गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले नेपाली पाठशाला टास्क फोर्स समितिको प्रयासमा अष्ट्रेलियाव्यापी नेपाली भाषा पाठशाला सञ्चालकहरुको राष्ट्रिय सम्मेलन सिड्नीमा आयोजना गर्ने भएको छ।
आउँदो जुलाइ आठ तारिख सिडनीमा आयोजना हुन लागेको यस प्रथम सम्मेलनमा एनआरएनले सम्पूर्ण अष्ट्रेलियावासी नेपाली दाजुभाई तथा दिदीबहिनी एवं अभिभावकहरुलाई अमुल्य सुझाबका लागि अनुरोध समेत गरेको छ ।
गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले पहिलो पटक नेपाली भाषा सम्वन्धी एक दिने कार्यहाला गोष्ठी आयोजना गर्न लागेको हो ।
अस्ट्रेलियामा बढ्दो नेपाली समुदायको उपस्थिति संगै आफ्नो कला, भाषा, साहित्य र संस्कृति को जगेर्ना तथा संरक्षण गरि दोस्रो पुस्तामा समेत यसको ज्ञान दिन यो कार्यक्रम महत्वपुर्ण सावित हुने एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले बताए।
अस्ट्रेलियाका बिभिन्न स्थानमा समुदायद्धारा सञ्चालित विभिन्न पाठशालाहरुलाई गोलबद्ध गरेर पाठ्यक्रम तथा अन्य शैक्षिक सामग्रीमा एकरूपता तथा बढावा दिने उद्देस्यका साथ सम्मेलन आयोजना गरिन लागेको प्रवक्ता खरेलले प्रष्टाए ।
‘भाषा नरहे न भेष रहन्छ न त देशको माया। भाषानै मुलुकसँग जोड्ने सबैभन्दा महत्वपूर्ण विषय भएकोले यसको जर्गेना गर्नु एनआरएनको प्रमुख कर्तब्य पनि हो। यतिखेर दोस्रो पुस्तामा भाषाको महत्व बुझाउन सकेनौं भने हामी कागको कुहिरो जस्तो हुनेछौ,’ प्रवक्ता खरेलले भने, ‘विदेश बस्ने अनि भाषा नुबुझ्ने भएपछि हाम्रो कला, संस्कृति र मुलुकसँग जोडिने महत्वपूर्ण माध्यम नै मासिन्छ।’
दोस्रो पुस्तामा नेपाल, नेपाली र नेपाली कला, भाषा , साहित्य र संस्कृतिको बारेमा निरन्तर र उचित जानकारी गराई नेपाली कला, भाषा, साहित्य र संस्कृतिलाई जिवन्त राख्नु अहिलेको प्रमुख आवश्यकता भएकोले एनआरएन अस्ट्रेलिया यस कार्यमा अग्रसर रहेको खरेलले सुनाए।