अस्ट्रेलीयाको सबैभन्दा लोकप्रीय दौड प्रतियोगिताका रूपमा चिनिएको ‘सिटि टु सर्फ’ मा यस पटक नेपाल प्रवर्धन गरिने भएको छ ।
गैर आवसीय नेपाली संघ न्यु साउथ वेल्स राज्य समन्वय समितिको आयोजनासँगै सो दौडमा नेपाल प्रवर्धन गरिने भएको हो।
एनआरएनएले डिस्कभर नेपालको नारासहित दौडमा सहभागि हुन चाहनेलाई सोही शीर्षक अन्तर्गत आफ्नो नाम दर्ता गराउनसमेत एनआरएनले आह्वान गरेको छ।
‘हामीले दौडमा सहभागि हुनेहरुका लागि डिस्कभर नेपाल उल्लेखित टिसर्ट उपलब्ध गराउँछौं। ती टिसर्टहरुमा नेपालका विभिन्न पर्यटकीय स्थानहरुको फोटो छाप्छौं। त्यस्तै नेपाल र नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्य चिनाउने पर्चा पम्पलेट प्रिन्ट गरेर प्रतियोगितामा सहभागिहरुलाई बाँड्ने योजना बनाएका छौं,’ गैर आवसीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरूले भने।
त्यस्तै प्रतियोगिताको समापनस्थल बोण्डाईमा नेपाल तथा नेपाली खाना प्रवर्धनका लागि स्टल पनि राख्ने तयारी भइरहेको उपाध्यक्ष गुरूङले जानकारी दिए ।
हरेक वर्ष अगष्ट महिनाको दोस्रो आइतबार आयोजना हुने ‘सिटि टु सर्फ’ मा विश्वभरका करिब एक लाख दौडप्रेमी सहभागी हुन्छन्।
सिड्नी सीटीको हाईड पार्कबाट सुरु भएर बोण्डाई बिचमा पुगेर सकिने दौडलाई विश्वकै लोकप्रिय दौड प्रतियोगिताका रुपमा लिईन्छ।