‘ज्यान विदेशमा भए पनि मन स्वदेशमा नै छ’ भन्ने यर्थाथतालाई मध्यनजर गर्दै गैर आवासीय नेपाली अष्ट्रेलिया न्यू साउथ वेल्सले ‘एक प्रदेश, एक स्कूल’लाई सहयोग गर्ने निर्णय गरेको छ।
एनआरएनले यही आउँदो आइतबार इन्द्रेणी फक्सन सेन्टर रक्डेलमा स्कूललाई सहयोग गर्ने उद्धेश्यसहित रात्रिभोजको कार्यक्रम आयोजना गर्दैछ।
‘शिक्षा मुलुकको पहिलो प्राथमिकता रहेकोले पनि हामीले सात प्रदेशका ग्रामीण इलाकामा रहेका नौ वटा स्कूललाई आवश्यक सहयोग गर्ने उद्देश्यका साथ यो कार्यक्रमको सुरूवात गरेका हौं’, एनआरएन एनएसडब्लुका संयोजक नन्द गुरुङले बताए ।
गुरुङले सहयोग संकलनका लागि आयोजना हुने कार्यक्रममा नेपीन्डो लगायतको सांस्कृतिक समूहको प्रस्तुती रहेको बताए ।
गत केही वर्ष पहिला गएको महाभूकम्पले तहसनहस पारेका, पिछडिएको र ग्रामीण इलाकाका विद्यालयलाई प्राथमिकताका साथ आर्थिक, भौतिक तथा प्राविधिक रूपमा सहयोगको सुरूवात गर्ने र प्रत्येक वर्ष यो परम्परालाई निरन्तरता दिने एनआरएन एनएसडब्लुका स्कूल संयोजक दिपक पहारीले बताए ।
यसका साथै एनएसडब्लु राज्यमा रहेका नेपाली समुदायको पहिचान बढाउन उच्च अंक ल्याएर माध्यमिक तह पास गर्ने नेपाली विद्यार्थीलाई समेत सम्मान गरिन लागेको पहारीले जानकारी गराए ।
‘यहाँको नेपाली समुदायमा हातेमालो गर्ने र नयाँ पिढीलाई उत्साह थप्ने काममा पनि एनआरएन अगाडि बढेको छ भन्ने सन्देश पनि हो यो,’पहारीले सुनाए ।