तामाङ रिक्रेएसन क्लबले आफ्नो क्लबका सहयोगी र खेलाडीको उपस्थितिमा एक सम्मान कार्यक्रमको आयोजना गरेको छ।
अखिल नेपाल फुटबल संघका निर्वतमान अध्यक्ष नरेन्द्र श्रेष्ठ, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ , होटल ब्यवसायी संघका केन्द्रिय सदस्य तथा काठमाडौं फुटबल संघका उपाध्यक्ष युवराज श्रेष्ठ, सशस्त्र प्रहरीका खेल ब्यवस्थापक तथा प्रनाउ प्रेम श्रेष्ठ र क्लबका संस्थापक अरुण तामाङ लगायतका ब्यक्तिलाई क्लबले सिड्नीमा सम्मान गरेको हो।
नेपाली खेल क्षेत्रमा योगदान पुर्याउने ब्यक्तित्व र क्लबलाई सहयोग गर्ने खेलाडी तथा पदाधिकारीको सम्मानमा आयोजित कार्यक्रममा प्रवासमा फुटबलको माध्यमवाट मुलुकको पहिचान बढाउने कार्यमा लागिपरेको टीआरसीलाई सबैले बधाइ तथा धन्यबाद प्रदान गरे।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका निर्वतमान अध्यक्ष नरेन्द्र श्रेष्ठले विदेशमा निजी काममा आउदाँ पनि फुटबलको माध्यमवाट सम्झने टीआरसी धन्यवादको पात्र रहेको र यसले परदेशमा पनि नेपाली फुटबलको मान र शान बढाउदै गएकोमा खुसी ब्यक्त गरे।
श्रेष्ठले नेपालको फुटबलमा परिवर्तन ल्याउन पूर्वाधार र विकासको आवश्यकता रहेको बताउँदै एकै रात, दिन र महिनामा आमुल परिवर्तन हुन नसक्ने ठोकुवा गरे। नयाँ नेतृत्वलाई जिम्मेबारी सुम्पेर आएपछि आफू फुटबलको सिपाही भएकोले दिएको र पाएको जिम्मेबारीवाट पछि नहट्ने श्रेष्ठले बताए ।
अर्का सम्मानित ब्यक्तीत्व युवराज श्रेष्ठले बिदेशमा बसेर पनि समय निकालेर फुटबलमा लाग्नु आफैंमा महत्वपूर्ण भएको जिकिर गर्दै क्लबको सफलताको कामना गरे।
अतिथिका रुपमा रहेका प्रेम श्रेष्ठले बिदेशमा आएर खेलकुदको माध्यमवाट कसैले सम्झना गरेकोमा आफू निकै हर्ष बिभोर भएको बताए। उनले यस्तो सम्मानले भबिष्यमा खेलकुदमा अझ थप केहि गर्न प्रेरणा मिल्ने सुनाए।
एनआरएनका उपाध्यक्ष नन्द गुरुङले खेलकुद महत्वपूर्ण विधा भएकोले यसले मुलुक चिनाउनुका साथै प्रवासमा आपसी भाइचारा र सम्वन्ध बिस्तार गर्ने हुनाले टीआरसी धन्यवादको पात्र रहेको बताए।
क्लबका संस्थापक अरुण तामाङले नेपालमा खेलकुद राज्यको आखाँमा पर्न नसक्नु दुर्भाग्यको विषय रहेको बताउदै नेपाली राष्ट्रिय फुटबल टोलीलाई अस्ट्रेलिया ल्याएर यहाँका क्लबहरूसँग मैत्रिपूर्ण फुटबल खेलाउने योजना बनाउन आग्रह गरे।
तामाङले त्यसका लागि आफुहरु पनि लागि पर्ने र यसले नेपाली फुटबलको विकासमा टेवा पुग्ने बताए ।
क्लबका अध्यक्ष अनिल तामाङले क्लबले आफ्नो स्थापना देखिनै फुटबलको विकास र बिस्तारसँगै सामाजिक कार्यमा समेत आफूलाई सर्मपित गर्दै आएको बताए।
कार्यक्रमा एन्फा पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठ र युवराज श्रेष्ठलाई क्लबले मानार्थ सल्लाहकारमा राख्ने निर्णइ पनि सुनाएको थियो। क्लबका खेलाडीलाई सम्मानित ब्यक्तीत्व युवराज श्रेष्ठले नयाँ जर्सी समेत प्रदान गरेका थिए ।