नारी निकुन्ज अस्ट्रेलिया एनएसडब्लु राज्य समितिको आयोजनामा आगामी अगष्ट एघार तारिक क्याम्सीको ओरियन फङ्सन सेन्टरमा ‘ल्यान्ड एण्ड लिज तीज महोत्सव’ हुने भएको छ।
हरितालिका तीज आउन केही साता बाँकी भए पनि अस्ट्रेलियामा तीजको चहलपहलले छपक्कै छोपिसकेको छ। एक महिना भित्र मात्र आधा दर्जनभन्दा बढी तीजका कार्यक्रम सिड्नी वरपर आयोजना हुँदैछन्।
प्रवासमा दसैं तिहारपछि सबैभन्दा ठूलो चाडका रुपमा तीजलाई लिन थालिएको छ ।
एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्जको आयोजनामा हरेक वर्ष धुमधामका साथ तिज कार्यक्रम आयोजना हुँदै आएको छ।
यसपटक नेपालबाट चर्चित लोक दोहोरी गायीका माण्डबी त्रिपाठी नारी निकुन्ज तीजमा आउने पक्का भएको एनएसडब्लु संयोजक सन्ध्या शाहले बताइन्।
‘प्रवासको ब्यस्त जीवनलाई थाँती राखेर एकै दिन भए पनि नेपाली लोकलयमा धोको फुकाएर नाचगान गर्ने अनि आम्दानी भएको केही रकम परोपकारी कार्यमा खर्च गर्नु हाम्रो उद्धेस्य हो’, संयोजक सन्ध्याले सेतोपाटीसँग भनिन्।
नेपाली कला संस्कृतीलाई जोगाउने उद्धेस्य अनुरूप महिलाको महान चाडलाई प्रवासमा पनि निरन्तरता दिने आफूहरूको प्रयास जारी रहेको सन्ध्याले सुनाईन्।
परोपकारी कार्यमा समेत सहयोग पुर्याउने उद्धेश्यमा आयोजना हुने कार्यक्रममा सहभागि हुन सबै सिड्नीबासी दिदी बहिनीलाई सन्ध्याले अनुरोध गरेकी छिन्।
‘यस्ता खाले संस्कृती जोगाउने कार्यक्रममा प्रायोजक भएर सहयोग गर्न पाउनु हाम्रो लागि निकै खुसीको बिषय हो,’ कार्यक्रमका प्रायोजक ल्यान्ड एन्ड लिजका निर्देशक अशोक थपलीयाले बताए।