संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथामा विजय प्राप्त गरेको दिन अर्थात मे २९ लाई विश्वभर चर्चा बटुले पनि सूचीकृत रूपमा यसलाई मनाउने प्रचलन भने नेपालमा मात्र छ। तर, अहिले आएर सगरमाथाको विजयसँग जोडिएको न्युजिल्यान्डले पनि मे २९ लाई संसदको कार्यसूचीमा राखेर महत्वको विषय भित्र पारेको छ।
क्राइष्टचर्च क्षेत्रका सांसद डा. डंकन वेबले न्युजिल्यान्डको संसदमा मे २९ लाई एभरेष्ट डे का रुपमा सूचीकृत गर्न र यसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन राखेको प्रस्तावलाई संसदको कार्यसूचीमा राखेर प्राथमिकतामा राखेको छ।
स्मरण रहोस् सन् १९५३ को मे २९मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक विश्वको सर्बोच्च शिखरमाथि पाइला टेकेका थिए।
सगरमाथा आरोहणको यस सफलताको कथा संसारभर विख्यात भए पनि न्यूजिल्यान्डले यसलाई सरकारी रुपमा मनाएको भने थिएन। लेबर पार्टीका प्रतिनिधिसभा सदस्य रहेका डंकन कानुन विषयमा विद्यावारिधि गर्ने कानुनविदका रूपमा पनि चिनिन्छन्।
नेपाल र न्यूजिल्यान्डको आपसी सम्वन्ध पनि समुधुर छ, दुई देश बिचको सम्वन्धलाई सगरमाथाको आरोहणले थप प्रगाढ पनि पारेको छ। यस पटक यहाँको संसदले समेत सगरमाथा दिवसलाई आफ्नो कार्यसूचीमा राखेर यसको गरिमा बढाइदिएको छ, न्यूजिल्यान्डका लागि नेपाली राजदूत लक्की शेर्पाले बताइन्।
संसारभर नेपालीहरूले मे २९ पारेर विश्व सगरमाथा दिवस मनाउने क्रम बढ्दो छ। यसपटक अस्ट्रेलियाको क्यानबेरामा र न्युजिल्यान्डको क्राइष्टचर्चमा एभरेष्ट डे धुमधामका साथ मनाइएको थियो।