अस्ट्रेलियाको मेलबर्नमा आगामी शनिबार नेपाल-अस्ट्रेलिया विजनेस फोरम हुने भएको छ।
नेपाली राजदूतावास क्यानबेरा र नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालय भिक्टोरियाको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना हुन लागको हो ।
जुन ३० तारिख शनिबार सञ्चालन हुने बिजनेस फोरममा नेपाल र अस्ट्रेलियाबीचको व्यापार, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवसर, अस्ट्रेलियामा आयात गर्न सकिने वस्तुहरुको पहिचान लगायतका विषयमा छलफल हुने महावाणिज्यदूतको कार्यालय भिक्टोरियाले जानकारी दिएको छ।
कार्यक्रममा सहभागि हुन नेपालबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्ट अस्ट्रेलिया आउने पक्का भएको छ ।
यस्तै भिक्टोरियाका अर्थमन्त्री रविन स्कट, लेजिस्लेटिभ काउन्सिलका सभापति ब्रुस अटकिन्सन, वैदेशिक सम्बन्ध हर्ने डिफ्याटकी निर्देश फियोना म्यकग्रा, एनआरएनए आईसीसीका पूर्व अध्यक्ष शेष घले, महावाणिज्यदूत फ्रंयांकी रिडसहित १०० बढी अस्ट्रेलियन व्यवसायी र लगानीकर्ताहरु सहभागी हुनेछन्।
अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले अस्ट्रेलियासँगको कुतनितिक सम्वन्धसँगै ब्यापार र लगानीको सम्भावना अध्ययन गर्न यो कार्यक्रम निकै महत्वपूर्ण हुने बताइन्।
यस्तै भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले नेपाल र अस्ट्रेलियाबीच सम्बन्ध स्थापनाको ५८ वर्ष बितिसक्दा पनि अस्ट्रेलियासँग नेपालले खासै ब्यापार गर्न नसकेको परिपेक्षमा यो कार्यक्रमले दुई देशबीच आर्थिक कुटनीतिमा नया आयाम थप्न सक्ने बताए।