अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले आफ्नो कार्यकालको एक बर्षको समीक्षा गर्दै दुई देश बिचको आपसी सम्वन्ध प्रगाढ बनाउनुका साथै नेपाली समाजको उत्थान र पहिचानका लागि विविध कार्यक्रम आयोजना गरिएको जानकारी दिएकी छिन्।
आफ्नो कार्यकालको एक वर्षे उपलब्धि र सुझावका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै राजदूत शेर्पाले नेपाली दूतावासले आफ्नै जग्गा खरीद गर्न सफल भएको र यसै कार्यकालमा भवन बनाउन पहल थाल्ने बताइन्।
शेर्पाले नेपाल र नेपालीको हितको प्रर्वधनमा दूतावासले यहाँका बिभिन्न समुदाय र अस्ट्रेलियन सरकारसँग मिलेर विविध कार्यक्रम सम्पन्न गरेको फेहरिस्त प्रस्तुत गरिन्।
कावरा काउन्सिलले आयोजना गरेको कावरा महोत्सव, महिला दिवस, एभरेष्ट डे जस्ता कार्यक्रमले मुलुकको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको शेर्पाले दाबी गरिन्।
अस्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या बढ्दै जाँदा समस्या पनि बढ्दै गएकोमा राजदूतावासले यसका साझेदार संस्थासँग छलफल चलाइ न्युसाउथवेल्सका महाबाणिज्यदूत दीपक खड्काको संयोजकत्वमा एउटा समिति बनाएको जानकारी गराइन्। त्यती मात्र होइन तीस हजारभन्दा बढी विद्यार्थी रहेको अस्ट्रेलियामा मानसिक तथा काम र कोठाको समस्यामा सहयोग गर्न र कुलतको शिकारवाट बचाउन नेपाल सरकारसँग विद्यार्थी तथा अभिभावकलाई बिशेष परामर्शको ब्यवस्था गर्न राजदूतावासले आग्रह गर्ने बताइन्।
नेपाली विद्यार्थीमा नक्कली बिवाह र डिभोर्सको समस्याका विषयमा उठाइएको प्रश्नमा राजदूत शेर्पाले राजदूतावासमा थुप्रै सम्वन्ध बिच्छेदका मुद्दाहरु आउने गरे पनि आफूले त्यसलाई नजिकबाट नियालेर गलत कार्य नगर्न सल्लाह र सुझाब दिदै आएको बताइन्।
उनले बिवाह र सम्वन्द्ध बिच्छेद जस्तो विषयमा स्वयम् विद्यार्थी र अभिभावक गम्भीर हुनुपर्ने र गलत सल्लाहमा परेर त्यसो नगर्न आग्रह समेत गरिन्।
कार्यक्रमसँगै दुई देश बिचको कुटनीतिक सम्वन्ध बिस्तारमा राजदूतावासले नेपाल अस्ट्रेलिया संसदीय समूह गठन गरेको र परराष्ट्र मन्त्री जुलि बिशपसँग बिशेष भेट गरी अस्ट्रेलियन सरकारको मन्त्रीस्तरीय भ्रमणका लागि आफूले पहल समेत गरिरहेको शेर्पाले जानकारी गराइन्।
उनले त्यस बाहेक कुटनीतिक र दुई देशको ब्यापार घाटा कम गर्न नयाँ उपाय अबलम्बन गर्न यही जुन ३० मा मेलवर्नमा नेपाल-अस्ट्रेलिया बिजनेश फोरमको आयोजना समेत गरिन लागेको जानकारी दिइन्।
राजधानी क्यानबेरास्थित दूतावास भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजदूत शेर्पाले आफ्ना केही महत्वपूर्ण योजनामा भवन निमार्ण, विद्यार्थी कल्याणकारी नीति तथा नेपालीको शिप र ज्ञानलाई मुलुकको अभिबृद्धिमा लगाउने रहेको बताइन्।
कार्यक्रममा राजदूतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटाले स्वागत गर्दै सन्चारकर्मीको सुझाब र सल्लाह नियोगका लागि महत्वपूर्ण रहने बताइन्।
अवैध हुन्डी रोक्न पहल गर्छु
नेपालमा अवैध मानिएको हुण्डी कारोबार अस्ट्रेलियामा खुलेआम चलिरहेको विषयमा सोधिएको प्रश्नमा राजदूत शेर्पाले अवैध रुपमा चलिरहेको हुण्डी रोक्न आफूले सम्वन्धित निकायमा छलफल चलाएकोसमेत बताइन्।
शेर्पाले राज्यको उपयुक्त निकायबाट यहाँदेखि जाने पैसा जावस् भन्ने हेतुले अर्थ मन्त्रालयसँग समेत समन्वय गरीरहेको अवगत गराइन्।
अस्ट्रेलियाका फेसबुकमा समेत खेलुआम आजको रेट यति र भोलिको उती भन्ने खुलेआम प्रचार भइरहेको अवस्थामा राज्यको निकायले यसलाई कुन रुपमा हेरिरहेको छ भन्ने प्रश्नमा राजदूत शेर्पाले स्पष्ट शब्दमा भनिन्, ‘हुण्डी नेपालमा अवैध हो यसलाई बन्द गर्नुपर्छ। यसका लागि अस्ट्रेलियन सरकारको निकायसँग पनि छलफल चलाउनेछु।’
स्मरण रहोस् यतिखेर हुण्डीको माध्यमबाट नेपालदेखि करौडौं कालो धन अवैध माध्यमबाट अस्ट्रेलिया भित्रिरहेको छ।