विदेश जाने रहरसँगै पैसा कमाउने शहरका रूपमा चित्रण गरिएको अस्ट्रेलियामा पछिल्लो समय नेपाली समाजमा केही नराम्रा घटना घटिरहेका छन्।
‘गयौ तिमी आकाशमा उडेर , फर्क्यौं तिमी बाकसमा पुरिएर...’, यो बिरह गीतलाई लोक गायकले भाका दिएर गाएको कतै सुनेको जस्तो लाग्छ।
पछिल्लो वर्ष आत्महत्याबाट सिड्नीमा मात्र दुई युवतीसहित ५ नेपालीले ज्यान गुमाइसकेका छन्। त्यती मात्र होइन मानसिक समस्याको चपेटामा परेर आधा दर्जन विद्यार्थी नेपाल फर्किएको उदाहरण छन्।
बाबु आमाले डाक्टर र ईन्जिनियर बनाउने उद्धेश्यका साथ उच्च अध्यनका लागि लाखौं खर्चिएर अस्ट्रेलिया पठाएको छोरा छोरी मानसिक रोगी र आत्महत्याको शिकार बन्न पुग्नुमा दोष कसलाई दिने ? छोरा भन्दा पनि आफन्त र चिनजान बिना छोरी बिदेश पठाउने अभिभावकले धेरै कुरा विचार गर्नुपर्ने पछिल्ला केही घट्नाले पृष्टी गरेका छन्।
अस्मिता रिजाल र अनिता पुरीजस्ता हाम्रा समाजका पढेलेखेका चेलीले आत्महत्याको बाटो रोज्दा उनीहरूका परिवारमा कस्तो बज्रपात पर्ला हामी कल्पना पनि हामी गर्न सक्तैनौं।
तर, पछिल्लो समय अस्ट्रेलियामा देखिएका अन्य यस्तै घटनाक्रमले पढ्न आउने विद्यार्थी र पठाउने अभिभावकको सहज सोच र राज्यको कमजोर निगरानीलाई उदांगो पारिदिएको छ ।
पछिल्लो दुई महिनामा तपेन्द्र रावल, सागर सिग्देल र लक्ष्मण पाण्डेजस्ता होनहार युवा मानसिक तनाब झेल्दै नेपाल फर्किसकेको अवस्था छ। त्यसभन्दाअघि ब्राजिल गुरूङको शंकास्पद मृत्युलगायतका घटनाले नेपाली समाज बाक्लिदै जाँदा समस्या पनि बढ्दै गएको महशुस सबैले गरेका छन्।
‘राज्यले निगरानी बढाउने मात्र होइन शैक्षिक परामर्शदाताको योग्यता र क्षमताको मापदण्ड पनि तोकिनुपर्छ,’ अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट एलाइन्स (एका) का अध्यक्ष निरज श्रेष्ठले भने, ‘अन्यथा साइनबोर्ड राखेर जथाभावी विद्यार्थी ल्याउने होडबाजीमा लाग्ने हो भने भोलिका दिनमा यस्ता समस्या झन बढ्नेछन्।’
यतिखेर अस्ट्रेलियामा नेपाली विद्यार्थीको लागि आकर्षण बनेको छ। अस्ट्रेलियन सरकारले पनि आवश्यक कागजात हेरी अध्ययन भिसा दिइरहेको भन्दै श्रेष्ठले विद्यार्थी कसरी आइरहेका छन, त्यो ट्रेन हेर्न जरूरी रहेको बताए।
‘काठमाडौंदेखि नै यो समस्या जोडिएको छ, होडिङ बोर्ड र आकर्षक नारा होइन ब्यवहार र शैक्षिक योग्यतामा विद्यार्थी र अभिभावकलाई यहाँको वास्तविकता बुझाउनु पर्दै श्रेष्ठको दाबी छ।
‘अध्ययन गर्ने निकाय तथा त्यसको वास्तविकता थाहा नपाएको देखिन्छ। जसले अस्ट्रेलियाको शैक्षिक विषयमा अध्यन गरेकै छैन, यहाँका प्रावधान र बिस्तविकता बुझेका छैनन् अनि विषयगत ज्ञान बोकेका छैन त्यस्ता ब्यक्तिले होडबाजीमा सभा र सेमिनार भन्दै जिल्ला जिल्लामा कार्यक्रम गर्दै हिड्दा यस्ता समस्याको बाढी आएको हो,’ श्रेष्ठले सेतोपाटीसँग भने।
यस्तो तरिकाले पढ्न आउने विद्यार्थीलाई लाग्ने खर्च, काम, कोठाको ब्यवस्थापनजस्ता विषयले अन्यौलता आउने हुन्छ।
राज्यले देशका भविष्यका रुपमा रहेका युवा बिदेसिदै गर्दा त्यसको सूचना संकलन गर्नुका साथै शैक्षिक केन्द्रको काम कारबाहीको निगरानी गर्नु जरूरी भइसकेको श्रेष्ठ बताउँछन्।
महिनैपीच्छे एउटा न एउटा घटना घटेको तथ्यांक रहेको एनआरएन अस्ट्रेलियाका वेलफेयर कमिटिका संयोजक दिनेश पोखरेलले बताए।
प्रवासका नेपाली निकायका रूपमा चिनिएको एनआरएनले आफ्ना वेलफेयर फन्ड मार्फत यहाँका नेपालीलाई समस्या पर्दा दुई हजार डलरसम्म प्रत्यक्ष सहयोग गर्दै आएको छ। पछिल्ला दिनहरुमा घटनाक्रम बढेको र यसमा नेपाली समाज चनाखो हुनुपर्ने एनआरएनका पूर्व उपाध्यक्ष समेत रहेका पोखरेलले बताए।
‘सहयोगका लागि निवेदनहरू दिनहुँ बढ्दैछन्, त्यसमा विद्यार्थीकै बढी चाप हुनेगर्छ, बिरामीलाई हवाइ टिकट र उपचार खर्च र मृतकको अन्तेष्टी जस्ता विषयमा हामीले बढी सहयोग गर्ने गरेका छौं,’ पोखरलेले भने।
यसरी हरेक साता एउटा समस्या देखिन थालेपछि यसको समाधान खोज्न राजदूतावासले समेत छलफल चलाएको थियो। छलफलले एउटा समिति गठन गरेर अगाडि बढने निर्णय गरेको थियो ।
एनआरएनका उपाध्यक्ष नन्द गुरूङ विद्यार्थीले घरमा पैसा भए पनि बैंकको लोन लिनैपर्ने प्रावधान हटाइनु पर्ने, कम्तीमा एक वर्षको शैक्षिक शुल्क तिरेर मात्र आउन पाउने, सम्वन्धित निकायले कल्याणकारी कोष खडा गर्नुपर्ने र अभिभावक तथा विद्यार्थीलाई ओरियन्टेसन कक्षापछि मात्र नो अब्जेक्सन लेटर दिइनुपर्ने जस्ता केही प्रावधान राज्यले तोकिए समस्याका केही हदसम्म समाधान हुने बताउँछन्।
गुरूङ अस्ट्रेलियन सरकारले पनि नेपालमा विद्यार्थीका लागि इन्फरमेशन सेन्टर खोलेर विद्यार्थीलाई यहाँको अवस्था र ब्यवस्थाका बारेमा जानकारी दिए निकै राम्रो हुने बताउँछन्।