काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलिया (सीसा) को इतिहासमा लगातार दोस्रो पटक र पहिलो निर्विरोध अध्यक्ष बन्दै नेपाली ठिटो विजय सापकोटाले फेरि एक पटक अस्ट्रेलियाको शैक्षिक जगतमा आफ्नो पहिचान कायम गरेका छन्।
चितवने युवा विजय सापकोटा करिब सात लाख अन्तर्राष्ट्रिय विद्यार्थीको साझा संगठनका रूपमा रहेको सीसामा गत वर्ष केन्द्रीय अध्यक्षका रुपमा निर्वाचन जितेर तहल्का मच्चाएका थिए।
अस्ट्रेलियाको पर्यटकीय नगरी क्रेन्समा आयोजित काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलियाको निर्वाचनमा अन्य पदमा आज चुनाव हुँदै गर्दा अध्यक्ष पदमा भने यी नेपाली युवा विजय सापकोटा निर्विरोध भएका छन्।
‘साथीभाइको माया सदभाव र सबैभन्दा महत्वपूर्ण विषय भनेको संस्थाको गरिमा बढाउन विगत एक वर्षमा मैले अनवरत रुपमा गरेका कामको मूल्यांकन हो जस्तो लाग्छ,’ अध्यक्ष पदमा अन्य कसैले उमेदबारी नदिएपछि निर्विरोध भएका विजयले सेतोपाटीसँग भने।
अस्ट्रेलियामा रहेको लाखौं अन्तर्राष्ट्रिय विद्यार्थीको हक र हितमा अनि अस्ट्रेलियन सरकारको शैक्षिक निकायसँगको पहुँच र सम्वन्धले पनि आफूलाई दोस्रो पटक उमेदवारी दिने वातावरण बनाएको उनले बताए।
‘यो मेरो मात्र होइन, नेपाल र अस्ट्रेलियामा रहेको सम्पूर्ण नेपाली समुदायको जित र सफलता हो भन्ने मैले ठानेको छु। एउटा नेपाली विद्यार्थीले चाह्यो भने यहाँको नेतृत्वतहसम्म पुग्न सक्छ भन्ने कुराको प्रमाण हो यो,’ क्रेन्समा विजयउत्सवमा रहेको विजयले भने।
सीसाको साधारणसभाका साथै ओभर कमिङ ब्यारियर्स, अर्थात ‘तगाराहरू पन्छ्याउँदा ’ भन्ने बिषयमा क्रेन्समा दुई दिने छलफल समेत सन्चालन भएको थियो।
अस्ट्रेलियाका बिभिन्न राज्यका शिक्षालयमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका झन्डै डेढ सय नेता, दर्जनौं विद्वान, व्यवसायी र सरकारी अधिकारी सहभागी भएको सम्मेलनका भिन्न सत्रहरूमा शिक्षा क्षेत्रका अवरोध र विलार्थीका हक अधिकारका विषयमा बहश भएको थियो। अध्यक्ष पद निर्विरोध भए पनि अन्य पदमा भने आज निर्वाचन हुन गइरहेको आयोजक सीसाले जनाएको छ।
सीसाको साधारणसभामा शैक्षिक परामर्शदाताको संगठन एकाका अध्यक्ष निरज श्रेष्ठ र डार्विनका शैक्षिक परामर्शदाता शम्भु कँडेल तथा सिडनीका युवा अभियन्ता महेश प्रसाईले पनि सहभागिता जनाएका थिए।