गैर आवासीय नेपाली अष्ट्रेलिया न्यू साउथ वेल्सले एक प्रदेश, एक स्कुललाई सहयोग गर्ने उद्धेश्यका साथ सिड्नीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतिभाशाली विद्यार्थी सम्मान समेत गरेको हो।
नेपालको दुर्गम जिल्लामा रहेका सरकारी स्कुललाई सहयोग गर्ने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रममा करिब तीन सय ब्यक्तित्वको सहभागिता थियो।
कार्यक्रममा न्यू साउथवेल्सबाट उच्च माध्यामिक तहमा सर्वाधिक अंक ल्याएर नेपाली समाजको प्रतिष्ठा अभिवृद्धि गर्ने पाँच प्रतिभाशाली जेहन्दार विद्यार्थीलाईसमेत सम्मान गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले मुलुकको पिछडिएको क्षेत्रमा रहेका ग्रामिण स्कुललाई सहयोग गर्ने उद्धेश्यका साथ आयोजित कार्यक्रम आफैंमा महत्वपूर्ण रहेको बताइन्।
राजदूत शेर्पाले एनआरएनले मुलुकको विकास निमार्णका कार्यमा लामो समयदेखि गर्दै आएको योगदान महत्वपूर्ण रहेको बताउँदै देश विकासमा हात बढाउने प्रवासी मनहरू धन्यवादका पात्र रहेको सुनाइन्।
शेर्पाले सोही अवसरमा एचएससीमा सर्वोकृष्ट अंक हासिल गर्ने मेलिका कार्की, अनुष्का पोखरेल, हिम्प्रीत गुरूङ, विवेक मिश्र र आयम श्रेष्ठलाई सम्मान गर्दै नेपाली युवा पिढीले अस्ट्रेलियाको शिक्षामा समेत आफ्नो अलग पहिचान बनाएकोमा बधाइ ज्ञापन गरेकी थिइन्।
कार्यक्रममा एनआरएन ओसेनियाका संयोजक धर्म अधिकारीले विदेशमा रहदै गर्दा स्वदेशको माटोलाई माया गर्ने कुरामा नेपालीहरू सधै अगाडि रहेको बताउँदै सबैभन्दा पहिले आफ्नो गाउँको विकास गर्ने अनि जिल्लाको र त्यसपछि क्षेत्रको र देशको उन्नतीमा हामी जुट्नु पर्नेबेला आएको बताए।
उनले सोही समारोहमा आफ्नो तर्फबाट सहयोगको समेत घोषणासमेत गरे।
एनआरएनले प्रवासमा रहेर मुलुकको हितमा र अन्य विषयमा धेरै काम गरे पनि नदेखिएको बताउँदै एनआरएनका उपाध्यक्ष नन्द गुरूङले देशको मुहार उज्यालो पार्ने विषयमा आफूहरू लागिपरेको बताए।
उनले एनआरएनले विलार्थीको हितमा समेत थुप्रै कार्य गर्दै आएको स्मरण गराए। एनआरएन एनएसडब्लुका स्कुल कार्यक्रम संयोजक दिपक पहारीले बाजुराको चन्द्रनाथ, कालीकोटको थिङ्लेनी देवी, कास्कीको प्रभात मावी, लमजुङको जनज्योती, धादिङको मान्डली, नुवाकोटको चनडाँडा, ताप्लेजुङको दुर्गा मावी, बाँकेको श्री रारा र सप्तरीको राष्ट्रिय मावीलाई पहिलो चरणमा आर्थिक तथा भौतिक सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए।
कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्का, एनअराएनकी पूर्व प्रवक्ता रन्जु थापा, एनआरएनका महासचिव नारायण कोइराला, लगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए। एनआरएन एनएसडब्लुका सरोज पाण्डे र नारी निकुन्जकी सन्ध्या शाहले सञ्चालन गरेको कार्यक्रममा चित्रकार कृष्ण श्रेष्ठको पेन्टिङबाट समेत करिब दुई हजार सात सय डलर संकलन गरिएको थियो।
महेश प्रसाई र विजय पौडेलको निकै आकर्षक मोलमोलाईमा युवा व्यवशायी सन्जिव शर्मा, किरण थापा र जितेन्द्र श्रेष्ठले पेन्टिङ खरिद गरेर कार्यक्रममा सहयोग पुर्याएका थिए।