महिला तथा घरेलु हिसांविरूद्धको जनचेतना नाराका साथ एनआरएन अष्ट्रेलियाको नियमित कार्यक्रम ‘वाक फर वेलफेयर’ यस पटक पनि मेलबर्नमा सम्पन्न भएको छ।
‘नारी सशक्तिकरण’ मुख्य नारा रहेको कार्यक्रमको प्रमुख अतिथिमा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन आईसीसी पूर्वअध्यक्ष शेष घले, जमुना घलेसमेत सहभागी थिए।
कार्यक्रममा सहभागी हुन सिड्नीबाट समेत एनआरएन अष्ट्रेलियाका पदाधिकारीको उपस्थिति थियो। अघिल्लो वर्ष विद्यार्थीको हितमा गरिएको वाक फर वेलफेयरलाई यस पटक भने महिला तथा घरेलु हिसांविरुद्धको अभियानमा समाहित गरिएको हो।
मेलवर्नका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको वाक फर वेलफेयरमा करिब तीन सय जनाको उपस्थिति थियो।
प्रिन्सेस पार्कमा सम्पन्न कार्यक्रममा केही महिलाले आफूहरु कसरी महिला हिंसाको शिकार भएको कुरा समेत कार्यक्रममा सार्वजनिक गरेका थिए।
कार्यक्रम आयोजनाका लागि स्थानीय २५ जना महिलाले संयोजन निर्वाह गरेका थिए।
कार्यक्रममा भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योन्जन, एनआरएनका पूर्व अध्यक्ष शेष घले, ब्यवसायी जुमना घलेले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा एनआरएन अध्यक्ष टोनु गोथाने, कार्यक्रमकी संयोजक प्रतिज्ञा अधिकारीलगायतले कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए।
नारी निकुन्ज भिक्टोरिया संयोजक नितु गुरूङले स्वागत गरेको कार्यक्रममा दिक्षा न्यौपानेले सहभागिलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरियाका संयोजक केशव कँडेलले कार्यक्रम भब्य र सभ्य भएको र एनआरएनको आग्रह स्वीकारेर सहयोगका लागि आउनुहुने नेपाली समाजका सम्पूर्ण अगुवाहरू धन्यवादका पात्र रहेको बताए।