बसाईसराईको नयाँ सुरक्षित गन्तव्यका रूपमा नवधनाढ्यहरूले अष्ट्रेलियालाई रोज्ने गरेको तथ्य सार्वजनिक भएको छ ।
लोकप्रिय शैक्षिक गन्तव्यका रूपमा विद्यार्थीहरूको आकर्षण बनेको अष्ट्रेलिया यतिखेर धनाढ्य तथा व्यवसायीहरूको पनि मूख्य आकर्षण बनेको छ ।
शान्ति र लाइफ़स्टाइलका कारण पनि विश्वभरका व्यक्तिहरूको लागि अष्ट्रेलिया अहिले गतिलो गन्तव्य बनिरहेको छ ।
एफ्रो एशिया ग्लोबल वेल्थ माइग्रेसन रिभ्यूले सन् २०१७ मा मात्र १० हज़ार धनाढ्यहरू अष्ट्रेलिया बसाई सरेको जनाएको छ ।
तथ्यांक अनुसार गत वर्ष अर्थात् २०१७ मा ९५ हजार जना धनाढ्यहरू विभिन्न देशमा बसाईसराई गरे । त्यसमध्ये १० हजार जना धनाढ्यहरूले बसाईसराईको लागि अष्ट्रेलियालाई रोजेको देखिएको छ । जसअनुसार, अष्ट्रेलिया विश्वका धनाढ्यहरूको रोजाइको देशमा पहिलो नम्बरमा आएको छ।
त्यस्तै, अमेरिकामा गत वर्ष ९ हजार जना धनाढ्य बसाईसराई गरेका छन्। क्यानडा र संयुक्त अरब इमिरेट्समा ५ / ५ हजार जना धनाढ्यहरूले बसाईसराई गरेका छन्। संसारकै सुन्दर देश मानिने स्वीट्जरल्याण्डमा भने २ हज़ार धनाढ्यले घरजम बसाएको तथ्यांकले बताएको छ ।