व्यक्तिगत भविष्यको सोचमा ५ वर्षअघि अष्ट्रेलिया छिरेका चितवनका विजय सापकोटाले यतिखेर देशको भविष्य सोच्न थालेका छन्। नेपाल फर्किने सोच बनाएका उनी जुन २०१३ मा उच्च अध्ययनका लागि अष्ट्रेलिया आएका थिए। यतिखेर उनको परिचय सामान्य घेराभन्दा माथि उठिसकेको छ। विजयले अध्ययनमा मात्र सफलता हात पारेका छैनन्, अष्ट्रेलियाली सरकारले तय गरेको समिति, अन्तर्राष्ट्रिय शिक्षाका विभिन्न निकायका उपस्थितिलाई बलियो बनाएका छन्। उनको सफलताको लोभलाग्दो यात्रा देखेर अष्ट्रेलियामा अध्ययनका लागि पुगेका विश्वका विद्यार्थीमात्र होइन, आमसाधारण पनि पुलकित हुन्छन्।
‘म जुन जिम्मेवारीमा छु, त्यो मैले सोचेको सफलता होइन। समय र मेहेनतसँगै भाग्यले डोर्याएको बाटो हो। अब मैले यही बाटोबाट नेपालको भविष्यको मार्गचित्र पनि तयार पार्नुपर्छ भन्ने सपना बुनेको छु’, उनी भन्छन्।
छ लाख अन्तर्राष्ट्रिय विद्यार्थीको साझा संस्था काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट एशोसिएशन (सीसा)को अध्यक्षमा चुनिएपछि विजयको उचाइ ह्वात्तै बढेको छ। यतिखेर साथीभाइ र नीति निर्माता तहबाटै उनको चर्चा चल्न थालेपछि दोस्रो पटक पनि विजय सीसाको अध्यक्षको बलियो दाबेदार बनिसकेका छन्।
शैक्षिक र आर्थिक उपलब्धिसँगै अन्तर्राष्ट्रिय सामाजिक उचाई कायम गरेका विजय करोडौं युवाका आदर्श पात्र हुन्। ‘प्लस टु’ सकेर चितवनबाट काठमाडौं हुँदै इन्जिनियरिङमा स्नातक तहको अध्ययनका लागि अष्ट्रेलिया आएका विजयको परिचय साँघुरो घेरामा रहेन । परिचयको दायरा विश्वभरीका विद्यार्थी माझ फैलियो। अष्ट्रेलियामा रहेका नेपाली समुदायका लागि मात्र होइन, सो समुदायकै परिचयको घेरा विस्तारमा विजयको सफलताले काम गरेको छ। त्यतिमात्र होइन उनको नामले नेपालकै प्रतिनिधित्व अष्ट्रेलियाली सरकारी निकायसम्म पुगेको छ । २२ वर्षको छँदा उनी यहाँ आएका थिए।
२०१३ मा युटियस इनसर्च एक्टिभिटिज क्लबबाट मेडिटेशन सिकाउने र टेबल टेनिश खेलाउनेलगायतका सामाजिक काममा सक्रियता देखाएपछि विजय विश्वविद्यालयमा मन्द गतिमा चर्चामा छाए। उनको यही सामाजिक सहजीकरणका कामले विस्तारै विश्वविद्यालयको विद्यार्थीमात्रको घेराबाट माथितिर धकेलिरहेको थियो। फलतः २०१४ मा उनी युटियस इनसर्च स्टुडेन्ट काउन्सिलको पहिलो नेपाली अध्यक्षमा चुनिए। यसबाट विजयको संघ, संस्था र संगठनको यात्रा मात्र सुरू भएन, सामाजिक प्रतिष्ठासहित जिम्मेवारीको मार्ग पनि खुल्यो। विजयको जिम्मेवारी बढ्दै गर्दा सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प गयो। नेपालको सहयोगका लागि उनीलगायतका युवाहरूको नेतृत्वमा हेल्प नेपाल अष्ट्रेलियामार्फत् ४० हजार डलर जुटाएर नेपाल पठाइएको थियो।
शिक्षाका विविध निकाय र क्षेत्रमा विजयको संलग्नता बढ्ने क्रमको लयमा रोकावट थिएन। २०१५ मा फ्याकल्टी बोर्ड अफ इन्जिनियरिङ र आइटीको सदस्य लिने पहिलो नेपाली विद्यार्थी पनि उनै भए।
उनी भन्छन्,‘अस्ट्रेलिया एउटा बहुसांस्कृतिक देश हो र बहुसांस्कृतिक समाजमा घुलमिल हुनुपर्छ भन्ने मान्यता राख्नैपर्छ। यो सामान्य हो।’
उनकै पहलमा सन् २०१६ को अप्रिलमा विश्वविद्यालयमा श्रीलंकन–नेपाली नयाँ वर्ष कार्यक्रम आयोजना भयो, जहाँ विश्वभरका लगभग ३ सय जना प्रत्यक्ष सहभागी भए। अष्ट्रेलियाको सिड्नीमा रहेको युनिभसिटी अफ टेक्नोलोजीमा अध्ययनरत विजय सन् २०१६ मा न्यु साउथ वेल्स (एनएसडब्लु) इन्टरनेशनल स्टुडेन्ट अफ द इयर अवार्डबाट सम्मानित हुने पहिलो नेपाली विद्यार्थी भए। यो अवार्ड विश्वभरका २०० भन्दा बढी देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरूबीच उनलाई छान्दै न्यु साउथ वेल्स राज्यले प्रदान गरेको थियो।
सापकोटा २०१६ मा नै युटियसको सिनेट मेम्बरमा छानिए। विश्वको ८ औं उत्कृष्ट कान्छो विश्वविद्यालयको सिनेट सदस्य लिने पहिलो नेपाली पनि उनै हुन्।
विजय केही समयका लागि नेपाल फर्कदा पूर्वराष्ट्रपति रामवरण यादवले युवाहरूको प्रेरणा पात्रका रूपमा उनको सम्मान पनि गरेका थिए । उनी ‘युथ इन्स्पीरेशन अवार्ड २०१७’बाट सम्मानित भए।
‘यो सम्मानले अझ मलाई युवाका लागि काम गर्ने जिम्मेवारी थप्यो । यो सम्मान मात्र थिएन उत्तरादायित्वको भारी पनि मैले बोकेको थिएँ । उत्साह र प्रेरणाको उपहार पनि थियो ’, विजय भन्छन् ।
जसरी उनमा उत्साह थपियो त्यसरी नै जिम्मेवारी पनि थपिँदै गए। २०१७ मै काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट एशोसिएशन (सीसा)को अध्यक्षको जिम्मेवारीमा विजय पुगे। यो जिम्मेवारी पाउने पनि उनी पहिलो नेपाली हुन्।
विश्वका ६ लाख ४० हजार भन्दा धेरै विद्यार्थीहरू आबद्ध भएका सीसा ठूलो संगठनका रूपमा परिचित छ। अध्यक्ष भएपछि विजयले सीसाको इतिहासमा नयाँ काम गरे। उनको कार्यकालमा पहिलो पटक सीसामा महिला अधिकृत नियुक्त गरियो। जसले महिला अधिकारको प्रतिनिधित्व र सुनिश्चितता हुने उनले ठानेका छन्।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको एउटा सम्मेलनले उनलाई अझ जिम्मेवारी थप्यो। अष्ट्रेलियाको शिक्षासम्बन्धी उच्चस्तरीय संयन्त्र काउन्सिल फर इन्टरनेशनल एजुकेशनमा उनको प्रतिनिधित्व अनिवार्य रह्यो । यो श्रेय पाउने पनि उनी पहिलो नेपाली नै हुन्। अष्ट्रेलियाका प्रधानमन्त्रीको मातहतमा रहने यस संयन्त्रमा उनी सीसाको अध्यक्ष भएका कारणले पदेन सदस्य हुन्।
यो समितिमा शिक्षामन्त्री अध्यक्ष, परराष्ट्रमन्त्री लगायतका मन्त्रीहरू सदस्य हुन्छन्। यसले अष्ट्रेलियाको शिक्षा क्षेत्रमा नीतिनियम र लगानीका विषयमा निर्णय लिने गरेको छ।
यस समितिले अष्ट्रेलिया शिक्षा प्रदायक संस्था, शैक्षिक संस्थाहरू र राष्ट्रिय तथा राज्यस्तरका सरकारहरूसँग मिलेर शिक्षा क्षेत्रको विकास लागि काम गर्दछ। अष्ट्रेलियाको नरम कुटनीतिमा पनि यो समितिको भूमिका हुन्छ। अष्ट्रेलियाको भावी अर्थतन्त्रको विकास, अन्तर्राष्ट्रिय संलग्नता र आविष्कार लगायतका क्षेत्रमा पनि यस संयन्त्रको प्रभावकारिता हुन्छ जहाँ विजय पनि निर्णायक भूमिकामा पुग्ने पहिलो नेपाली हुन्।
विजयको यात्रा निरन्तर चलिरहेको छ। एउटा उचाईमा पुग्दै गर्दा उनले आफ्ना संलग्नता र सहभागिताको प्रभावकारितामा कतिपय क्रमभंगता पनि गरे। यो क्रमभंगताले अष्ट्रेलियामा उनको मिठो प्रभाव छाडेको छ। उनको कार्यकालमा स्थानीय विद्यार्थी संगठनहरू नेशनल युनियन अफ स्टुडेन्ट, काउन्सिल अफ अष्ट्रेलियन पोष्ट ग्राजुएट एशोसिएशन, नेशनल अबोरिजिनल एन्ड टोरेस स्ट्रेस आयरल्यान्डरर्स पोष्ट ग्राजुएट एशोसिएशनका अध्यक्षबीच ऐतिहासिक सम्झौता गराए।
नेपालीहरूमा सफलताका एउटा नौलो कडी बनेका विजयले अष्ट्रेलियामा सफलताको खुड्किलो अविराम राखे पनि नेपालको बारेमा चिन्तन गरिरहन्छन्। राजनीतिमा नीतिदेखि लगानीका विषयमा बुझेका मानिसहरूको प्रतिनिधित्व उपल्लो ठाउँमा भए विकासका लागि लामो समय नलाग्ने उनी ठान्छन्।
‘हामी नेपाली हरेक हिसाबले संसारसँग जोडिएका छौं। प्रविधिले अझ साँघुरो बनाएर जोडेको छ । तर, नीति बनेका छैनन् । अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने नेतृत्व आवश्यक देखिएको छ’, विजय भन्छन्, ‘८ देखि १० वर्षमा आर्थिक उपार्जन गरी मुलुक समृद्ध बनाउन सक्ने आधार विश्वबजारमा छन्। कम्तिमा २८ देखि ३० खर्ब रकम शिक्षामा मात्र लगानी गर्ने अष्ट्रेलियाको उदाहरण काफी छ। नेपालमा लगानीकर्ता भित्राउन नीतिगत तहदेखि नै विज्ञको आवश्यक देखेको छु ।’
सिसाका अध्यक्ष भैसकेपछि अन्य मुलुकका सरकारले आफ्नै देशमा बोलाएर देशमा विभिन्न जिम्मेवारी दिएको दृष्टान्त दिँदै विजय भन्छन्,‘हाम्रो देशमा त मुलुकको सफलताको नाम बोक्ने नेपालीकै लेखाजोखा पनि छैन। नेपाल गएर यसो केही गर्न खोज्यो, राज्यको संयन्त्रसम्म पुग्नै मुश्किल हुन्छ। तर, पनि हिम्मत हारेको छैन, बनाउने आफ्नै देश हो, जन्मेको ठाँउ र हुर्केको गाउँ त्याग्न सकिन्न, विजयको अठोट यस्तो छ ।