कुनै जमाना थियो-एउटा नेपालीले अर्को नेपाली भेट्दा गर्वले छाति फुल्थ्यो, अनि आफ्नै नाता गोता जस्तो मान सम्मान गरिन्थ्यो।
सत्तरीको दशकमा इन्द्रा दिदी पहिलो नेपाली महिलाका रुपमा अस्ट्रेलिया भित्रिएको अनुमान गरिन्छ। रेकर्डमा यसअघि स्थायी बासिन्दाको रुपमा आउने नेपाली महिला अझसम्म भेटिएको छैन।
इन्द्रा वन अष्ट्रेलियाको नेपाली समुदाय भित्र अत्यन्तै परिचित नाम हो। सादा जीवन उच्च विचारनै इन्द्रा दिदीको पहिचान हो।
अष्ट्रेलियाका नेपाली समुदायमा अगुवाको रूपमा रहेकी इन्द्रा वनलाई नचिन्ने मान्छे विरलै होलान्। अष्ट्रेलियामा पहिलो पुस्ताका लागि इन्द्रा दिदी गर्वले लिने नाम हो। उहाँको नाम नै काफी छ उहाँको परिचयको लागि।
जसरी एउटी दिदी आफ्ना भाइबहिनीको अभिभावक हुन्छिन् यस्तै नेपाली समाजमा समुदायको सुखदुःखमा सधै साथ रहने इन्द्रा वन सबैकै दिदी बनेकी छन्।
समाजका प्रायःजसो मानिसले पहिलो प्राथमिकतामा आफूलाई राख्छ, अनि आफ्नो परिवार त्यस पछि समाज। तर, इन्द्रा वनको लागि पहिलो प्राथमिकतानै अस्ट्रेलियाको नेपाली समाज हो नेपाल छोडेर विदेशी भूमिमा आएकी एउटी नारीले समाजलाई परिवार मानेर सेवा गर्नुमै आफ्नो कर्तब्य ठानिन्।
मानिसलाई जब दुःख पर्छ त्यतिबेला सबैभन्दा नजिकको मानिसलाई सम्झन्छौं। किनकी त्यस्ता ब्यक्ति हाम्रो हृदयको नजिक हुन्छ। अष्ट्रेलियामा रहेको नेपाली समाजलाई दुःख पर्दा इन्द्रा दिदीलाई सम्झने गरिन्छ। किनकी, उहाँले गरेको समाजसेवाले उहाँलाई हाम्रो हृदयको नजिक पुर्याएको छ। यतिखेर समाज बाक्लिदै गर्दा बिभिन्न संघ संस्था र ब्यक्तित्वको बलियो उपस्थिति भैसकेको छ। तर पनि नेपाली समाजका पीडा र दुःखमा साथ दिने कुरामा इन्द्रा दिदी सधै तत्पर देखिन्छिन्।
इलामको लुम्बकमा जन्मेकी वन आफ्नो स्कुले जीवन सकाएर उच्च शिक्षाको लागि राजधानी काठमाडौं आएकी थिइन्।
जतिबेला उनी काठमाडौंको शिक्षामा ब्यस्त भइन् त्यतीबेला बिदेश भन्ने कुन चराको नाम हो भन्ने कहानी हुन्थ्यो। जंगबहादुरको बेलायत यात्रा इतिहासमा पढे पनि केही उच्च घरानिया मात्र विदेशमा पढ्ने र उता बस्ने गरेको सुनिन्थ्यो।
काठमाडौंमा पढ्दै गर्दा इन्द्रा वनलाई सधै आफ्नै घर र गृह जिल्ला इलामको मोहले छाडेन। काठमाडौंमा रहेर पनि गामबेसीका भाका र परिवारप्रति चिन्तन बोक्ने इन्द्रा दिदीले सन् १९७५ मा उच्च अध्ययनका लागि बिदेश आउने मौका पाइन्।
काठमाडौंमा रहेर समाज सेवा गर्न नसकेकी वनले विदेशमा पढेर केही गरे स्वदेश फर्कने र समाजसेवामा लाग्ने उद्धेश्य बोकेर अस्ट्रेलिया आएकी थिइन्।
१९७५ मा नेपालबाट स्थायी बासिन्दाको अनुमति पत्र लिएर अष्ट्रेलिया आए पनि यता बस्ने इन्द्रा वनको भित्री कुनै योजना र इच्छा थिएन।
यहाँ सिप सिकेर नेपाल फर्कने चाहना बोकेर अष्ट्रेलिया आएको सुरूवाती दिनको स्मरण गर्दै इन्द्रा वन भन्छिन्, ‘केही वर्षसम्म यहाँ नेपाली अनुहारहरू भेटाउन निकै कठिन थियो, कतै नेपाली अनुहार देखियो भने निकै खुसी लाग्थ्यो। त्यसरी भेटिएका नेपालीबीच सम्पर्क बढाएर चाडपर्व मनाउने, समय समयमा भेटघाट गर्ने गरेका थियौ।’
नेपालमा छँदा अध्ययनका कारण समाजसेवालाई प्राथमिकतामा राख्न नपाएकी इन्द्रा अष्ट्रेलिया आएपछि समाजसेवामा जमेर लाग्ने मौका पाइन्। अष्ट्रेलिया आएको १ वर्षपछिनै उनको पाइला समाजसेवा तर्फ लम्कियो। त्यसपछि अहिलेसम्म इन्द्रा वनका खुट्टाहरु अझै समाजिक कार्यमा थाकेका छैनन्।
एकै दिन चार पाँच वटासम्म हुने समुदायका कार्यक्रममा इन्द्रा दिदी पुग्दा सबैको अनुहार हसिलो हुने गर्छ।
वन भन्छिन्, ‘सन् १९७६ को समयमा अष्ट्रेलियामा नेपाली भेट्टाउन त्यती सजीलो थिएन छरिएर बसेका नेपालीलाई एक समूह बनाउन लामो कसरत गर्नुपर्यो।’
नेपाली भेट्टाउन नेपाली विलार्थी र नेपाली समुदायको निम्ति नेपाली एशोसिएसन गठन गरेर संस्थागत रुपमा कामको थालनी गरेपछि अलि सजिलो भएको उनको भनाई छ।
नेपाली विलार्थीलाई आर्थिक समस्या पर्दा नेपाली एशोसिएशनले सहयोग गर्ने काम गरेको र नेपाली नेपाली बिचको भेटघाटलाई तिव्रता बढाउन एशोसियसनको ठूलो भूमिका रहेको वन सम्झना गर्छिन्।
अस्ट्रेलियाली चौथो उच्चस्तरको अवार्डबाट सन् २०११ मा यहाँको सरकारले समाजमा पुर्याएको योग्दानको कदर गर्दै वनलाई अर्डर अफ अस्ट्रेलियाजस्तो निकै ठूलो सम्मान समेत गरेको थियो।
विदेश आइसकेपछि उनलाई मन परेको एउटा कुरा रहेछ। त्यो के भने नेपालमा छुवाछुत जातभातका कारण विभेदित हुने समाज विदेशमा आएपछि भने समान हुनेरहेछन्। ‘हामीबीच कहिले पनि जातभात र राजनीतिको लागि विवाद भएन, सधै नेपाली भएर बस्यौ अनि चिनियौं पनि। यहाँ सबैको एउटै परिचय छ त्यो हो नेपाली।’
तर उनको दुखेसो पनि छ, ‘हाम्रो समाज मुलुकको राजनीतिबाट टाढा जान सकेको छैन। यहाँ पनि बिस्तारै राजनीतिले नेपाली समाजमा फाटो ल्याउन खोजेको छ। केही सामाजिक संघ संस्थामा राजनीति घुसेको छ। मुलुकवाट सात समुन्द्र पर आएपछि पनि मुलुकको राजनीतिका कारण बिभाजित हुनु पक्कै पनि दुःखको कुरा हो,’ वनको गुनासो छ।