सहयोग गर्ने कुरामा एक कदम पछाडि हट्दैनौ।’
संस्थाले सिड्नीका विद्यार्थीलाई दक्षता अभिवृद्धिको तालिमसमेत चलाइरहेको छ।
यीनै म्याक्स एनआरएन अस्ट्रेलियाको विद्यार्थी सहायता कमिटिटिसमेत एनएसडब्लुका संयोजक छन्।
अस्ट्रेलियामा रहेका ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थीको संगठन काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलियाका अध्यक्ष विजय सापकोटासमेतको सहयोगमा महेशहरु विद्यार्थीका हक, हित र दक्षता अभिवृद्धिका लागि नयाँ योजना बुन्ने तयारीमा जुटेका छन्।
जे होस कर्मयोगी म्याक्सहरू हाम्रा समाजका साच्चीकै हिरो हुन्।