नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले प्रत्येक वर्ष मनाउँदै आएको भानु जयन्ती यस पटक कवि गोष्ठी र सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको छ।
दोस्रो पुस्तामा भाषासँगै कला साहित्य र संस्कृति जोड्ने उद्धेश्यका साथ आयोजना गरिएको भानु जयन्ती कार्यक्रममा एक दर्जन कविहरूले कविता पाठ गरेका थिए।
साना बालबालिकाको आकर्षक नृत्यबाट सुरु भएको कार्यक्रममा स्थानीय लेबर पार्टीकी राज्य सांसद जुलि फीनको पनि उपस्थिति थियो।
कार्यक्रममा बोल्दै अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले बिदेशमा बस्ने दोस्रो पुस्ताका नेपालीको लागि सबैभन्दा महत्वपूर्ण विषय भाषा रहेको बताइन्।
शेर्पाले बिदेश आउने पहिलो पुस्ताका नेपाली हाम्रो कला, संस्कृति र रहनसहनसँग जोडिए पनि दोस्रो पुस्तामा भने यसको प्रभाव घट्दै गएकाले यस्ता कार्यक्रमको महत्व बढेको बताइन्।
उनले घरमा बोल्दा होस् या बच्चासँग खेल्दा हामीले उनिहरूलाई नेपाली भाषाको ज्ञान दिनसक्यौं भने मात्र उनिहरू मुलुकसँग जोडिन सक्ने बताइन्।
नेपाली साहित्यका अग्रणी आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइरहँदा नेपाली अभिभावकले आफ्ना नानीलाई भाषाको बारेमा ज्ञान दिने कुरामा ख्याल राख्न राजदूत शेर्पाले आग्रह समेत गरिन्।
उनले अंग्रेजी बोलेर मात्र ठूलो हुने नभइ बाल बालिकाले चाडै सिक्नेहुँदा आठ दश भाषा बोल्न सक्ने क्षमता हुने हुनाले सबै समुदायले आफ्नो कला संस्कृती र भाषा नयाँ पुस्तामा बाड्न आवश्यक रहेको बताइन्।
कार्यक्रममा स्थानीय लेबर पार्टीकी सांसद जुली फीनले अस्ट्रेलियाको मल्टीकल्चर समाजमा सबैले आ-आफ्नो भाषा, संस्कृतिको जर्गेना गर्ने परम्परा प्रारम्भ हुनु खुसीको विषय भएको बताइन्।
अस्ट्रेलियामा सबैभन्दा तिब्र गतीमा बढ्दै गरेको नेपाली समाज र नेपाली भाषाको प्रर्वधनमा आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने बचनबद्धता समेत फीनले प्रकट गरिन्।
कार्यक्रममा न्यु साउथवेल्स राज्यका महाबाणिज्यदूत दिपक खड्काले हामी जुनै देशमा बसे पनि बेग्लै पहिचान बोके पनि नेपाली नामले नै चिनिनेहुँदा आफ्नो मौलिकताको जर्गेना गर्नु हाम्रो कर्तब्य समेत भएको बताए।
गैर आवासीय नेपाली संघ ओसेनियाका संयोजक धर्म अधिकारीले आफू अस्ट्रेलिया बसेर ब्यवसाय गर्दै आए पनि पहिलो पहिचान भनेको नेपाल र नेपाली भएकोले हाम्रो भाषाको जर्गेना गर्नु परम कर्तब्य रहेको बताए।
अधिकारीले नयाँ पुस्तामा भाषिक ज्ञानमा देखिएको अप्ठ्याराहरुलाई अभिभावक र समाजिक संघ संस्था मिलेर भाषिक कक्षा तथा सांस्कृतीक अभियानको थालनी गरी मार्ग प्रसस्त गर्नु पर्ने समेत बताए।
कार्यक्रममा नेपाली समाजका अगुवा नारायण प्रधान, इन्द्रा वन, कृष्ण हमाल, एनआरएनका पूर्व अध्यक्षहरू गोवा कटुवाल, गणेश केसी ,सुरेन्द्र सिग्देल एनआरएनका उपाध्यक्ष नन्द गुरूङ, अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रिय अध्यक्ष दिनेश पोखरेलले पनि भानुजयन्तीको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरेका थिए।
नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न बिधाका विजेतालाई पुरस्कृत समेत गरिएको थियो।