अस्ट्रेलियाको मेलबर्नमा नेपाल-अस्ट्रेलिया विजनेस फोरम-२०१८ सम्पन्न भएको छ।
नेपाली दूतावास क्यानबेरा र नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालय भिक्टोरियाको संयुक्त आयोजनामा पहिलोपटक यहाँका नेपाली र अस्ट्रेलियनको सहभागितामा यस्तो कार्यक्रम आयोजना भएको हो।
नेपाली र अस्ट्रेलियन राष्ट्रिय गानबाट सुरू भएको फोरमको भीक्टोरीयाका अर्थ मन्त्री रबीन स्कट र राजदूत लक्की शेर्पाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा नेपाल र अस्ट्रेलियाबीचको व्यापार, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवसर, अस्ट्रेलियामा आयात गर्न सकिने वस्तुहरुको पहिचानलगायतका विषयमा वक्ताहरुले आ-आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा नेपालबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, भिक्टोरियाका अर्थमन्त्री रविन स्कट, परराष्ट्र सम्बन्ध डिफ्याटकी निर्देशक फियोना म्याकग्रा, नेपाली मूलका अस्ट्रेलियाली सफल व्यवसायी शेष घले, एनआरएनए आईसीसी अध्यक्ष तथा युवा ब्यवसायी भवन भट्ट, महावाणिज्यदूत चन्द्र योन्जन, दीपक खड्का, दीपक धमला, एनआरएनका क्षेत्रीय संयोजक तथा सफल ब्यवसायी धर्म अधिकारी, सामाजिक अगुवा मन कैसी, रन्जु वाग्ले, डीला खरेल, स्वतन्त्र प्रताप साह लगायत अस्ट्रेलियाका १०० बढी नेपाली तथा अस्ट्रेलियन व्यवसायी र लगानीकर्ताहरु सहभागी थिए।
अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले मुलुकमा राजनीतिक स्थिरता आएको भन्दै वैदेशिक लगानी अभिवृद्धि गर्न यो कार्यक्रम सफल हुने बताइन्। ‘हामीले नेपाल विजनेस काउन्सिल निर्माण गर्ने तयारीको रुपमा यसलाई लिएका छ,’ उनले भनिन्।
गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले पछील्लो परीस्थितिमा मुलुकमा लगानिको अवसर र बातावरण बन्दै गएको बताए। स्थायित्व र पूर्वाधार लगानीका मुख्य आधार रहेकोले सरकार यस विषयमा संवेदनशील रहेको आफूले पाएको बताए।
भट्टले बन्द सेसनको समेत अध्यक्षता गर्दै एनआरएन बिकसीत नेपाल र सुखी नेपालीको नारालाई सफल बनाउन प्रवासमा रहेका सबै नेपाली लाग्नुपर्ने बताए।
चर्चित ब्यबसायी शेष घलेले नेपालमा आफूहरू अष्ट्रेलियन भए पनि अस्ट्रेलियामा भने नेपाली बनेर मुलुकसँग जोडिएको बताए।
यस्तै भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले नेपाल र अस्ट्रेलियाबीच सम्बन्ध स्थापनाको ५८ वर्ष बितिसक्दा पनि अस्ट्रेलियामा गार्मेन्टसहित केही थोरै मात्र सामग्रीहरु निर्यात गरेको तर यहाँबाट नेपालमा पेयपदार्थ, हवाई उड्डेयनका सामग्रीहरु लैजाने गरेको भन्दै अब भने दुई देशबीच आर्थिक कुटनीतिको छलफल महत्वपूर्ण साबीत हुने बताए।
सहभागीमध्ये केही अस्ट्रेलियन ब्यबसायीले सड़क र बातावरणका बारेमा राज्य संबेदनशील हुनुपर्ने बताए।